बद्रीप्रसाद दाहाल ‘भस्मासुर’देवता बन्न सक्छ !
अर्बौ खर्बौ, धन मनुजले, आर्जिए रात रात
जग्गा जोडे, महल ठडिए, नोट छन् राश–राश ।
किन्तू मान्छे, धरमर हुँदै, बन्छ धेरै अशान्त
के पाएमा, मनुज सुखले, धीर होला सुशान्त ।।१।।
तातो चीसो, अनुकुल हुने, कार चिल्ला चढे नि ?
अग्ला सग्ला, भवन घरका, भित्र मान्छे रहे नि ?
खै देखिन्नन् ? सुख सयलमा, शान्त–सन्तुष्ट मान्छे
भोगी नौला, सुख र सुविधा, रम्न सक्दैन मान्छे ।।२।।
मान्छे हाँस्छन्, रसमय कथा, कृष्णलीला चुमेर
मान्छे नाच्छन्, मधुर–मुरली, गीतमा झुम्मिएर ।
हाम्रा आध्यात्मिक पथ सधैं, शान्ति आनन्द दिन्छन्
यिन्कै कीर्ति अमर कविता, गाउँदा शान्ति मिल्छन् ।।३।।
रित्तै आयौ, धरतितलमा, जानु रित्तै छ मान्छे
जे छन् जग्गा, धन महल ता, साथ जाँदैन मान्छे ।
बुझ्दा बुझ्दै, पनि किन यहाँ, स्वार्थले गिर्छ मान्छे ?
साँच्चै ब्यूँझे, अवनितलमा, देवता बन्छ मान्छे ।।४।।
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































