साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि उपाध्यायद्वारा एकल कविता वाचन

Nepal Telecom ad

काठमाडौं, १० असार ०७३ । प्रगतिवादी साहित्यकार प्राध्यापक जगत् उपाध्याय ‘प्रेक्षित’ ले शुक्रबार एकल कविता वाचन गरेका छन् । राष्ट्रिय जनसांस्कृतिक महासङ्घको आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा आयोजित कार्यक्रममा उनका एक दर्जन कविता वाचन हुनुका साथै तिनमाथि समीक्षा पनि गरिएको थियो ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, एमालेका उपमहासचिव घनश्याम भुसाल, जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई, प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.विष्णुविभु घिमिरे, प्राज्ञ डा.अमर गिरी, प्राज्ञ नर्मदेश्वरी सत्याल, प्रा.केशव सुवेदी, प्रा.डा.कृष्णप्रसाद घिमिरे, प्रा.प्रमेश्वर कापडी, डा.हरिप्रसाद पोखरेल, समालोचक हेमनाथ पौडेल, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका का.वा.महासचिव प्रेमनाथ अधिकारी, सचिव कृपाराम धमला, सहकोषाध्यक्ष जङ्ग पहाडी, प्राज्ञ दिनेशराज पन्त, प्रा.डा.जगमान गुरुङ, प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष प्रा.डा.यादवप्रकाश लामिछाने, पूर्वअध्यक्ष विजय सिलवाल, वरिष्ठ कवि अनिल पौडल र उमेश उपाध्याय, सांस्कृतिक संस्थानका अध्यक्ष उद्योग राई, प्राज्ञ उदय श्रेष्ठ, प्राज्ञ माधव प्रधान, पेसागत मासङ्घका उपाध्यक्ष प्रेमल खनाल, प्राज्ञ पवित्रा घर्ती, प्रा.डा.इन्दु आचार्य, डा.रामप्रसाद ज्ञवाली, राममणि ढुङ्गेल, डा.भोलानाथ पोखरेललगायतको उपस्थिति थियो ।

कवि उपाध्यायको व्यक्तित्वमाथि जनसाहित्यिक मञ्च, नेपाल काव्य विभाग संयोजक डा.विन्दु शर्माले चर्चा गरेकी थिइन् । २०२५ चैत्रमा दैलेखमा जन्मिएका उपाध्यायले २०४५ देखि साहित्य सिर्जना थालेका हुन् । उनका हालसम्म विभिन्न विधाका दुई दर्जन पुस्तक प्रकाशित भइसकेका भने एक दर्जन प्रकाशोन्मुख छन् । उनका कवितामा स्पष्ट रूपमा समकालीन समय चेत अभिव्यक्त हुने गरेको छ ।

समारोहमा कवि उपाध्यायले माधव घिमिरेको प्रकृति प्रेम, युद्धप्रसाद मिश्रको क्रान्तिकारिता र नेत्रलाल अभागीको समाज निर्माणका लागि सामाजिक रूपान्तरण आवश्यक छ भन्ने चेतनाका कारण आफूलाई साहित्य सिर्जनाको क्षेत्रमा लाग्न प्रेरणा प्राप्त भएको उल्लेख गर्दै २०४६ अघिका आफ्ना सिर्जना जोगाउन नसकेको र त्यसपछिका सिर्जनामध्येबाट छानेर प्रस्तुत गरेको बताए ।

वाचन सहयोगी कविहरूमा कविका आफ्नै दाजु डिल्लीप्रसाद पाण्डेयले मन्दाक्रान्ता छन्दको ‘हाम्रो यात्रा’, कवि रमेश शुभेच्छुले भुजङ्गप्रयात छन्दको ‘बिहानी नयाँ त्यो यहाँ बाँच्नु पर्छ’ र उपजाति छन्दको ‘मातृभूमिको अभिव्यञ्जना’, सुदेश सत्यालले उपजाति छन्दको ‘देशभक्त’, शार्दूलविक्रीडित छन्दको ‘छोड्देऊ मार्न र बाँच्न देऊ’ र अनुष्टुप छन्दको ‘उज्यालोतिर’, शर्मिला गिरीले पञ्चचामर छन्दको ‘मलाई देश चाहियो’ र कवि देवकुमारी लुइटेलले अनुष्टुप छन्दको ‘के दिऊँ शुभकामना’ र ‘आमा’ शीर्षकका कविता प्रस्तुत गरेका थिए । वाचित कवितामाथि प्रा.केशव सुवेदीले टिप्पणी गरेका थिए ।

प्रमुख अतिथि पूर्वप्रधानमन्त्री खनालले कवि उपाध्यायको एकल कविता वाचन कार्यक्रम निकै महत्वपूर्ण रहेको आफूले महसुस गरेको उल्लेख गर्दै उपाध्याय प्राज्ञ र एक बौद्धिक कार्यकर्ता मात्र हुनु होला भन्ने आफूले मूल्याङ्कन गरेकोमा कविता सुन्दा उहाँ एक प्रखर प्रगतिवादी कवि हुनु हुँदो रहेछ भन्ने थाहा भएको उल्लेख गरे ।

मञ्चका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव विनोद मञ्जनले गरेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष रमेश पोखरेलले गरेका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x