सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बुढीआमैको छाप्रोे

Nepal Telecom ad

हाम्रो गाउँपारि वनको छेउमा एक्लो छाप्रो थियो । छाप्रोमा एक्ली बुढीको एउटा बाख्रो पनि थियो । हामी गाउँका सबै बालबालिकाको त्यहाँ रामराज्य थियो । हामी सबैप्रति बुढीआमैको धेरै माया थियो ।
हामी हुल बाँधेर त्यहाँ गई उपद्रो गथ्र्यौं । बाख्रो फुकाएर दाम्लो समाई घोडा चढ्थ्यौं । चड्ने लड्थ्यो र प्याप्या रुन्थ्यो । अनि अर्काेको चड्ने पालो आउँथ्यो । लड्ने उठेर रुँदै बाख्रोलाई लात्ती भकुथ्र्यो । बाख्रो म्याँम्याँ गर्दै हिँड्दा फेरि अर्को चढेको पनि लड्थ्यो र ऊ पनि प्याप्या रुन्थ्यो । रुँदै बाख्रो भकुर्ने, पुच्छर तान्ने, सिङ समाई घाँटी निमोठ्ने धेरै हुँदै जान्थे । आफ्नो पालो कुर्ने कुरेकै हुन्थे । रुनेको प्याप्या, बाख्रोको म्याँम्याँ र पालो कुर्नेको हाँसो हा हा सबै आवाजले बाजा बजे झैं रमाइलो हुन्थ्यो ।
जहिले र जुनसुकै बेलामा गए पनि बुढीआम हामीलाई नै कुरेर बसिरहेकी या सुतिरहेकी हुन्थिन् । घाम लागेको बेला बाहिर गुन्द्रीमा र नलागेको बेला भित्र ओछ्यानमा बसेर या सुतेर हाम्रो खेलको रमाइलो हेरिरहेकी हुन्थिन् । तिनी हामीलाई केही भन्दिनथिन् । हामी पनि उनलाई केही भन्दैनथ्यौं ।
बाख्रोबाट लडेर रुने पालो सबैको पुगिसकेपछि लुकामारी खेल सुरु हुन्थ्यो । लुक्नका लागि पहिले बुढीको काख सबैले रोज्ने गथ्र्यौं । पहिला पुग्नेलाई बुढीले काखमा राखेर ओढ्नीले लुकाउथिन। बुढीको काख ठुस्स गनाउथ्यो तर त्यहाँ लुक्दा रमाइलो लाग्थ्यो ।
थाहा पाइपाई हामी साथीलाई डुम बनाउन त्यहाँ खोज्न जान्थ्यौं । बुढीलाई घेथ्र्यौं । बाबु यहाँ छैन, अन्तै खोज्न जाऊ, बरु लाउ पापा खाऊ भनेर सबैलाई अलिअलि पापा दिन्थिन् । उनी कहिले २/४ गेडा भुटेको मकै, कहिले ४/५ गेडा भुटेको गहुँ, कहिले रोटीका ससाना टुक्रा हामीलाई दिन्थिन् ।
हामीलाई त्यो पापा धेरै मिठो लाग्थ्यो । पापा खाएर केही समय अन्तै खोज्न गएझैं गथ्र्यौं र फेरि फर्केर आई बुढीलाई घेरेर यहीँ छ, यहीँ छ भन्दै, हाँस्दै एकै स्वरमा कराउँथ्यौं ।
त्यसो गर्दा कहिले फेरि पापा दिएर अन्तै खोज्न पठाउँथिन् । कहिले बाबु यहाँ छैन मात्रै भन्थिन् । पापा नदिएपछि हामी सबै मिलेर बुढीको ओडनी तानेर साथीलाई डुम बनाउँथ्यौं । त्यसो गर्दा कहिले बसेकी बुढी लडेर सुतिरहन्थिन् । सुतेको बेलामा बिस्तारै आइया भन्थिन् । साथीलाई डुम बनाएर हामी हाँस्दै फेरि अर्को खेल खेल्न लाग्थ्यौं ।
