साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खित्कै खित्का– ९

Nepal Telecom ad

ह्याप्पी वर्थ डे भूकम्प !
यो एक वर्ष तिमीले सिर्फ खाएर बितायौ । जन्मनासाथ ठूलठूला बिल्डिङ खायौ, गरिबका थोत्रा घर पनि खायौ । हजारौँ मान्छे खायौ । कतिको चाहिँ हातखुट्टा मात्र खायौ । त्यसपछि तिमीलाई त्रिपाल र कम्बल खुवाइयो । चाउचाउ र बिस्कुट त कति हो कति खुवाइयो । दाल, चामल, चिनी खुवाइयो । विदेशबाट जेटमा ल्याएर खुवाइयो, बजेट खुवाइयो । योजना र कार्यक्रम खुवाइयो । तिमी साह्रै खन्चुवा रै’छौ । जिन्सी–नगद केही बाँकी राखेनौ । त्यतिले नपुगेर तिमीलाई खुवाउन पुनर्निर्माण प्राधिकरण बनाइयो । यसले पनि खुवाउँदैछ । तिम्रो भुँडी ठूलो, मुख सानो रै’छ । त्यसैले खुवाउँदा तिम्रो मुखमा थोरै, खुवाउनेको हातमा धेरै टाँसिने गरेको छ । मह काढ्नेले हात चाट्छ भन्ने बुझेकै छौ ।

तिमीलाई पछ्याउँदै परकम्प आए । जति परकम्प आउँछ, त्यति खुसी हुनेहरू पनि भए । परकम्प होइन तिम्रो दाजु भूकम्प नै आओस् भनेर पनि कामना गरे होलान् कतिले । जसले तिम्लाई खुवाउने र हात चाट्ने काम गर्दैछन्, तिनलाई तिम्रो दाजु चाहिएको छ । जति खुवाउने बहाना मिल्छ, त्यति हात चाट्ने मौका मिल्छ । त्यसैले काढ्नेभन्दा चाट्ने काम धेरै भइरहेछ ।
प्रिय भूकम्प !
दशकौँसम्म पनि तिम्ले खाने र हाम्ले चाट्ने काम भइरहनु पर्छ । तिमी सधैँ मुख आँ… गरेर बस, हामी मुखमा हालिरहन्छौँ अनि हात चाटिरहन्छौँ ।

पाठ
भूकम्पले हामीलाई धेरै पाठ पढाएको छ, तीमध्येका केही पाठ ः
–राहत बाँड्न एनजीओ चाहिन्छ । एनजीओलाई आईएनजीओले सहयोग दिन्छ । त्यसरी आएको सहयोगमा मजासँग तलबभत्ता खाएर मोज गर्दै राहत वितरण गर्न सकिन्छ भन्ने तत्वज्ञान पाएका छौँ । यसलाई पाठ मात्र भनेर पुग्दैन, महापाठ भन्न सकिन्छ ।

–महिनासम्म सुपर हिट थेगो थियो ‘भूकम्पबाट पाठ सिकियो’ भन्ने । यदाकदा अहिले पनि यो थेगो सुनिन्छ । खासमा भूकम्पबाट के पाठ सिकियो त ? पाठसाठ त्यस्तै हो, नयाँ थेगोचाहिँ सिकियो ः

०उद्दार तत्काल गरे पनि राहत चाहिँ ढिलो दिनुपर्छ । चाँडै राहत र पुनर्निर्माण गरेमा भूकम्प रिसाउँछ र पुन ठूलो भूकम्प आउँछ भन्ने पाठ पढियो । राहत र पुनर्निर्माणमा ढिलाइ गरेको हुनाले नै ठूलो भूकम्प नआएर परकम्प मात्र आएको हो । पाठकै कमाल हो यो ।
०धेरै ‘आयो आयो’ भनेर चिच्याइन्छ, त्यति चाँडो भूकम्प भाग्छ । हाम्ले त्यसरी नचिच्याएको भए बारम्बार आएको भूकम्प सजिलै जाने थिएन, हामी चिच्याउँछौँ अनि भूकम्प भाग्छ । यो ठूलो पाठ हो ।

०जानासाथ यति रेक्टरको हो भनेर हामी सहजै भन्न सक्छौँ । प्रविधिले नापेर केही मिनेटपछि भन्ने हो, हामीचाहिँ ‘आयो आयो’ भनेर भाग्दै गर्दा यति रेक्टरको भनिदिन सक्छौँ । यो चानचुने पाठ हो त ?

