साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोप्य अर्थतन्त्र

Nepal Telecom ad

नेपाली कांग्रेस पार्टीका तमाम डाक्टर एवं अडाक्टर रामशरण महतहरू गोप्य अर्थतन्त्रका सफल पृष्ठपोषक हुन् ।
नेपाली कांग्रेस पार्टीमा समाजवादको धेरथोर बहस हुनलागेकोमा मलाई कुनै आश्चर्य लागेको छैन । यो त अनिवार्यत हुनु नै थियो । हो, यसमा केही विलम्ब अवश्यमेव भएको छ ।

अब यसको कारण जेसुकै भए तापनि नेपाली कांग्रेसका सकल कांग्रेसीजन सच्चा समाजवादी भएकोमा दुईमत हुनसक्दैन । किनभने सत्ताको रमाइलो उचाइबाट हठात् प्रतिपक्षमा झरेपछि यिनीहरू स्वतस् समाजवादी हुने प्रक्रियामा जाने गर्छन् । अहिले यही भएको हुनुपर्छ ।

अहिलेसम्मन अपेक्षाकृत सबभन्दा ज्यास्ती सत्तासुखको भोगचलन गर्ने पार्टी नेपाली कांग्रेस भएकोमा कुनै शंका छैन । कतिपयलाई अलिकति शंका हुनसक्छ । एकाध मन्त्री हुनबाट बञ्चित कांग्रेसीबाट यस्तो शंका–उपशंका नभएको स्थिति पनि होइन । एकजना कुन्नि किन हालसम्मन मन्त्री हुन नसकेका एक वरिष्ठ कांग्रेसीलाई उनको वेदनासहित मैले भेटेको पनि छु ।

मेरो आँखाबाट दुई थोपा आँसु नै झर्यो । कठै ! अब यो नेपाली कांग्रेस पार्टीका कांग्रेसी भाइबन्धुहरूका परस्परको नितान्त आन्तरिक मामला भएकोले मैले धेरै केही भन्नु छैन । यति चाहिँ भन्नैपर्ने हुन्छ– यी कांग्रेसीहरू सत्ताको परम अवस्थामा सत्तावान हुने बखतचाहिँ समाजवादको ‘स’ पनि नभनेर खुला अर्थतन्त्र–खुला अर्थतन्त्रको निरन्तर जपना गरिरहन्छन् ।

अहिलेसम्मको शाश्वत कांग्रेसी आचरण यही होइन र ? यसको सशक्त उदाहरणका लागि नेपाली कांग्रेस पार्टीबाट कैयनबाजी अर्थमन्त्रीको लोभलाग्दो कुर्सीमा आसिन भइसकेका तिलचामले दाह्रीवाल कांग्रेसी डाक्टर रामशरण महतलाई लिनोस् । डाक्टरसाब खुला अर्थतन्त्रका जबर्जस्त पक्षपाती हुन् । यसलाई विश्वले नै एक कदम अघि बढेर मान्यता प्रदान गरिसकेको छ ।

अतः उनी विश्वकै एक उत्कृष्ट अर्थमन्त्रीको रूपमा शानदार ढंगले पुरस्कृत भइसकेका छन् । कुन्नि, यो कुनचाहिँं विश्व हो ज्ञ वास्तवमा यो विश्वमा एकमात्र विश्व रहेको छ भन्नेमा मेरो विश्वास छैन । आआफ्नो विश्वासको कुरो हो ।

अँ त, डाक्टर रामशरण महतकै लहरमा नेपाली कांग्रेस पार्टीबाटै एक–दुईपटक मन्त्री भएर अर्थ मन्त्रालयको दामी प्रांगणमा पाइला टेकिसकेका ‘सायद डाक्टर नै’ महेश आचार्य पनि आउँछन् । अब डाक्टर महेश आचार्य साँच्चिकै डाक्टर हुन् या होइनन्, वस्तुतस् मेरो सीमित किसिमको जानकारीमा छैन । डाक्टर महतकै लयमा बगेर डाक्टर महेश लेखेको हुँ ।

कदाचित् उनी डाक्टरहीन भएमा आफ्नो अज्ञानताका लागि क्षमाप्रार्थी हुँदै म के भन्न चाहन्छु भने नेपाली कांग्रेसका महेश आचार्य पनि कम्ता खुला अर्थतन्त्रका समर्थक होइनन् । हाल प्रतिपक्षी नेपाली कांग्रेस पार्टी खाँट्टी समाजवादमा रहे तापनि उनी पार्टीगत प्रकृतिको विपरीत गएर खुला अर्थतन्त्रको खुलेर वकालत गर्न एक इन्ची पनि पछि परिरहेका छैनन् ।

तथापि डाक्टर रामशरण महत त डाक्टर रामशरण महत नै हुन् । परम सनातनी खुला अर्थतन्त्रवादी । यस्तो अरु को हुनसक्छ ?

जे होस्, यिनीहरू दुवैका केही दिनदेखि ‘समाजवादको मियादि ज्वरोले ग्रस्त’ कांग्रेसी बैठकहरूमा खुलेआम आलोचना प्रारम्भ भएको छ । खासमा आधा दर्जनचोटी अर्थमन्त्री हुने शौभाग्य पाएका डाक्टर रामशरण महतको ।

नेपाली कांग्रेस पार्टी सत्तासीन हुँदा प्राय चुपचाप अलौकिक आनन्दमा लीन रहने कांग्रेसी सगोत्री दाजुभाइ तथा दिदीबहिनीहरू यसरी मुखर भएकोमा डाक्टर रामशरण महत आश्चर्यचकित भएका छन् । सबैका तुणिरबाट निस्किएको निर्मम वाणको लक्ष्यविन्दु आफू भएकोमा डाक्टरसाब थोरै आहत पनि देखिन्छन् ।

उनी सँगसँगै एक किसिमले म पनि आहत नै छु । तर मेरो आहतीकरणको कारण विलकुलै पृथक प्रकारको रहेको छ । म किन आहत भएको छु भने सिंहदरबारभित्र र बाहिरको प्रतिपक्षी कांग्रेसी वृत्तमा डाक्टर रामशरण महतको धारावाहिक आलोचना अकार्य भइरहेको छ ।

मलाई के लाग्छ भने वास्तवमा डाक्टरसाब कुनै पनि खुला–सुला अर्थतन्त्रका असली हिमायती हुँदै होइनन् । यसमा डाक्टर महतको पनि मसँग भित्री हृदयले असहमति हुने कुनै कारण छैन । किनभने यो कथित खुला अर्थतन्त्रका निम्ति के र कति गोप्य काम–कारबाहीको अति गोप्यतापूर्वक निर्वाह गर्नुपर्छ, यो सत्यतथ्यबाट डाक्टरसाब अनजान छैनन् ।

अतएव नेपाली कांग्रेस पार्टीका तमाम डाक्टर एवं अडाक्टर रामशरण महतहरू खुला अर्थतन्त्रको नभएर गोप्य अर्थतन्त्रका सफल पृष्ठपोषक हुन् भन्ने व्यक्तिगत निष्कर्षमा म पुगेको छु । यसको साक्षात साक्षीका रूपमा नवधनाढ्य धन्नासेठ, नीला, पहेंँला, हरिया, राता, कालाबजारी र राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका तस्करहरू रहेका छन् ।

कान्तिपुर, जेष्ठ २२, २०७३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
0
Would love your thoughts, please comment.x
()
x