कहिले बुढीको ओछ्यानमा हामी साथी–साथी कुस्ती खेल्थ्यौं । कहिले बुढीको तकियाको भकुण्डो खेल्थ्यौं । कहिले के फुटथ्यो । कहिले के पोखिन्थ्यो त कहिले लुगा च्यातिन्थ्यो । तर बुढी चुपचाप हेरी मात्रै रहन्थिन् । ती बुढीआमै, त्यो बाख्रो, त्यो छाप्रो र त्यहाँ भएका सबैकुरा हाम्रा खेलौना थिए । बूढीआमैले हामीलाई बाबु, छोरा, छोरी, नानि, आदि कुनै पनि शब्दले कहिल्यै सम्बोधन गरिनन् । हामीले पनि उनीलाई बुढी, आमा आदि कुनै शब्दले सम्बोधन गरेनौँ ।
खेल्दाखेल्दै साँझ परेपछि बुढीआमैले लौ अब घर जाऊ भन्थिन् । त्यो भनेपछि हामी जे खेलिरहेको भए पनि चटक्क छोडेर घरतिर लाग्थ्यौं । हामी धेरै पर पुगुन्जेलसम्म बुढीआमैले हामीलाई छाप्रोको आँगनबाट हेरिरहेकी हुन्थिन् । भित्र सुतेकी भए पनि हामी घरतिर गएको हेर्न बाहिर आउँथिन् र हामी नदेखिने भएसम्म हामीलाई नै हेरी रहन्थिन् ।
गाउँ घरकाले हामीलाई त्यहाँ नजानु भन्थे । तर स्कुलबाट भागेर या घर गाउँलेको आँखा छलेर हामी साथीहरू मिलेर त्यहाँ जाने मौका खोजिरहन्थ्यौं ।
त्यस्तै मौका मिलाएर हाम्रो हुल एक दिन त्यहाँ पुग्दा बुढीआमै छाप्रोमा थिइनन् । उनको बाख्रो पनि थिएन । छाप्रोको भित्र बाहिर वरिपरि आमा, आमा भनेर सबै साथीले एकै स्वरमा पनि बोलायौं । हामीले पहिला त्यसरी कहिल्यै बोलाएका थिएनौं । आमा र बाख्रो नभएको छाप्रो देखी हामी सबैलाई डर लाग्न थाल्यो । डराएर आमा, आमा भन्दै हामीहरू रुँदै घरतिर दौडियौँ ।
त्यसको केही दिनपछि हामीहरू फेरि हुल बाँधेर डराई डराई त्यो छाप्रोको नजिक गयौं । नजिकै पुग्दासम्म आमा भएको गन्ध पनि आएन । चियाएर हेर्दा बाख्रो पनि देखिएन । सबै एकै चोटी आत्तिएर आमा भन्दै गाउँतिर भाग्यौं ।
पछि हामी ठूला भयौं । त्यो छाप्रो त्यहीँ ढल्यो, गल्यो र बिलायो । त्यहाँ अहिले रुखहरू छन् । छाप्रोको कुनै निसानी बाँकी छैन ।
म त अहिले बुढो पनि भएँ । हाम्रो गाउँको डिलमा पुग्ने बित्तिकै त्यो छाप्रो भएको ठाउँतिर आँखा गई हाल्छ । अनि मुखबाट आमा शब्द उच्चारण भैहाल्छ । कता कता कुनै बाख्रो म्याँम्याँ गरेको झझल्को आउँछ ।
एक दिन सँगै हिँडेकी नातिनीले त्यता के हेरेको हजुरबा भनेर सोधिन् । म झल्यास्स भएँ । आमालाई हेरेको भनें । उनले खोइ म त त्यहाँ कोही देख्दिन भनिन् । मैले उनलाई भनें– हो नानी तिमी देख्दिनौ तर म चाहिँ झलभली देखिरहेको छु । मेरो कुरा सुनेर नातिनी छक्क परिन् । अनि ती बुढी आमै र छाप्रोको कथा भन्दै हजुरबा र नातिनी अगाडि बढे ।

बत्तिसपुतली, काठमाडौंं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यस्तो पो उपद्रो !

यस्तो पो उपद्रो !

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर