सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भैरवलाई खोज्दाको सानो सम्झना

दस बज्दाबज्दै म जगदम्बा प्रेसमा पुगेको मात्र थिएँ वासुदेव मास्टर साहबले मलाई बोलाउनु भो- ‘होमनाथ !’ ‘हजुर’ भन्दै म अफिसमा पसेँ । “लु यो बस भाडा लेऊ । अनि जाऊ गोकणर्तिर । माथिदेखि तलसम्म बाग्मतीमा हेर, केही सुइँको पाइहालिन्छ कि !“

Nepal Telecom ad

२०३३ साल असोजको तीन चार गतेमध्ये कुनै एक दिनको कुरा हो । दस बज्दाबज्दै म जगदम्बा प्रेसमा पुगेको मात्र थिएँ वासुदेव मास्टर साहबले मलाई बोलाउनु भो- ‘होमनाथ !’
‘हजुर’ भन्दै म अफिसमा पसेँ ।

“लु यो बस भाडा लेऊ । अनि जाऊ गोकणर्तिर । माथिदेखि तलसम्म बाग्मतीमा हेर, केही सुइँको पाइहालिन्छ कि !“ मेरा हातमा रु पाँच दिँदै भन्नु भो । मैले कुरा बुझिहालेँ ।

भैरवजी हराउनु भएको थियो । अनिष्टको अड्कल धेरैले काटेकै थिए । तर उहाँको अत्तोपत्तो थिएन । अघिल्लो दिन म गोपमा पुगेको थिएँ । केशवराज पिँडालीजीसँग सोधपुछ गर्दा केही अत्तोपत्तो नभएको र खोजखबर भइरहेको कुरा भन्नु भएको थियो । यसैले त्यहाँबाट पनि केही जानकारी वा सुइँको लागेको थिएन । आज भने मलाई उहाँले गोकणर्तिर पठाउनुभयो ।

सोच्तै म पाटन ढोकाको बस चढेर सहिदगेट र त्यहाँबाट जोरपाटीसम्म बसमा गएँ । दिउसोको बार बज्दै थियो । कसैलाई सोध्नु पनि कसरी के भनेर सोध्नु । दोधारमा पर्दै गोकणर्को मन्दिरदेखि अलिक माथिससम्म देख्नेले थाहा नपाऊन् भन्ने बहाना पार्दै बाग्मतीको किनार वरपर हेर्दै हिँडेँ ।

वाग्मती कन्चन थियो । निकै तेज गतिमा पानी बगेको थियो । यसै तर्न सकिने खालको थिएन । गोकणर्को अलिक तल वाग्मतीमा बाँध थियो र त्यो बाँधसम्म सलल बगे पनि बाँधबाट तलतिर त वाग्मती हानिएको थियो । पानी फोहोर थिएन सफा थियो । नुहाउने कुरा ता के भो र हामी टेकु दोभानमा पनि नुहाउँथ्यौँ त्यो बेला बाग्मतीमा । यहाँ त खान सकिने जस्तो थियो । शरद ऋतुको रमणीयता थियो । बडो लहलह खेत थिए ।

मैले लगभग एक घन्टा जति मन्दिरदेखि अलिक माथि र त्यसदेखि अलिक तलको बाँध बाँधिएको ठाउँसम्म वारिपारितिर नियाली नियाली हेरेँ । कसैले के भन्ला भन्ने मनमा जगजगी बोकेर भए पनि खोजेँ । पानीमा र खेतबारीमै त पसिनँ । तर वारिपारिबाट सकेसम्म नियालेँ । केही सुइँको पाइन्छ कि भनेको केही सुइँको पाइएन । अब यो भन्दा पनि तल हिँडेर जाने अवस्था थिएन । वारिपारि नै धान खेत थिए । अहिलेका जस्ता घर कहाँ हुनु । लहलह धानबाली थियो मकै पनि थिए जस्तो लाग्छ । त्यहाँ जान चाहेर पनि मैले सकिनँ ।
फेरि रित्तै हात लिएर फर्किएँ म । दुखद खबर लिएर फर्किनुभन्दा यही ठिक लाग्यो । जसरी अघि आएको थिएँ उसरी नै म उही रुटबाट फर्किएँ जगदम्बा प्रेसमा तीन बजेतिर । मास्टर साहब आफ्ना कुर्सीमा धुमधुम्ती हुनुहुँदो रहेछ । मलाई देखेर उत्सुकता जनाउनु भो-
“छैन केही सुइँको लाग्न सकेन मास्टर साहब ।” मैले भनेँ ।
दुबै हातले खुइलिएको तालु ठटाउनु भो ।
त्यो दिनको घटना त्यति थियो ।

भोलिपल्ट पनि सुइँको लागेन ।
पर्सिपल्ट मात्र खबर सत्य साबित भयो ।
“तिमी अलिक तलसम्म गएको भए तिमीले नै भेट्नेरहेछौ ।” मास्टर साहबले भन्नु भो ।
“त्यो भन्दा तल जान खोलावारिपारिबाट बाटो थिएन । अर्काको बाली लगाएको खेतमा कुद्दा के भन्लान् भन्ने सङ्कोच भो । यसैले गर्दा म गइनँ जान सकिनँ । नत्र मै हुने रहेछु भैरवको लास भेट्ने पहिलो सुराकी” मैले भनेँ ।

“जे सोचिएको थियो त्यही भयो” भन्दै हस्याङफस्याङ गर्दै प्रेसबाट बाहिर निस्कनु भएकोसम्म सम्झन्छु ।
कुरा यत्ति हो ।

अहिले मेरो मनमा लाग्छ भैरवको अदृश्य मलामी मात्र भइएछ । लास भेटिएला कि भनेर सुराकी ता गरिएको हो तर पाइएन ।
‘दस औतार’ छाप्ता, ’ज्ञानविज्ञानको दिशा’ छाप्ता, ‘डाढो’ छाप्ता भैरवजीसँग त्यो बेलाको यो केटोले लामै सङ्गत पाएको थियो । उनको निधन पछि उनले बोलेको क्यासेटको सम्वादलाई लिपिमा सिङ्गै मैले उतारेको वा सारेको थिएँ । जो ‘भैरव भन्छन् दाताराम, वासुदेव र विद्यादेव सुन्छन्’ नामक कृति छँदैछ जसका अन्तिम कभर पृष्ठमा मेरो नामबाट मास्टर साहबले क्यासेटबाट सार्दा कति समस्या पर्छन् भन्ने लेख्नु भएको छ । त्यो नाम मेरो भए पनि लेखन मास्टर साहबकै हो ।

आज म मेरा श्रद्धेय हास्यसम्राटको स्मृतिमा वा तिनै भैरवको स्मृतिमा शब्दपुष्प चढाउँछु ।

०००
भद्रपुर, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जिब्रो

जिब्रो

रमेश समर्थन
बाघेझाप्पु

बाघेझाप्पु

चिरञ्जीवी दाहाल
तैले यहाँ के पाइस् !

तैले यहाँ के पाइस्...

चूडामणि रेग्मी
पीडा कि रहर ?

पीडा कि रहर ?

श्रीप्रसाद पाेखरेल
गुठ्का

गुठ्का

नगिता लेप्चा राई