सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नाक जोगाउन खोज्दै

Nepal Telecom ad

खोपडीको ठिक्क मुन्तिर अनि हाब्रो भन्दा केही मास्तिर सुँगुरमुखे शैलीमा अधोमुख गरेर टुसुक्क उठेर उत्ताउलो रूपले बसेको दुईमुखे फोहरी अङ्गको नाम हो नाक । गन्धको अगाडि ‘सु’ अथवा दूर जुनसुकै पूर्वसर्ग लागे तापनि त्यसै गन्धको ओसारपसार गर्नु नै नाकको प्रमुख काम हो । गन्धप्रियता च्वाँचेको गुण हो । यस अर्थमा मान्छेको यस अंगको पर्यायवाची नाम च्वाँचे नै राखे पनि हुने हो । यो मेरो केवल प्रस्ताव मात्र हो । हाम्रो मस्तिष्कले आफ्नोे विकारलाई कहिले ठोस र कहिले तरल पदार्थका रूपमा नाकका माध्यमबाट विरेचन गर्छ । जसलाई हामी सिंगान भन्छौं । नाक भनेको यसै नुनिलो सिंगानको मुहान हो । यो नाक मस्तिष्कको इसारमा नाच्ने हनुमान हो । सालाखालामा बाहिर देखिने मान्छेको नाकको भौतिक स्वरूप यही नै हो ।
नाक, हात र खुट्टाझैं चल्दैचल्दैन, आँखाको परेलाझैं झिमिकझिमिक गरेर झिम्किन्न पनि । तैपनि मान्छेले आफ्नोे परिस्थितिअनुसार नाकको उपयोग गर्छ । मान्छेले खुशीमा आफ्ना नाकका फोरा फुरफुर पार्छ, चित्त नबुझेको अवस्थामा पनि नाकको छाला खुम्च्याउँछ र मन नपरेको विषयमा दिगमिग, दिगमिग गर्छ, नाकनिक गर्छ, अनि आत्मअसन्तुष्टि व्यक्त गर्छ, नाकेडाँडीको नाममा चश्माको आधारस्तम्भ भएर पनि यस नाकले आँखालाई गर्नु सहयोग गरेको छ । औपचारिक बाहिरी आँखाले हेर्दा भने यो नाक धीर र स्थिर जस्तै देखिन्छ तापनि भित्रभित्रै भने यसको चलखेल निकै मापाको हुन्छ । त्यसैले अघिदेखि नै शरीरको अङ्गमध्ये नकलाई बढी नै महत्व दिइएको हुनुपर्छ ।
नाक प्रतिष्ठाको अंग हो । तपाइँलाई मान्छेहरूले नाककै दुहाइ दिएर फुस्ल्याउने र हप्काउने काम गर्छन्, अनि आफ्नोे काम पट्याउँछन् । अझै खसोखासमा भन्ने हो भने तपाइँको घरव्यवहार, इष्टमित्र, नाता र कुलकुटुम्ब नाककै इसारामा चलछन् । तपाइँको अनुमति लिएर सानो उदाहरण दिएर भनुँ है त ? यदि तपाइँ बजारमा आफ्नोे घरपरिवारका लागि कपडा किन्न जाँदै हुनुहुन्छ भने अग्रिम रूपमा तपाइँकी गृहलक्ष्मीले नाककै आड लिएर भन्नुहुन्छ ‘आफ्नोे नाक जोगाउने गरी कपडा किन्नुहोला ।’ कारणवश भरे केही मूल्यको कपडा लिएर नाकको सहरा लिएर गुनासो गर्छिन्– तपाइँको नाक जादैन ।’ यसैगरी तपाइँले आफ्नोे घरमा आएका परपाहुनाहरूलाई पनि आफ्नोे नाक राखेर स्वागत सत्कार गर्नुपर्छ । तपाइँले आफ्नोे घरमा गर्न लागेको कुनै कार्यको लागि छिमेकसँग सल्लाह लिनुहुन्छ भने उनी पनि तपाइँलाई सोझै भनिदिन्छन् । नाक राखेर व्यवहार गर्नुपर्छ क्यारे ।’
कहीँ कतै सानो त्रुटि गर्नुभयो भने लोकले भनिहाल्छ ‘फलानाले त नाकै फल्यो ।’ यसरी नाक फल्ने र राख्ने कामको सीमा छैन । यो नाक राष्ट्र«को र अझै अन्तराष्ट्र«सम्मको पनि हुँदोरहेछ । प्रतिष्ठाको दृष्टिले यस नाकको जति महत्व छ, उति नै नाक बदनाम पनि छ । अपशकुनका हिसाबले तपाइँ एकान्तमा एकात्मक भएर काम गरिरहेका बेलामा कसैले हाच्छ्यूँ गरिदियो भने तपाइँ झनक्क रिसाउन सक्नुहुन्छ तपाइँ आफैले हाच्छ्यूँ गर्नुभयो र यदि तपाइँ आधुनिक सभ्यतामा हुर्कनु भएको छ भने तपाइँ ‘क्षमा गर्नुहोला’ वा ‘सरी’ भन्नुहुन्छ तर तपाइँको यस नाकले गर्दा नै तपाइँले त्यति बेला धारे हात लगाएर दिउको सराप पनि सुन्नुपर्छ, जब कसैको साइतमा तपाइँको नाकबाट हाच्छ्यूँ, हाच्छ्यूँ उछिट्टिन्छ । तपाइँ आफै पनि कहिलेकाहीं हाच्छ्यूँको कारणबाट पाइलो सारेको साइतबाट पनि फर्किनुभएको छ हकि ?
