पिँडालु पण्डितभैरव अर्यालका हास्यव्यङ्ग्यांश र वर्तमान परिप्रेक्ष्य
यस्ता विलक्षण प्रतिभासम्पत्र हास्यव्यङ्ग्यकारको केही हास्यव्यङ्ग्यभित्रका थोरै मात्र अंश उद्धरण गरेर वर्तमान परिप्रेक्ष्यसँग त्यसलाई जोड्ने धृष्टता वा सम्झाउने प्रयास पहरामा कुहिनाले हिर्काउनु जस्तै हो ।
म यतिखेर २०७९ भदौ महिनाको घोडा चढेर उमेरको उकालो चढिरहेछु । अरूको हबिगत पनि यही हो । सबै यो दिन गयो, ऊ दिन आयो भनेर फलाकिरहेका हुन्छन् । तर दिन जानु भनेको उमेरको उकालो चढ्नु हो । मानिसहरू यो जग्गा बेचेँ, त्यो घर बेचेँ भनिरहेका हुन्छन् । मान्छेले घरजग्गा होइन घरजग्गाले मान्छे बेचिरहेको हुन्छ । साटफेर गरिरहेको हुन्छ । मान्छे त्यतापट्टि सोच्तैन । यस्तै हो समयको गणना र उमेरको उकालो । निरन्तर,— मान्छेको साटफेर र आउजाउ ।
नमर्ने मान्छेको कृति हो । नमासिने मानिसको सिर्जना हो । त्यो पनि साहित्यिक सिर्जना र कृति । कालजयी सिर्जना र कृति त अझै बढी अमर हुन्छन् । चिरञ्जीवी हुन्छन् । यो अवस्था सबैलाई उपलब्ध हुँदैन । जसलाई यो उपलब्ध हुन्छ,— त्यो महान् हो । नेपाली साहित्यको हास्यव्यङ्ग्य विधाका यस्तै महान् स्रष्टामध्येका एक हुन्— भैरव अर्याल ।
भैरव अर्यालको नाम सुत्रेबित्तिकै मान्छे एकपटक मुस्कुराउँछ, दङ्ग पर्छ— जसले उनको कृति पढेको छ । कृतिभित्र पसेपछि त्यही मान्छे पाइलापाइलामा हाँस्छ । कसिला व्यङ्ग्यवाणले पेट भर्छ । सुललित भाषिक मिठासले प्यास मेट्छ । अनि सोच्छ— अहा ! कति मीठा हास्यव्यङ्ग्य । जतिखेर पनि उत्तिकै झरिला । जतिखेर पनि समसामयिक । एउटै व्यङ्ग्यले चौतर्फी प्रहार । आत्मैदेखि हाँसोको पर्रा फुट्ने । अनि, समाजको सबै कुना र क्षेत्र चहार्न सफल । स्वर्ग, मर्त्य, पाताल तीनै लोक छुन-हल्लाउन सफल । अमर कृतिहरू । चिरञ्जीवी कृतिहरू ।
०००
अर्काको मुलुकको नदेखेका कुरा अनुमानका भरमा के गर्नु ? कुरो आफ्नै मुलुकको गरौँ । यतिखेर मुलुकका आर्थिक, सामाजिक, प्रशासनिक, शैक्षिक, राजनैतिक, सांस्कृतिक, साहित्यिक, धार्मिक लगायत स्वास्थ्य, खानेपानी, ढल, विजुली, फोहोर, सञ्चार, पार्टी, सरकार, सेलेक्सन, इलेक्सन सबै क्षेत्रमा लबस्तराहरूको बिगबिगी छ । यिनको लबस्तर्याइँले सरकारी-गैरसरकारी, व्यक्तिगत-अव्यक्तिगत कुनै पनि बाटो बिराएको छैन । सबै ठाउँमा पुगेको छ । लबस्तर्याइँको मात्रा केही तलमाथि होला । लबस्तर्याइँको प्रकृति केही फरक होला । जसरी हावाबिनाको ठाउँ छैन, त्यसैगरी लबस्तर्याइँबिनाको गाउँ छैन । महादेवको ज्योतिर्लिङ्गको उग्ररूप झै लबस्तराहरूको लबस्तर्याइँको उग्ररूप पनि संसार ढाक्ने गरी दिनप्रतिदिन फैँलिँदो छ । अँगालो हाल्न कसैले सकिरहेका छैनन् । तैँ चुप मै चुप ।
