महेश थापाभैरव सरको दौरा–सुरुवाल
अर्याल सरको कटाक्षबाट यमलोक अस्तव्यस्त बन्न पुगेछ । अप्सराहरू बुढा वरिपरि झुम्मिएर देवगणको खप्की सुन्नुपर्ने अनि कार्य सम्पादनको क्रममा तलवितल भएमा लेखेर छारष्ट पारिदेलान् भन्ने डरले थर्थरी काँपेका चित्रगुप्तले मान्छेहरूको बहीखाता अझ गडबड पार्न थालेपछि यमराजको जागिर धरापमा परेछ ।
‘केही दिनका लागि तिमी देशदर्शनमा जाऊ, भैरव’, बहीखाता दुरुस्त नहोउन्जेल निजात पाउने मनसुवाबाट खुशामदको शैलीमा यमराजले भने । हातमा कोर्रा लिएर भरुवाको छर्रा झैं गालीको पर्रा छाड्न अभ्यस्त यमराजको मृदुस्वरबाट शङ्का लोकको लङ्का सल्किए पनि खबरीलालहरूबाट गाईंगुईं सुनेको नयाँ नेपाल हेर्ने कुत्कुती थेग्न नसकेपछि भैरव सर यमदूतका साथ मत्र्यलोक रवाना हुनुभो ।
झलमल्ल घाम लाग्या बेलाँ भैरव सरको आत्मा संविधानसभा भवन प्राङ्गणमा अवतरित भयो । दौरा–सुरुवालमा ठाँटिएका पुरुष, अनि चटक्क मिलाएर साडी–चोलो लगाएका महिलाको लस्कर देख्दा एकछिन् विश्वासै भएन । टाइसुटमा भादगाउँले टोपी सिउरी टोपलेर कुनै इन्डोनेसियाली जस्तो देखिन पुगेका हाम्रा नेताले राष्ट्रको प्रतिनिधित्व गरेको तर्फ इङ्गित गर्दै यमलोकमा विदेशी आत्माहरूले खिल्ली उडाउँदा लागेको घाउ भरिएको अनुभूत भयो ।
सातसाले परिवर्तनको फेरोमा आएको आधुनिकताको हावाबीच शहर बस्ने दाजु प्रजातन्त्रचार्यले मागिपठाको दौरा–सुरुवाल खोपीमा थन्क्याउन मात्र नपठाइदिने निधोमा पुग्नु आफ्नो ठूलो भूल भएको भन्दै हुनु ग्लानि भयो । स्यालहुइयाँ मच्चाउनेहरूको अगुल्टो हिर्काइबाट सातो गएका नेताजीहरूले बिजुली चम्कन छाडेको साइत जुराएर धरमर–धरमर गर्दै दौरा–सुरुवालमा घर बाहिर निस्कने हिम्मत जुटाएका हुन् भन्ने छनक पाएको भए बूढाको आत्माले के ठान्थ्यो कुन्नि, तर माननीयहरूले पहिरिएको देख्दा आङ सकसकाएर आएपछि कुप्री आमैको सन्दुकमा थन्क्याएको त्यही दौरा–सुरुवाल झिकेर झटपट उनिहाले ।
भट्किरहेको एउटा दुखात्माले भैरव सरको रङ्गमा भङ्ग गर्दै कानैमा आएर फुसफुसायो, ‘धेरै नमच्चिनु लेखक महोदय, कतिबेला थच्चिनुपर्छ भन्ने ठेगान छैन । माननीय र ताननीयहरूको देखासिकी औतार पहिरिहाल्यौ, हाननीयको फन्दामा पर्यौ भने दोजात्रा गराउलान् ।’
खुस्केट आत्माको कुरो बुझिएन भन्दै अघि बढ्नै लाग्दा तल सभाभवन बाहिर खैलाबैला सुनियो । मुहार र हातको संयोजनमा छटाकको इशारा सहित भीडबाट चटपटलाल झटपट अघि सर्दै भने, ‘यो वर्चस्ववादी पहिरन लाद्ने प्रदर्शनमुखी राजनीति हो । पुरानो नेपाल फर्काउने पोशाक बहिष्कार गरौं ।’
‘अर्थोक जेसुकै लगाउँदा प्रदर्शनमुखी नहुने, छोइछिटो नै गर्नु पर्ने यो मौलिक पोशाकको विराम के होला ?’ कसैले हिम्मत जुटाएर सोध्यो । ‘विश्वव्यापीकरणको जुगमा यस्तो मौलिकताले मित्रु रिझाउन सकिन्न’, सुटधारी घनटाउकेले अङ्ग्रेजी भाकामा खोके ।
‘यो दौरीलाई लौरी नलगाई हाम्रो पहिचान नजो गिने भो’, दुई अम्मलको कपडामा सजिएर नाभिस्थलमा बुलाकी धारण गरेकी मैयाँ कराईन् ।
‘विभिन्न जातीय समुदायको पहिचान झल्कने अलग पहिरन भए झैं अन्तर्राष्ट्रिय मञ्चहरूमा राष्ट्रको पहिचान झल्कने औपचारिक पोशाकका रूपमा परम्परालाई निरन्तरता दिंदा के बिग्रिजाला ?’ एक बुज्रुक बोले ।
तिम्रा औपचारिक, हाम्रा चाहिं अनौपचारिक ? भन्दै मल्ल युद्ध शुरू भयो । लुछाचुँडीका दौरान सबै अर्धनग्न बन्न पुगे । टहल्दै गरेका विदेशी पर्यटकको मध्यस्थतामा सहमति बन्यो– अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रको प्रतिनिधित्व गर्नुपर्दा केही पनि नलगाउने । देशभित्रकै औपचारिक समारोहमा कसैले पोशाक लगाउने दुस्साहस गरेमा नाङ्गेझार पारिदिने । भैरव सरले स्वीट्जरल्याण्डको पहाडी क्षेत्रतिर प्राकृतिक भेषमा ‘हाइकिङ’ जाने भाइकिङहरू खुर्मुरिएर यमलोक पुग्दा देवकन्याहरू भागाभाग भएको दृश्य सम्झिए । अनि युरोपतिर पशु अधिकारकर्मीहरूले निकाल्ने ‘ग्ल्यामरस जुलुस’ जस्तो नेपाली प्रमण्डलको कल्पना गरेर असिनपसिन बने अनि काव्यात्मक शैलीमा फतफताए–
‘नरकवासी हुनुपरे’नि क्वै गम छैन,
यो जुलुम नेपालमा के गरिदेलान् भन्ने भर छैन,
नबिटुलिई सकल यमलोक फर्कन पाऊँ,
प्रभुजीसँग आखिरी एउटा बिन्ती बिसाऊँ,
फेरि यो नयाँ नेपाल घुम्न नपठाऊ ।’
अनि, इजार कसेर दायाँ–बायाँ नहेरी यमलोकतिर टाप कस्दा भए ।
‘हिमाल’ साप्ताहिक खबरपत्रिका बाट
Subscribe
Login
0 Comments
Oldest







