यस नाकले प्रकृतिलाई जसरी नजिकैबाट चिन्नसक्छ, त्यसभन्दा पनि यसको खुबी ठूलो छ भन्ने विषयमा भने अनुसन्धान भएकै छैन र हाम्रा यतिहासका विद्वानहरूलाई को आर्य हुन् कसलाई मङ्गोल भनिन्छ भनेर टाउको दुखाइरहनुपर्छ ता नाकलाई भने यो जात, प्रजात छुट्याउनु भनेको देब्रे हातको खेल जस्तो छ । अझ भनुं नाक नै त्यो अंग हो । जसले थ्याप्चे नाकहरूलाई मङ्गोल र चुच्चे नाकहरूलाई आर्य भनेर सोझै औंल्याइदिन्छ । केही अपवाद छाडेर भए पनि आफ्नोे जातीयताको छुट्टै परिचय दिएको देखिन्छ ।
नाक संस्कृति र जातित्वको मात्र परिचायक नभएर तपाइँको पदीय स्थानको पनि प्रवक्ता हो । साँच्चै जति, जति तपाइँको ओहोदाको र हैसियतको भाउ बढ्दै जान्छ, उति उति तपाइँको नाक पनि घोकिदै जान्छ । तपाइँको नाकको घोक्राइले तपाइँका आँखाको देख्ने शक्तिलाई समेत समाप्तप्रायः पारेको हुन्छ । उच्च ओहोदामा पुगेपछि तपाइँले कनीकनी अड्कलेर बोल्नुहुन्छ, सायद यसैलाई डाक्टरी भाषामा ‘साइड इफेक्ट’ भन्छन् क्यारे । तपाइँको बढेको नाक कति गह्रुङ्गो हुन्छ भने तपाइँ त्यसेको रक्षाको कारणले वाहन चढ्न थाल्नुहुन्छ वा चढ्न खोज्नुहुन्छ ।
तपाइँको मुख र दःखको अभिव्यक्ति पनि यसै नाकले दिने गर्छ । तपाइँलाई कुनै न कुनै सुखद् उपलब्धि भएको छ भने तपाइँको नाक पनि घोडाको नाक जस्तै भएर फ्वाफ्वा गर्न थाल्छ अनि कतै कुनै कारणले तपाइँ निराश हुनुभयो भने तपाइँको नाक पनि निचरिएको कागतीझैं चेप्रिन्छ पनि ।
तपाइँको नाक रातो देखियो भने देख्ने मान्छेले सोझै अनुमान गर्न सक्छ तपाइँको स्वस्थ्यमा केही न केही गडबडी छ । अनि यसै गरी तपाइँको स्वर सुन्ने मान्छेले पनि तपाइँसँग सोध्नसक्छ– ‘गाथमा आराम छैन कि ?’
अनुशासनको नाकेडरी (नासारज्जु) ले तपाइँलाई पनि अनुशासनको बाटोमा हिँडाउँछ । राँगा, भैंसी र गोरुको नाक छेडेर तथा ऊँटको नाक कसेर माउतेहरूले उनीहरूलाई अनुशासनमा हिँडाएझैं तपाइँको पनि प्रत्येक पाइलामा अनुशासनले नत्थी–बल्छी हानिरहेको हुन्छ र यथार्थमा तपाइँलाई अनुशासित बनाउने नाक नै हो ।
मैले यसै नाकलाई जोगाउन भनेर कतिपटकसम्म त पेट पनि कसेको छु । मेरो नाक पीर फोएर साध्यै छैन । हेर्नोस् न छोराले केटी टिपेर हिंडे पनि मेरै नाक मेरै नाक हिंड्ने हो, छोरीले जोडी रोजेर बाटो लागे पनि मेरै नाक रातो हुने हो । कथंकदाचित् बूढीको पनि मन बिग्रीयो भने त बुढेसकालको मेरो त सर्वस्व नै हुने भयो । मैले नाक जोगाउँछु भन्दाभन्दै मलाई नै यस नाकले पो समाप्त पार्ने पो हो कि ? कता हो कता मलाई यस यक्ष प्रश्नले पिरोलिरहेको छ । उदाहरणका रूपमा भन्ने हो मैले लेखेको यसै नाके निबन्धले पनि मेरो नाक राख्ने हो वा फाल्ने हो कसो हो कसो हो मलाई त शङ्कै छ, मेरो हालको नाक चिन्ताको विषय बनेको यही हो ।

पोखरा, कास्की

Fitkauli Publication Books comming soon
Nepal Telecom ad