अमर अधिकारीखित्कै खित्का– १८
तीन नेता, तीन नीति
१.प्रचण्ड नीति
सरकार गिर्ला गिर्लाजस्तो छ । झर्ला झर्लाजस्तो छ । र्गियो भने समाउने होइन, त्यही मौकामा भकुर्ने हो । ताकि, उठ्नै नसकोस्, ढलेको ढल्यै होस् । गिरेन भने गिर्न दिन्न भन्दै कराउने हो तर सकेसम्म ठेल्ने हो । ठेलेरै गिराउने हो । यो सरकार जसरी पनि फाल्ने हो, आफू नेतृत्वको सरकार ल्याउने हो ।
२.ओली नीति
च्याप्प समाउने हो, छाड्दै नछाड्ने हो । जति हल्लाउँछन्, हल्लिने तर गिर्नचाहिँ कसै गरे नगिर्ने हो । जसले पछार्न खोज्छ, उसकै गर्दन समातेर उभिने हो । गर्दन समातेको बेला ‘मलाई नगिराउनूस्, एकछिनपछि तपाईंलाई नै पालो दिन्छु’ भनेर याचना गर्ने हो । त्यसपछि ‘म बलियोलाई कसले चलाउन सक्छ’ भन्ने हो । ‘मसँग खेल्ने कोही छ ?’ भन्दै फुर्ती लाउने हो । कोही पाखुरा सुर्कंदै सरकार गिराउन आयो भने ‘उहाँबाहेक कोही छ ?’ भन्दै चिच्याउने हो । चिच्याउने, कराउने र हल्लाचाहिँ गरिरहने हो । त्रासैत्रासमा रात पनि बिताउने हो, दिन पनि बिताउने हो तर सरकारमा चाहिँ बसिरहने हो ।
३.देउवा नीति
प्रचण्डले हात उठाउँदा ओलीको गर्दनतिर लगेको हो कि भनेर आश गर्ने हो । प्रचण्डले ओलीको गर्दनमा होइन, आफ्नै टाउकोमा हात लग्छन्, कपाल कन्याउँछन्, त्यसपछि निराश बन्ने हो । जोरीपारीले बेलाबखत पापा देखाउँछन्, खानचाहिँ दिँदैनन्, कहिले दिन्छन् भनेर ढुकेर बस्ने हो । कहिले ओलीतिर हेरेर मुख मिठ्याउने हो । कहिले प्रचण्डतिर हेरेर घुटुघुटु थुक निल्ने हो । आशैआशमा कुर्सीमा निदाउने हो । अलि ठूलो स्वरमा प्रचण्डले ओलीलाई हपारेको सुनेर ब्यूँझिने हो । प्रचण्डको बोली मत्थर भएपछि फेरि निदाउने हो । यसरी नै दिन बिताउने हो ।
पार्टी सेवक
पहिलेपहिले कर्मचारीलाई राष्ट्रसेवक भन्थे, अचेल पनि यदाकदा भनिन्छ । पहिलेका राष्ट्रसेवकलाई अचेल किन पार्टी सेवक भनेका होलान् ? यो प्रश्नको त कुनै जवाफ छैन । बरू, पुराना प्रश्नका ठाउँ नयाँ प्रश्नले लिएको छ । जस्तो स्
पुराना प्रश्न
– तपाईं कुन कार्यालयको कर्मचारी ?
– कुन विभागको कर्मचारी ?
– के काम गरेर पदोन्नति पाउनुभो ?
– के आधारमा कुनकुन ठाउँ सरुवा हुनुभो ?
नयाँ प्रश्न
– तपाईं कुन पार्टीको कर्मचारी ?
– पार्टीभित्रको कुन गुटको कर्मचारी ?
– पार्टीलाई के योगदान गरेर
– पदोन्नति पाउनुभो ?
– पार्टीले के आधारमा तपाईंलाई आकर्षक ठाउँमा सरुवा मिलाइदियो ?
