
बास !
‘बास ! म बुढो कसरी भएँ ? म अझै तन्नेरी छु । यो मेरी कान्छी श्रीमती हो । बास ! मभन्दा चालीस वर्ष कान्छी । बास ! मैले उसलाई एक्लै छोड्न मिल्दैन ।

डा. रविन्द्र समीर :
‘डा. शर्मा तपाईं हो ?’ एकजना सत्तरीवर्षे बुढाले सोधे ।
बुढाको साथमा एउटी तीसवर्षे युवती थिई । युवतीतिर पुलुक्क हेरेर डा. शर्माले भने— ‘हो ! मै हुँ ।’
कपालमा कालो मेहेन्दी लगाएका, सफाचट अनुहार, आधुनिक लवाइखबाइ अनि हातमा लट्ठी लिएर आएका बुढाले भने— ‘बास ! तपाईंले मलाई बिस्तारै चिन्नुहुन्छ । बास !’
युवतीतिर देखाएर बुढाले भने— ‘यसलाई ज्वरो आयो, बास ! त्यत्ति हो । खोकी प्रलय छ, बास ! त्यत्ति हो । पेटभित्र इँटाभट्टी छ, बास ! त्यत्ति हो ।’
उनको कुरा गर्ने शैली डा. शर्मालाई रमाइलो लाग्यो । जाँच गरेपछि डाक्टर शर्माले भने— ‘यो रगतको रिपोर्ट देखाउन भोलि हजुर मात्र आए हुन्छ । उहाँले आराम गर्नुपर्छ ।’
‘बास ! अब म सधैं यहीँ । बास ! स्थायी !’ उनी गए ।
भोलिपल्ट रिपोर्ट लिएर दुवैजना सँगै आए ।
डा. शर्माले भने— ‘उहाँलाई बेकार किन दुःख दिनुभएको ? तपाईं मात्र आएको भए उहाँलाई धपेडी त हुने थिएन ।’
बुढाले भने— ‘बास ! एकदमै राम्रो कुरा ।’
रगतको रिपोर्ट हेरेपछि डाक्टरले भने— ‘यो औषधि खुवाएर एक हप्तापछि उहाँलाई फलोअपको लागि पठाउनुहोला । तपाईं बुढो मान्छे किन दुःख पाउनुप¥यो ?’
डा. शर्माको बोली नसकिँदै उनले आफ्नी श्रीमतीसँग भने— ‘बास ! तँ बाहिर गएर औषधि किन्दै गर । म आउँछु ।’
त्यसपछि उनले डा. शर्मालाई भने— ‘बास ! म बुढो कसरी भएँ ? म अझै तन्नेरी छु । यो मेरी कान्छी श्रीमती हो । बास ! मभन्दा चालीस वर्ष कान्छी । बास ! मैले उसलाई एक्लै छोड्न मिल्दैन । बास ! न घरमा एक्लै छोड्न मिल्छ, न कतै जाँदा । ठिटाहरू देखेर उसले मन बिगारी भने… बास !’
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest