सुलसुलेप्रथम नुवाकोट राष्ट्रिय कविता महोत्सव
नुवाकोट, २०७३, बैशाख ३ । नुवाकोट साहित्य प्रतिष्ठान नुवाकोटको आयोजना ’प्रथम नुवाकोट कविता महोत्सव’, विदुर– ३, बट्टार स्थित श्री भिमसेन मा.वि.बाट पञ्चे बाजा सहितको प्रभात फेरी करिव एक किलोमिटर माथिको तेकान्दो कवड हलको प्रेक्षालयमा पुगेपछि गोष्ठीमा परिणत भएको थियो । नुवाकोटका अध्यक्ष श्रीराम श्रेष्ठको सभाध्यक्षता र पूर्वमन्त्री एवम् सांसद प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा ’प्रथम नुवाकोट कविता महोत्सव’ सम्पन्न भयो ।
कार्यक्रमका विशेष अतिथिहरूमा ’नुवाकोट साहित्य प्रतिष्ठान’का संरक्षक पुस्कार लोहनी काठमाडौँ, सल्लाहकार गोर्खे साइँलो (ऋषिप्रसाद लामिछाने) चितवन, प्राज्ञ गोविन्दशरण उपाध्याय बुटवल, कपिलवस्तु, प्रा.डा. गार्गी शर्मा, प्रा.डा. खगेन्द्र प्रसाद लुइँटेल, भवानी न्यौपाने ‘भावना’ तुलसीपुर दाङ, राधेश्याम लेकाली, ईश्वर ज्ञवाली, हिरामणि दुखी, लगायतका महानुभावहरू थिए ।
यसैगरी अन्य अतिथिहरूमा बलराम दाहाल, वैरागी जेठो, मणिराज सिंह, शैलेन्दु साकार, सन्तोष सिम्खडा, प्रमोद स्नेही, भागीरथ काफ्ले, कमला रिसाल ‘ज्योति’, राधिका पन्त, नरेन्द्रबहादुर श्रेष्ठ, पर्शुराम परासर, नारायण निरासी, रत्ननिधि रेग्मी ‘शुक्राचार्य’, पम्फा भट्टराई, देविका खुलीमुली, निर्मल आर्चाय, चण्डीराज नेपाल, सच्चुतराज उप्रेती ‘भुल्भुले’, बलराम दाहाल, हेमप्रयास, एकु थापा, ईश्वर बुढाथोकी, बाबा बस्नेत, विजयध्वज थापा लगायत ५ सय जना भन्दा बढी स्रष्टाहरूको उपस्थिति रहेको थियो ।
प्रतियोगिताका लागि प्राप्त १३१ वटा कविताहरूबाट छनौटमा परेका २० जनाका कविताहरू मध्य लाइभ कविता वाचन गर्ने कविहरूमा १६ जना मात्र उपस्थित भएर कविता वाचन गरेका थिए । उक्त कविता प्रतियोगिताका निर्णायकहरूमा प्रा.डा. खगेन्द्र प्रसाद लुइँटेल, प्रा.डा. गार्गी शर्मा र राधेश्याम लेकाली सहितको ३ सदस्यीय निर्णायक मण्डल बनेको थियो ।
निर्णायक समितिको निर्णय अनुसार बिर्खे अञ्जान, मिलन समिर र शिवप्रसाद नेपाल ३ जानालाई सान्त्वना, सुदेश सत्याल तनहूँ– तृतीय, इन्द्रकुमार श्रेष्ठ ओलढुङ्गा– द्वितीय र कमला रिसाल ‘ज्योति’ सिन्धुपाल्चोकलाई प्रथम घोषणा गरेका थिए । विजेताहरूलाई क्रमशः सान्त्वना जनही रू. ३१५०।– र प्रमाण पत्र, तृतीयलाई रू. १०,०१०।– र प्रमाणपत्र, द्वितीयलाई रू. १५,०१५।– र प्रमाणपत्र, प्रथम हुनेलाई रू. २०,०२०।– र प्रमाणपत्र प्रदान गरिएको थियो ।
नुवाकोट साहित्य प्रतिष्ठानका सचिव विष्णुप्रसाद सापकोटको उद्घोषण र उपाध्यक्ष रामकृष्ण गजुरेलको स्वागत मन्तव्यपछि कायक्रमका प्रमुख अतिथि सांसद प्रकाश शरण महतले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेपछि दिनभरी नै अति सभ्य र भव्यरूपमा चलेको उक्त कार्यक्रम सभाध्यक्ष श्रीराम श्रेष्ठले धन्यवाद सहित विसर्जन गरेका थिए ।
कार्यक्रमको समापनपछि केहीबेर बजार परिक्रमा गरी बट्टारको बजारभन्दा करिव एक किलोमिटर माथि रहेको सल्लेरी (सल्लाघारी) मा कटेज टाइपका टेन्टहरू टाँगेर रात्री भोजका साथै सन्ध्या यामिनी (रात्री कविगोष्ठी) गरेर रात्री करिव २ बजेतिर त्यही स्थानमा विश्राम गरिएको थियो ।
स्मरण रहोस् काठमाडौबाट जाने र आउने सावारी साधनको व्यवस्था तथा चिया खाजा र खानाको सबै व्यवस्था नुवाकोट साहित्य प्रतिष्ठानले मिलाएको थियो ।
–गोर्खे साइलो
Subscribe
Login
0 Comments
Oldest











