हास्यव्यङ्ग्यकार भैरव अर्यालले आफ्नो हास्यव्यङ्ग्य सङ्ग्रह ‘काउकुती’ मा ‘लबस्तराको ओखती’ शीर्षकको एउटा हास्यव्यङ्ग्य समावेश गरेका छन् । लबस्तराहरूको लबस्तर्याइँलाई उनी एउटा रोग देख्छन् । उनको ठम्याइमा यो रोग धनीलाई लाग्छ, दुःख गरिबले पाउँछ । बलियालाई लाग्छ, दुःख निर्धाले पाउँछ । अरू रोग जस्तो जसलाई लाग्यो, उसैलाई यसले दुःख दिँदैन । लबस्तर्याइँलाई ऊ आफ्नो बठ्याइँ सम्झन्छ ।
लबस्तर्याइँलाई उनी चार चरणमा विभाजन गर्छन् । पहिलो चरणको लबस्तर्याइँको रोग लाग्नेमा म पनि भलाद्मी हुँ भत्रे वर्ग अर्थात् प्रायः तपाईं हामी सबै पर्छौँ । यही रोग दोस्रो चरणमा प्रवेश गरेपछि रोगीको व्यवहार र व्यक्तित्व दुइटा हुन पुग्छ— एउटा राख्ने, एउटा फार्ने ।
लबस्तर्याइँले दोस्रो चरण पनि पार गरेपछिको रोगीको अवस्था उनी यसरी वणर्न गर्छन्— “अँ, जब लबस्तर्याइँले दोस्रो स्टेज पनि पार गर्छ, तब रोगीमा लाजको लेसै हुँदैन । एउटै व्यक्तिका बाह्र रूप हुन्छन् । अहिले कालो बजार गर्दै रहेको मान्छे एकछिनपछि भाषण छाँटिरहेको हुन्छ । ऊ एकछिनपछि साम्यवादको गुरु हुँ कि भनेझैँ आर्थिक समानताको उपदेश दिन्छ । उसैलाई घरमा हेर्न जानू, ‘म जमिनदार हुँ बुझिस्’ भनी रैतीको टाउकोमा नोल बजारिरहेको देखिन्छ । बोलेको बिर्सने बानी त छँदै छ । हामी कुनै नेतालाई नै लिऊँ, आफ्नो अगाडि ‘माननीय’ नलागुन्जेल उनीहरू यति गुड्डी हाँक्छन्, मानाैँ यिनले काम गर्न पाए त माटोलाई मह गराइदिन्थे, ढुङ्गोलाई सुन । तर जब माननीयको पदले विभूषित हुन्छन्, तब दाउरा बाल्न पाइएन भनेर कराउँदा ‘रूख रोप्नुपर्छ’ भत्रे जवाफ पाइन्छ ।
आज फाटेको पतलुङ लाएर केरुङको भन्ज्याङतिर भेडा-च्याङ्ग्रा ब्ल्याकमार्केट गर्न जाने मान्छे कुनै त्यस्तै माननीयको शब्द गाँस्न पायो भने भोलिपल्टदेखि आफ्नो मुखमा ७७ हातको सुँड गाँसिएको हो कि भनेझैँ गजधम्म भई फुल्छ । सिद्धान्त र नैतिकता भत्रे कुरा उसको निम्ति गहतको झोलको पूजाजति पनि मूल्यवान् हुँदैनन् । लबस्तर्याइँको प्रकोपले गर्दा उसलाई भर्खर के बोलेको थिएँ भत्रे यादै रहँदैन । ‘तपाईंले यसो गरिदिन्छु भत्रु भएको थियो नि त’ भनेर सम्झायो भने ‘मैले कहाँ भनेको थिएँ र’ भनी सके न्यायालयमा नालिस दिन जालान् ।”
अनि, चौथो चरणमा— “एवंक्रमले विकसित हुँदाहुँदै लबस्तर्याइँ जब चौथो स्टेजमा पुग्छ, मानिस मानिस नरहेर पशु बन्दछ । उसका सारा क्रियाकलाप मानवतादेखि बाहिर पुग्छन् । मुखमा सबैको हुन्छ— सत्यता, समता, सहअस्तित्व, सहयोग, सद्भावना, सहकारिता, तर काममा पच्चीसै आना ठीक त्यसको विपरीत सबैमा हुन्छ— जुधाजुध, रिसारिस, हानाहान, मिचामिच, थिचाथिच, किचाकिच, झुटाझुट, चुटाचुट ।
आजको सभ्यताको चरम चुलीमा पुगेको दुनियाँमा हेर्नोस् जताततै यस्तै छ । मै हुँ भत्रे महान्महान् भुँडे र टाउके शक्तिको तन, मन, धन जम्मैमा लबस्तर्याइँका कीटाणुहरू थुपे्रका हुन्छन् । … कति ङ्याउँङ्याउँ गरेर शान्ति माग्दैछन्, कति ढ्यामढ्याम गरेर बम पड्काइदिन्छन् ।”
ल हेर्नुस्, यति पढिसकेपछि तपाईं पक्कै भत्रुहुन्छ— ‘अहो ! भैरव अर्यालले अहिलेका कुरा उहिल्यै कसरी लेखे ?