भद्र सहमति–धोका
सहमति भयो । के भयो भन्दाखेरी भद्र सहमति भयो । दिने र लिने सहमति भयो । सहमतिले के र्गयो भने केही दिन चुप लगायो । त्यसपछि त्यही सहमतिले बोल्न लगायो, कुरा खोल्न लगायो । सहमति अनुसार एउटाले धोका दियो, अर्काेले धोका लियो । दिनेलाई चित्त बुझ्यो तर लिनेलाई बुझेन । धोका लेनदेनमा दुवै पक्षलाई कहाँ चित्त बुझ्छ ? एउटाको चित्त बुझ्छ, अर्काेको दुख्छ ।
सरकारको नेतृत्व गर्न दिएन रे ? भद्र सहमति गरेर कसैले त्यति मूल्यवान् चीज दिन्छ ? ज्यान गए दिँदैन । भद्र सहमति गरेर सिंहदरबारको कुर्सी त के कुनै गाविसको अध्यक्ष पनि पाइन्न । जसले भद्र सहमति पत्याउँछ, उसले सत्ताको पोका होइन, धोका मात्र पाउँछ । यो धोका भन्ने पनि गजब रै’छ, आज जसले धोका पाउँछ, उसले अर्काेलाई हस्तान्तरण गरिहाल्छ । आज जसले अरूलाई धोका दिन्छ, उसलाई भोलि कठालामा समातेर अर्काेले धोका जिम्मा लगाउँछ । भद्र तरिकाले धोका लेनदेन गर्ने कामलाई ‘राजनीति’ भनिन्थ्यो, अचेलचाहिँ ‘भद्र सहमति’ भनिँदो रहेछ ।
गफै त हो साहिँला !
धनी हुन मन लागेको छ ? छ भने यसका लागि महान् पुस्तक ‘वार्षिक बजेट’ पढौँ । रोग लाग्यो ? उपचार खर्च भएन ? यसका लागि पनि बजेट पढौँ । देश विकास भएर चरमचुलीमा पुगेको सपना देख्न मन लागेको हो भने पनि बजेट नै पढौँ । चमत्कारी छ यसपालाको बजेट ।
बजारमा थरीथरीका प्रेरणादायी पुस्तक पाइन्छन् । अर्थमन्त्री विष्णु पौडेलद्वारा लिखित तथा घुटुघुटु पानी खाँदै वाचित बजेट घर ल्याएर पढौँ । लोडसेडिङ भए टुकी बालेर पढौँ, टुकी बाल्न मट्टीतेल छैन भने मैनबत्ती बालेर पढौँ । किनभने, यो पढिन्जेल अर्कै दुनियाँमा पुगिन्छ । हुन त बजेट भनेकै प्रेर णादायी पुस्तक हो । अर्थमन्त्रीद्वारा लिखित यस्तो बजेट पुस्तक बर्से्नि प्रकाशित हुन्छ । यो पुस्तक अर्थमन्त्रीले वाचन गर्छन्, सञ्चार माध्यमबाट दुनियाँले सुन्छन्रहेर्छन् रपढ् छन् । सुन्न, हेर्न वा पढ्न पाउनुभएन या सबै कुरा याद भएन भने बजेट पढ्नूस्, मजासँग पढ्नूस् । पढ्दैमा तपाईंको केही बिग्रँदैन अनि बजेटमा गफ दिँदैमा अर्थमन्त्रीको पनि केही क्षति हुँदैन । गफै त हो, जति दिए पनि हुन्छ ।
अर्थमन्त्रीहरूले बजेटमा जहिल्यै गफ दिन्छन् । जति धेरै गफ लायो, त्यति धेरै सफल अर्थमन्त्री ! फेरि, गफ पूरा हुनुपर्छ भनेर कतै लेख्या पनि त छैन । गफले जनतालाई राहत हुन्छ भने कुनै हानि पनि छैन । आखिर, गफै त हो साहिँला !
नेपाल, जेष्ठ २७, २०७३
Subscribe
Login
0 Comments
Oldest





































