साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उत्खननका उपलब्धि

Nepal Telecom ad

मुलुकमा केही समययता पुरातात्विक उत्खननका समाचार निकै चर्चामा छन् । कपिलवस्तु र रूपन्देहीका ऐतिहासिक स्थलहरूमा धमाधम यस्ता उत्खनन भइरहेका छन् । शाक्यवंशीय राजा शुद्धोधनको प्राचीन कपिलवस्तु गणराज्यको राजधानी तिलौराकोट दरबार क्षेत्रमा प्राचीन सुरक्षा किल्ला फेला परेको छ । त्यस्तै रूपन्देहीको केरवानीमा लिच्छविकालीन पुरातात्त्विक वस्तुहरू भेटिएका छन् । नाक भाँचिएका ढुङ्गाका मुर्कट्टाहरू, प्वाल परेका तामाका मुद्राहरू, मक्किएका माटाका भाँडाकुँडाहरू, सिङ फुक्लिएका बसाहा साँढेका मूर्तिहरू इत्यादि । पुरातात्त्विक उत्खननबाट प्राप्त यस्ता वस्तुको सङ्ग्रह गरेर सङ्ग्रहालय बनाउन सकिन्छ । पर्यटकहरू हेर्न आउँछन् । दरबारका जीर्ण अवशेषहरू, ढुङ्गाका मुर्कट्टाहरू, खोटा मुद्रा, पत्रु भाँडाकुँडा, साँढेका मूर्ति इत्यादि हेरेर रमाइलो अनुभव गर्छन् । उत्खननबाट प्राप्त यस उपलब्धिबाट हामी नेपाली जनता अत्यन्त खुसी छौँ । उत्खनन कर्ताप्रति आभारी छौँ ।
यता वर्तमान नेपाल गणराज्यमा चौहत्तर वर्षअघि जन्मेर सात सालको क्रान्तिदेखि नै राजनीति गर्दै आएका वयोवृद्ध नेता सुशील कोइराला भर्खरै प्रधानमन्त्री भएका छन् । नेपाली काङ्ग्रेसमार्फत नेपाली जनताले बडो यत्नसाथ उत्खनन गरी निकालिएका हाम्रा प्रधानमन्त्री राम्ररी बोल्न सक्दैनन् । हातगोडा लुलिएका छन् । कपाल फुलेको छ । दाँत फुक्लिएका छन् । जोस–जाँगर मरेको छ । सिर्जनात्मक ऊर्जामा धुलिया लागेको छ । तैपनि, हाम्रा यी सन्त प्रधानमन्त्रीको ठूलो महत्व छ । नेपाली राजनीति अब उनकै वरिपरि फनफनी घुमिरहनेछ । उनले नै अब नेपाललाई नयाँ नेपाल बनाउनेछन् । उनी अब सिंहदरबार–बालुवाटार ओहोरदोहोर गररिहनेछन्, साइरन बजाउँदै । हामी सडकवरिपरि अड्किएर रमिता हेर्नेछौँ, ताली बजाउँदै । टेलिभिजन र पत्रपत्रिकामा उनलाई हामी अघाउँजी हेर्नेछौँ । उत्खननबाट प्राप्त यस महत्वपूर्ण उपलब्धिबाट हामी नेपाली जनता अत्यन्त खुसी छौँ, वर्तमान संविधानसभा र राजनीतिक दलहरूप्रति हामी आभारी छौँ ।
हामी निरन्तर उत्खननका क्रममा छौँ, लुम्बिनीको सेरोफेरोमा पनि र सिंहदरबारको सेरोफेरोमा पनि । पहिलो संविधानसभाले चुनेका राष्ट्रपति र उपराष्ट्रपति दोस्रो संविधानसभाले नचिनेपछि नेपाली काङ्ग्रेसले उनीहरूलाई उत्खनन गरी वर्तमान संविधानसभामा उभ्याउने, सबै सभासद्लाई देखाउने, चिनाउने र थप्पडी बजाउन लगाएर चौथो कार्यकाल (पहिलो संविधानसभाका म्याद थप जोडेर) का लागि अनुमोदन गराउने अरे !
नयाँ निर्माण गर्नुभन्दा उत्खनन गरेर पुरानालाई स्थापना गर्दा झमेलामा फस्नु पर्दैन भन्ने कुरामा एमाले सहमत भएको छ । उसले पनि पूर्वसभामुखलाई नै विराजमान गराउने रे । एमालेको आगामी महाधिवेशनमा कमरेड माधव नेपाललाई नै उत्खनन प्रक्रियाद्वारा अध्यक्षमा स्थापना गर्न उनका निकटस्थहरू कम्मर कसेर लागेका छन् अरे । कमरेड ओली पनि कुनचाहिँ ड्याङका हुन् र, झापा विद्रोहको उत्खनन गर्दा फेला परेका त हुन् नि, भन्नेहरू पनि धेरै छन् । स्मरण रहोस्, वर्तमान सभामुख सूर्यबहादुर थापा उत्खनन कार्यबाट प्राप्त सबैभन्दा प्राचीन उपलब्धि हुन् ।
जसरी जताबाट हेर्दा पनि अहिले हाम्रो देश पुरातात्त्विक महत्त्वका व्यक्तिहरूबाट परिवेष्टित छ । पुराना र उहिल्यै मनग्गे प्रयोग भइसकेकाहरूबाट सञ्चालित छ । पाकेर पनि नथाकेका, परिपक्व, अनुभवी, फुलेका र चाउरिएकाहरूको कुशल नेतृत्वमा हामी सुरक्षित र संरचित छौँ । यस्तो शान्त र सुखद वातावरणमा नयाँ र युवा भनाउँदाहरूले मुख मिठ्याउनु बेकार छ । नयाँहरूको कुनै भर हुँदैन । पुरानाहरूबाट कुनै डर हुँदैन, त्यसैले नयाँहरूले अहिले चलमलाउनु ठीक छैन । पुरानाहरूले अझ धेरै बाँच्नु छ, अझ धेरै खानु छ । उनीहरूलाई खाएर धीत मरेकै छैन । भुँडीका कुनाकाप्चाहरू भरिएकै छैन । राम्ररी खाएर हृष्टपुष्ट भई अझै धेरै वर्ष देशको सेवा गर्ने उनीहरूको पवित्र इच्छामा नयाँहरूले बाधा पुर्याउनु हुँदैन । नयाँहरू अहिले धैर्य गर । जबसम्म तिमीहरूलाई पनि उत्खनन गरेर निकाल्नुपर्ने दिन आउँदैन, तबसम्म तिमीहरू पुरातत्त्वको परिक्रमा गर्दै गर । आ–आफ्ना कपाल फुलाउँदै गर, चाउरी बढाउँदै गर, बङ्गारा फुस्काउँदै गर, हड्डी मकाउँदै गर । पुरातात्विक महत्त्वका व्यक्तिहरूको सेवा गर्दै गर । हतार नगर ।

‘नेपाल’ अङ्क ५८३ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x