वासुदेव पाण्डेयविभेद
फर्की आउँछ दुब्लिएर नभमा त्यो नक्कली चन्द्रमा
तारा छर्न प्रकाश रातभर नै तल्लीन छन् व्योममा ।
दागी भै उपमान जून, कविका चर्चाहरू भिन्न छन्
बेदागी र सधैँ उपस्थित हुने ताराहरू खिन्न छन् ।।
हुन्छन् पुष्प समीपमा अति तिखा काँडाहरू रक्षक
के देख्थ्यो र मनुष्य ऊ त फुलका सौन्दर्यमै लट्ठ छ ।
देखी रूप, सुँघी सुगन्ध नजिकै राखूँ, सजाऊँ भनी
टिप्ने कोसिस गर्छ घोच्छ जिउमा काँडा तगारो बनी ।।
कस्तो गर्छ विभेद मानिस सधैँ मन्दिरमा धाउँछ
ढुङ्गासाथ विलाप गर्छ र झुकी यो माथ टेकाउँछ ।
भोकै छन् तर ख्याल छैन घरमा आमा र बाबा बरु
मान्छे अर्पण गर्छ मन्दिर गई पैसा र लड्डुहरू ।।
चारै धाम घुमेर फिर्छ घरमा खर्चेर धेरै धन
आमाबाबु सधैँ उपेक्षित हुँदो दुख्दैन साह्रो मन ।
छन् आफ्नै घरभित्र विष्णु अथवा लक्ष्मी कहाँ बुझ्दछ ?
गर्दै भाकल ठोस पत्थर भने मान्छे सधैँ पूज्दछ ।।
चाहे मानिसले जितोस् भुवन यो राखेर रोजाइमा
मान्छे खुम्चिन पुग्छ आखिर उही सङ्कीर्ण सोचाइमा ।
मर्छन् मानिस काल, युद्ध अथवा सन्तापले रोगले
गर्छन् है दुधस्नान पत्थर, मरून् बच्चाहरू भोकले ।।
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest







































