साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोफसलका मुखिया

Nepal Telecom ad

 
आफूले नजानेका कुरा अरूबाट सिक्न खोज्नु नौलो कुरा होइन । हरेक बाटो र पाटोका बारेमा मान्छेले जिज्ञासा राख्छ र गन्तव्यलाई ताक्छ ।  height={{read_more}} सक्ने नसक्ने हुने नहुने जान्न र आफूतर्फ तान्न रुचाउँछ । जिज्ञासु स्वभावले गर्दा मान्छेले आनन्दले बस्ने फुर्सदै पाउँदैन । जाल लिएर ठूला माछाको खोजीमा भौतारिरहन्छ । कहिले हातमा माछो पर्छ कहिले भ्यागुतो । नमरुन्जेल बेसरम क्रम चलिरहन्छ ।

गाउँमा धनधान्यले सर्वमान्य भएका मोफसलका मुखिया जीवनको उत्तरार्ध कालमा बुढाबुढी नै सहरको स्वाद र सिको सिक्न सुटुक्क सहर छिरेछन् । सधैँ गुन्यूँ चोलो र चुल्ठीमा भुतभुते खेलेको कुखुरीझैँ जुखुरी खिनाउरी पाखुरीवाली स्वास्नीलाई देखेर तुरुन्ता तुरुन्तै आधुनिक र सहरिया बनाइ छाड्ने उद्युम इच्छा जागेछ । हुँदा छँदाकी स्वास्नीलाई छोडेर आर्की आधुनिकलाई भित्र्याएर एउटा थाप्लामा दुईटा नाम्लो बोक्नु भन्दा छाँटकाँट, माझ मुझ गरेर थोत्रालाई नै नयाँ तुल्याउने हेतुले कपालका सेतुलाई कालो दलेर सेतो सखाप पार्ने पहिलो काम ठानेछन् ।

चौतारामा गाडी दौडिएको हेर्दे स्वास्नीको सिउँदो र आफ्नो सिउरमा हातैले कालो दल्न थालेछन् । एकले अर्काको रौँ खोजी खोजी अमिलो चुक र औँसीको रातझैँ कालाम्य तुल्याएछन् । कपाल सुकेर दरो ठाडो जिङ्ग्रिङ्ग दुवै जना तर्साउने भूत जस्ता डरलाग्दा देखिएछन् । सहरमा टाउको पखाल्न ढुङ्गेधारोको खोजीमा चार पाँच किलोमिटर वरपर कतै ओखती हुन्छ भने पनि ढुङ्गेधारो फेला पारेनन् । सबै आधुनिकतातिर ढल्किसकेछन् । सायद यो पनि एउटा विकास होला । श्रीमतीलाई परिमार्जन गर्न चाहे जस्तै अरूलाई पनि ढुङ्गेधारो पटक्कै रुचेन होला । सबै उखेलेर फालेछन् । सहरका खोलाको पानीले नुहायो भने अख्तियारले झैँ रोगले क¥यापच्याप पार्छ भन्दा रहेछन् । पछाडमा त खोलाको पानी खाने नुहाउने सबै सर्लक्क चल्थ्यो । यहाँ भने जलाश्यलाई छिछि दुरदुर । अछुतो भएछ । किन त्यसो गरेका होलान् ? बुढियाले सोधिन् । उनले भने जहाँ मन लाग्यो त्यहाँ, जता मन लाग्यो त्यता, जसले मन लाग्यो त्यसले, जति मन लाग्यो त्यति, जहिले सुकै जहाँ पनि विष्ट्याएर हो क्या । ए ! हामी त जङ्गलका विच्चमा गएर गर्छाै । त्यही भएर हाम्रो खोला नाला सफा हुन्छ । यहाँ त जङ्गल पनि छैन । खोला नाला पनि लाटा जस्ता नकराई बग्दा रहेछन् । मान्छेहरू पनि एउटै घरका एक अर्कामा नबोल्दा नै आफूलाई सभ्य ठान्दा रहेछन् । सहरका धेरै कुरा मलाई रुचेन है चित्रेका बाऊ । तिमी काँ जान्छौँ जाऊ मलाई एक चोटि ब्युटी पार्लर देखाउन लैजाऊ ।

ठाडो कपाल धोइपखाली गर्ने पानीका लागि एउटा पसलमा गएर मुखियाले सोधे पानी पाइन्छ । पसलेले जारको पानी (मिनेरल वाटर) देखाउँदै चारसय पचास पर्छ भन्यो । गाउँमा भए त चारसय पचासको दुधले शरीर नुहाए पनि पुग्थ्यो । यहाँ भने जाबो पानीलाई यति विधि पैसा । अब के गर्नु यत्तिकै जिङ्ग्रिङ्ग बसेर भएन हिँड बुढी यो जार बोकेर चौरमा गएर नुहाइ धुवाई गरौँला । चौर खाली कतै फेला परेन । रङ्गशालामा गएर नुहाइ धुवाई गरे । बाँकी रहेको पानी बुढीलाई कम्मरमा बोक्न लगाएर बजार घुमफिर गरे । तिर्खा लाग्दा त्यही जार ठाडो घाँटी लगाएर तिर्खा भगाए । ठाउँ ठाउँमा पोल्टाको ऐना निकालेर पालै पालो हेर्दा हेर्दै पच्चीस तीस वर्षको उर्लदो बैँसको अनुभूतिका साथमा अझै सहरिया र आधुनिक भएरै छाड्ने मनसुवा भएछ । मोफसलको सामन्ती संस्कारबाट आर्जेको रकम एकलाखको विटाबाट एक हजार निकाल्दै श्रीमतीलाई ब्यूटी पार्लरको ढोकैमा पु¥याएर भित्र छिर्न प्रेरित गरे । त्यतिन्जेलमा आफू पनि फुड पार्लर चियाएर आउने उद्घोषका साथ आआफ्नो बाटो लागे । 