०निमुखालाई भूकम्प दशा हो, जान्नेलाई चाहिँ नयाँ दिशा हो, मौका हो, चौका हो । भूकम्पका लाभ अनेक छन् । जसले लाभ लिएका छन्, तिनले गजब पाठ पढेका छन् ।

ओली तथ्य
प्रधानमन्त्री केपी शर्मा ओलीको बोली तित्राको जस्तो तिरिरी छ तर समयचाहिँ कछुवाको जस्तो लस्याङ्ग्रे छ । त्यसैले उनी कहीँ पनि निर्धारित समयमा पुग्दैनन् । विदेश जाँदा पनि समयमा पुग्दैनन्, स्वदेशको त कुरै भएन । पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि अढाइ घन्टा ढिलो पुगेछन् । अर्थात्, हजारौँ विद्यार्थी र अभिभावकले अढाइ घन्टा समय ओलीका नाममा अर्पण गरे ।

कुनै एउटा कार्यक्रममा ओली समयमै पुगेका थिए रे ! त्यहाँ उपस्थित सबैले आ–आफ्नो घडी हेरेछन् । एउटाले अर्काेलाई समय सोध्ने, अर्काेले अर्काेलाई सोध्ने ! विचित्र अवस्था भएछ । यो कुरा थाहा पाएर ओलीले भाषणमा भनेछन्– ‘एउटा उखान सोच्दै थिएँ, त्यसैले आउन ढिलो भयो ।’ श्रोताले सोधेछन्– ‘त्यो उखान भन्नुस् न !’ ओलीले यसो भने अरे– ‘आउन ढिलो भएकाले बाटैमा बिर्सिएँ !’ त्यसपछि दर्शकले के गरे थाहा छ ? हाँसे !

ओलीले हँसाउँछन्, यो तथ्य हो । उनका बारे अन्य तथ्य पनि छन् ः

– ओलीले बेढंगको कुरा बोल्दा कोही हाँसेन भने ऊ नेपाली भाषा नै नबुझ्ने मानिस हुन सक्छ ।
– कुनै कार्यक्रममा ओली समयमै पुगे भने घडी बिग्रेछ भनी जाने हुन्छ ।
– ओलीको बोली चल्छ, हात चल्दैन । हात किन चल्दैन ? किनभने, हातले कहिले पनि बोल्न पर्दैन । त्यसैले बोल्नुपर्ने अङ्ग मात्र चल्छ उनको ।
– ओलीको बोलीले पाँच रेक्टरसम्मको कम्पन ल्याउने एक अध्ययनले देखाएको छ । कम्पनका कारण उनी हिँड्न सक्दैनन्, त्यसैले कहीँ पनि समयमै पुग्दैनन् !

भागबन्डा
पहिले प्रजातन्त्र भन्थे, अचेल लोकतन्त्र भन्छन् । बोक्रा उस्तै हुन्छ तैपनि किन प्रजातन्त्र र लोकतन्त्र दुईथरी नाम ? यी दुईमा के फरक छ ? गुदी फरक छ । लोकतन्त्रमा भागबन्डा हुन्छ । प्रजातन्त्रमा केही नेता मिलेर खुसुक्क खान्थे, त्यसैले त्यसबेला ‘भागशान्ति जय नेपाल’ भन्थे । लोकतन्त्रमा खुसुक्क केही पनि हुन्न, भागशान्ति पनि हुन्न, ठाडै भागबन्डा हुन्छ । त्यसैले लोकतन्त्रलाई भागबन्डातन्त्र पनि भन्न सकिन्छ । भागबन्डातन्त्रमा जुनसुकै लाभको भागबन्डा गरिन्छ । भागबन्डा पनि लरतरो हो र ? समानुपातिक गरिन्छ । फलाना पार्टीलाई यति भाग, ढिस्काना पार्टीलाई यति भाग । पार्टीले भाग पाएपछि पार्टीभित्र पुन भागबन्डा हुन्छ । फलाना नेतालाई यति भाग, चिलाना नेतालाई उति भाग गरिन्छ । ठूला ठेक्कापट्टा होस् या राजदूत पद, झ्याप्पै पारेर बाँडिन्छ । भूकम्पपीडितको राहत होस् या विदेश भ्रमणको अवसर, जे पनि भागबन्डा गरिन्छ । किनभने, लोकतन्त्र जोगाउनु परेको छ । बाँड्ने काम यति व्यवस्थित हुन्छ कि भागबन्डा मिलाउन वर्षाैं लाग्न पनि सक्छ । जस्तो कि, राजदूत पद । भागबन्डा मिलाउनै चार वर्ष लाग्यो ।

कतिपयले अंशबन्डाकै अर्काे रूप भागबन्डा हो भन्छन् तर त्यसो होइन । अंशबन्डा गर्दा बाआमाको भागमा जिउनी छाडिन्छ । अंशबन्डा गरेपछि परिवार छुट्टिभिन्न हुन्छ तर भागबन्डा गर्नेहरू झन् मिलेर बस्छन् । अंशबन्डा विभाजन हो, भागबन्डा एकता हो । बरू गमले टाँसेको कागज उप्किएला तर भागबन्डाले टाँसिएका पार्टीहरू सितिमिति छुट्दैनन् । एकता नै बल हो भन्छन् तर लोकतन्त्रमा भागबन्डा नै बल हो ।

यस्तो उपयोगी भागबन्डा चलिरहोस्, भागबन्डासँग चित्त नबुझ्नेहरूको मन जलिरहोस् !

नेपाल, वैशाख १६, २०७३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x