पाँच सय ! कति महँगो हो ?
गाई भए गोरस, डाक्टर भए भरोस् भनेझैँ रातभर ज्वरोले ताडित भएपछि बिहान गरिबनाथ डा. शर्माकहाँ चेक गराउन हानियो । कोभिडको जगजगी थियो । पिपिईभित्र उसिनिएका डा. शर्माले उसलाई जाँचेर रोग तथा औषधिबारे परामर्श दिए ।
डा. रवीन्द्र समीर :
गरिबनाथले आफ्नोे घडेरी नाप्न अमिनलाई बोलायो । १५ मिनेट जग्गा नापजाँच गरेपछि उसले अमिनलाई सोध्यो, “कति लिनुहुन्छ, पारिश्रमिक ?”
अमिनले भन्यो, “मिलाएर दिनू न !”
गरिबनाथले तीन हजार दियो ।
जीवन अनेक आरोहअवरोहको समष्टि हो ।
एक दिन गरिबनाथ चिना हेराउन ज्योतिषी केन्द्रमा पुग्यो । १० मिनेट ग्रहदशाका कुरा गरेपछि उसले सोध्यो, “कति टक्र्याऊँ हजुर ?”
ज्योतिषीले भन्यो, “स्वेच्छाले दिनुभए हुन्छ ।”
गरिबनाथले पाँच हजार थमायो ।
लकडाउन भर्खरभर्खर खुलेको थियो ।
गरिबनाथले नया“ सडकमा गएर माइक्रो ओभन खरिद गर्यो । भरियाले पाँच मिनेटमा माइक्रो ओभन उसको घरमा पुर्यायो ।
गरिबनाथले भरियालाई सोध्यो, “कति पैसा लिन्छौ ?”
भरियाले एकै सासमा जवाफ फर्कायो, “एउटा हात्ती दिनुस् ।”
गरिबनाथले एक हजार दियो ।
लकडाउन खुलेसँगै कोरोना भाइरस मान्छेका घरघर पुग्यो ।
दिउँसो गरिबनाथलाई हनहनी ज्वरो आयो । उसको स्मृतिमा आप्तवाणी आयो, “शत्रु र रोग उब्जनेबित्तिकै जुन मानिसले शान्त गर्ने उपाय खोज्दैन, त्यो मानिस जतिसुकै बलियो किन नहोस्, कालान्तरमा त्यही शत्रु वा रोग ऊभन्दा बलियो भइदिन्छ र उसलाई एक दिन तिनीहरुबाटै परास्त भएर मर्नुपर्छ ।”
गरिबनाथ धामीको घरमा गयो ।
धामीले पाँच मिनेट ढ्याङ्ग्रो ठोकेर फुकेको चामल दियो ।
गरिबनाथले सोध्यो, “कति दिऊँ, प्रभो ?”
धामीले भन्यो, “एउटा लोकल कुखुरो र भेटी चढाउनुस् ।”
धामीलाई दुई हजार दिएर ऊ घर फर्कियो ।
गाई भए गोरस, डाक्टर भए भरोस् भनेझैँ रातभर ज्वरोले ताडित भएपछि बिहान गरिबनाथ डा. शर्माकहाँ चेक गराउन हानियो ।
कोभिडको जगजगी थियो ।
पिपिईभित्र उसिनिएका डा. शर्माले उसलाई जाँचेर रोग तथा औषधिबारे परामर्श दिए ।
गरिबनाथले रिसेप्सनमा सोध्यो, “डा. शर्माको फी कति हो ?”
रिसेप्सनिस्टले भनी, “पाँच सय ।”
गरिबनाथ आश्चर्यचकित हुँदै भन्यो, “पाँच सय ! कति महंगो हो ? डिस्काउन्ट गर्नू न !”
०००
‘कोरोनातन्त्र’ (२०७८)