दोहोरी साँझमा तरुनीहरूका माझमा बसेर चुस्की लिँदा लिँदै शरीरै हल्लिने भइसकेछ । अल्प चुप्पाका साथमा मस्ती पनि गरेछन् । उच्च टाकुराको स्पर्शले पैसाको विटालाई बिर्सिएछन् । टाकुराको अन्तमा अवस्थित कुवामा डुबुल्की मारेछन् र पसिना झारेछन् । एक किसिमले आफूलाई असाध्यै भाग्यमानी मुखिया नै ठानेछन् । यस मानव चोलाका उन्नत सुख भोग, मोजमस्ती र अनुपम अनुभुतिले ओतप्रोत भएको आत्म सन्तुष्टिले कता कता फ्याङ्ली स्वास्नीप्रति नफ्रत रसाउन थाल्यो ।

खुट्टा लड्खडाउँदै व्युटिपार्लरमा मस्त स्वास्नीलाई अविलम्ब बाहिर निस्कन चिच्याए । पैसा चुक्ता नगरेसम्म भित्रै नजरबन्दमा राखेका रहेछन् । के के ब्युटिपार्लर गर्ने ? भनेर सोध्दा मुखिनीले सबै गर्ने भनिछन् । त्यही भएर उनी रिनमा डुबिछन् । गाउँका सर्वसाधारणलाई झैँ सातै जाने गरी स्वास्नीलाई झपारे । यति विधि पैसा कसरी लाग्यो ? स्वास्नीले पानीको जारलाई भुइँमा राखेर खर्च विवरण प्रस्तुत गरिन् । आँखी भौँ मिलाएको पाँचसय, कपाल कर्ली गरेको पाँचसय, आइकलको माध्यमबाट परेला ठाडो बनाएको पाँचसय, रिङ्कल क्रिमबाट डोलबडी मसाज पाँचसय । बडिलोसन फ्रन्ट एण्ड ब्याक मसाज तीन हजार । नङ काटेको, नङ हालेको मैला फालेको पाँच सय । नेलरिमोभर, नेल इनामेलको पाँच सय । दुवै खोकिलाको अनावश्यक हेयर पत्ता साफ पारेको पाँचसय । खुट्टा फुटेको ठाउँमा दल्ने क््रयाक क्रिम एण्ड लेग मसाज पाँच सय । मुत्राङ्ग गन्धे पानी निरोधक भित्राङ्ग क्लिजिङ मिल्क टाइट र भर्जिन पुनः प्रत्यारोपणको पाँचहजार । माउथ वास एण्ड डेन्टल स्माइल ओभर गरेको तिन हजार । लिपिस्टिक, लिपलाइर गाजल पाँचसय । बिहान बेलुका दल्ने सन ब्लक क्रिम कोल्ड क्रिम, वाटरप्रुफ एण्ड नन्रिमोभ क्रिम एण्ड हट लभ एक्टिभ क्रिम पाउडरको समेत गर्दा पच्चीस हजार पाँचसय भएछ । त्यसमा एक रुपियाँ पनि घटाउन मिल्दैन । घाटा लाग्छ अरे । अनि तपाई हजुरको फुड पार्लरको खर्च कति भयो नि ? अनि मोफसलका माहाजन आफ्नो हिसाब दिनुपर्छ भनेर चुप्प लागे । रिसले फुल्दै सुक्दै फुल्दै सुक्दै स्वास्नीको बाँकी बक्यौता चुक्ता गरे । मनमनै सोचे गाउँमा पैसा जसरी आयो त्यसरी नै गयो । 

आफ्नो फुडपार्लर र स्वास्नीको ब्यूटीपार्लरले मोफसलका महाजन लगभग टाट पल्टिएको अनुपम अनुभवका साथ आराम, अमनचयन र थकाइ मेट्नका लागि सिङ्गल बेडरुम एटेज वाथरुम होटलमा छिरे । अचाक्ली खर्चले रनमा परेका मोफसलका महाजन स्वास्नीसँगैको सुताइमा पनि धेरैबेर छटपटाए । स्वास्नीको सुगन्धलाई आफ्नो दुर्गन्धले अँगालो मार्न मानेन । सहरको खर्चले चिमोटी राख्दा तेत्तीस नभई नभई छत्तिस भएर नै रात बिताउने र विहान चारैबजे स्वास्नीलाई उठाउने र रित्तो जारको भार बोकाएर गाउँफर्क अभियानमा लाग्ने । गाउँमा गएर आफूले पनि फुडपार्लर खोल्ने र स्वास्नीलाई ब्यूटीपार्लर खोलेर अझै परिष्कृत र धारिलो सामन्ती सिङले उधिनेर उद्युम आयआर्जन गर्ने बुलन्द इच्छाकाङ्क्षा रातको निन्द्रासँगै माहाजनमा आफै उर्लिएर आयो । 

शिवशक्ति मार्ग, पोखरा–११, फूलबारी, कास्की
मोबाइल : ९८०६६७७५९४

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x