साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहरको कथा

Nepal Telecom ad

सानो बेलामा बा सुनाउनुहुन्थ्यो
शहरको झिलिमिली कथा
म बाको अनुहारमा हेर्दै
सुनिरहन्थेँ शहरको कथा ।

जब म शहर पसेँ
शहर त
रेड लेबल ह्विस्कीको बोतलमा जिन्दगी घुसारेर
आफैँलाई खोज्न थालेको रहेछ ।

सानासाना नानीहरू
दूधको सट्टा सुलेसनमा
रमाउन थालेका रहेछन्
ह्वास्स गन्ध आउन थालेको रहेछ
रसायनयुक्त तरकारीको
झन् युग त
इमेल इन्टरनेटमा पो चल्न
थालेछ
घरमात्र ठूलो भएर के गर्नु !
घरमा बस्नेहरूको मन
झन् खुम्चँदै गएको रहेछ ।

सौन्दर्यको नाममा झन् बढ्दो रहेछ
ब्युटी पार्लर जानेको लर्को
दिनानुदिन महगिँदो रहेछ
लिपिस्टिक, क्रिम र पाउडरको भाउ
कपालमा जेल दलेर हिँड्दा रहेछन्
एकाबिहानै स्कुले नानीहरू ।

अचेल झोलामा
कहीँ कतै भेट्टाइँदैन रहेछ
देवकोटाको मुनामदन
भूपिको घुम्ने मेचमाथिको अन्धो मान्छे
र पारिजातको शिरीषको फूल
बरु शहर कन्डम बोकेर
दिनानुदिन व्यापार गर्दोरहेछ
आफ्नै दिदी बहिनीहरूको ।

शहर सुगन्धित रहेछ परफ्युमहरूले
सजिसजाउ रहेछ आर्टिफिसियल फूलहरूले
स्वाभिमान बढाएको रहेछ अग्ला घरहरूले
शहर पैसाको वेगमा नाङ्गो नाच नाचेर
हिँडिरहेछ र गरिरहेछ
प्रत्येक दिन निमुखाको अपमान ।

शहर भोकाको क्षेप्यास्त्र प्रयोग गरेर
दिनानुदिन घोचिरहेछ
मान्छेको ठेट्नो दिमाख
म अचेल त्यही भोकमा
रुमलिएकी छु र लेखिरहेकी छु
शहरको कथा ।

साँच्चै बा !
शहर तपाईंले भनेजस्तो रहेनछ ।

हेटौँडा– ४, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x