लक्ष्मण अर्यालम्यानरलेस मास्टर
केन्द्रीय विद्यार्थी ब्युरोका कुण्डलधारी सदस्यहरू क्याम्पसभित्र पसे । यौटा विद्यार्थी सङ्घको धतिमुङ्ग्रेले तिनलाई प्राध्यापक कक्षमा छिरायो । ती कुण्डलधारी महामहिमहरूले आफ्नो परिचय दिंदै प्राध्यापकहरूका हात तानी तानी मिलाए ।
कतिपयले कुण्डलधारीहरूमा असभ्यता देखे भने कतिपयले सभ्यता देखे । कतिपयले तिनलाई आफैंतिर तानी तानी अङ्कमाल गरे । कतिपयले तिनका सामु आफ्नो राजनीतिक सामीप्यताको पोको नै फुकाइदिए । आस्था मिल्नेहरूले तिनमा संस्कारको सगरमाथा देखे भने आस्था नमिल्नेहरूले तिनमा कुसंस्कारको धवलागिरी नै ठडिएको पाए ।
प्राध्यापक दामन जो एक कुशल कवि पनि हुन् । उनलाई लाग्यो– ‘विद्यार्थीसँग गुरुहरूले हात मिलाउँदैमा आकाश खस्दैन, जात जाँदैन, हात झर्दैन, जागीर खोसिंदैन (बरू कुण्डलधारीहरूको सामीप्यताले कति अगुरुहरूको जागीर जोगिएको छ र जोगिन सक्छ !), मान घट्दैन तर विद्यार्थी विद्यार्थी नै हो र शिक्षक शिक्षक नै हो । विद्यार्थी र शिक्षकबीच घनिष्ठ सम्बन्ध त हुनु नै पर्छ तर यी दुईबीच यौटा ‘विभेदक रेखा’ (Demarcation Line) कोरिनै पर्छ ।’ यो सोचेर प्राध्यापक दामनले कुण्डलधारी विद्यार्थीहरूले हात तान्नु अघि नै दुई हात जोडी नमस्कार गरे ।
कुण्डलधारीहरू प्राध्यापक कक्षबाट बाहिरिए । निस्कंदा निस्कँदै यौटा कुण्डलधारीले प्राध्यापक कक्षमा सुनिने गरी नै भनिहाल्यो– ‘साले म्यानरलेस मास्टर, हामीसँग हात मिलाउन नहुने, कति चढेको ए साले ।’
प्राध्यापक दामनले आफ्ना साथीहरूलाई नियाले । सबै मुखामुख गरिरहेका थिए । कोही कसैसँग दोहोरो कुरा गर्न सकिरहेको थिएन ।
मैदी, धादिङ : हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































