डा.रवीन्द्र समीरराशिफल
लक्षे बाहुन, नेवार माइला र पूर्वेली साहुको होटलमा भन्दा सान्नानीको तातो–चिसो चिया पसलमा बढी भीड हुने गर्दछ । त्यहाँ आउने ग्राहकमात्र होइन गफ पनि बिहान, दिउँसो र बेलुका पृथक–पृथक् हुन्छन् ।
त्यस बिहान चिया–गफको विषय थियो– राशिफल । मास्टरबाबुले सहरबाट ल्याएको पत्रिका समाएर सर्वप्रथम आफ्नो राशिफल पढे । त्यसपछि गा.वि.स. अध्यक्ष, हवल्दार, स्वास्थ्य–सहायक, रेञ्जर, परिवार नियोजन अधिकृतको राइँलो छोरा, महिला विकास कार्यालयकी ३६ वर्षिय सुश्री प्रजावती आदिको राशिफल पढ्दै गए । राशिफल पढिरहेका मास्टरबाबु वाक्यअनुसार हाउभाउ गर्दै दङ्ग परेका थिए भने स्रोताहरू आफ्नो राशिफलका राम्रा पक्षहरू सुनेर मख्ख परेका थिए ।
‘…मेरो पनि राशिफल सुनाउनुहोस् न मास्टरसाहेब ! अक्षर नचिने पनि कान त जिरेखुर्सानीभन्दा टाठा छन् नि हो !’ गाउँको अत्यन्तै गरिब तथा परिवारहीन धने बूढो स्वास्थ्य–सहायकले फ्याँकेको चुरोटको ठूटो तान्दै प्वाक्क परेर बस्यो ।
ल सुन् धने ! मास्टरबाबु गलबन्दीको फेरो मिलाउँदै धनेको राशिफल पढ्न थाले– चन्द्रमाको अनुकूलताले गर्दा यो महिना अति उत्तम छ । नोकरी तथा राजनीतिमा सोचेभन्दा बढी सफलता मिल्नेछ । बौद्धिक स्तर बढ्ने तथा लेखनमार्गमा तीव्रता आउनेछ । परिवारजनबाट राम्रो सहयोग मिल्नुको साथै नव–प्रेमिका मिलनको संयोग छ । व्यापारबाट मनग्गे फाइदा हुने योग छ । सञ्चित धन तथा गरगहना चोरिन सक्नेछ । महत्वपूर्ण भेटघाटको साथै विदेश–यात्राको अवसर मिल्नेछ ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