०००
हास्यव्यङ्ग्यको त्यही सङ्ग्रहमा ‘हाँसोको जात-थर’ पहिल्याउने क्रममा उनी एक ठाउँमा लेख्छन्— “अचेल यस्तो पनि एक वर्ग हाम्रो समाजमा देखिएको छ, जसलाई आफ्नो बुद्धि-बर्गतले नभेटे पनि नाम कमाउने भोकले सताएको हुन्छ । आफ्नो हुस्सूपनलाई उडाउँदै अरू हाँसेको थाहै नपाई मैले खूबै राम्रो ग्रन्थ लेखेँछु भनी गजक्क पर्ने लेखक, मैले राजनीति बुझेको छु भत्रे ठानी घिरौँलाजत्रो नाक पार्ने तीनसुके नेता र मेरो बोलाइको माधुर्य कस्तो छ भन्ठानेर गम्कने वक्ता इत्यादि । यिनीहरू अरूले आफूप्रति व्यङ्ग्यात्मक भावले हाँसेकोलाई प्रशंसा सम्झेर स्वयं पनि हाँस्न थाल्छन् । यस्तो अर्थात् आफ्नो काम र कृति देखेर आफैँ छाडिने बोक्रे आत्मगर्वको फोस्रो मुस्कानलाई ‘बाँदरपुत्रे’ हाँसो भत्रुपर्दछ ।”
तपाईं भए यो कुरा कोट्ट्याउनु हुन्थ्यो हुन्थेन मलाई थाहा छैन । तर मैले कोट्ट्याइदिएँ । बुद्धिमानलाई ईशारा काफी । कुरो बुझ्नु भो कि नाइँ ?
०००
भोलिको भजन भानुभक्तले भट्ट्याएको दावी हामी गर्छौँ । सायद यो भजन भट्ट्याइ भानुभक्तभन्दा जेठो हुनुपर्छ । तर, अभिलेखले त्यसो भन्दैन । जसरी मान्छे आफ्नो छायालाई भेट्ट्याउन सक्तैन, त्यसरी नै भोलिलाई ऊ भेट्टाउन सक्तैन । त्यसैले त मान्छे भोलिको लागि जे पनि गरिदिन तयार हुन्छ । निर्वाचनका नेता हुन् वा प्रशासनका प्रणेता, यी सबै भोलिमा विश्वास गर्छन् । राजनीतिक नेताहरू भोलिको भाकामा भोट मागेर भाँडभैलो मच्चाउन खप्पिस छन् भने प्रशासनका प्रणेताहरू भोलिको योजना बनाएर जनता भुलाउन माहिर छन् । प्रशासनिक र राजनीतिक दुवै क्षेत्र अरू कुरामा फरक-फरक जस्ता देखिए पनि ‘भोलि’ का कुरामा यी दुईको आन्द्राभुँडी जोडिएको छ । ‘भोलि’ का कुरामा यी दुवैको साझा नीति छ, जसलाई भोग्न-पत्याउन जनता बाध्य छन् ।
भैरव पनि भोलिबाट पीडित थिए । ‘भोलि’ ‘भोलि’ भत्रे प्रवृत्तिलाई उनी ‘भोलिवाद’ भन्छन् । यसै हास्यव्यङ्ग्य सङ्ग्रहमा सङ्गृहित उनको ‘जय भोलि !’ निबन्धको एक ठाउँमा आजित भएर उनी यसो भन्छन्— “काम छिटो होस् भनेर दिनप्रतिदिन वैज्ञानिक चमत्कारहरू बढ्दै छन् । न्यूयोर्कमा बोलेको कुरा न्यूरोडमा सुनिने भयो, पेरिसमा हात चलाए काठमाडौँमा टेलिप्रिन्ट हुने भयो, तर भोलिवादमा कुनै प्रभाव परेको देखिँदैन । राजर्षि महाराजका पालादेखि झन्डै आजसम्म मैले हाम्रो सिंहदरबारलाई ‘भोलिदरबार’ भत्रे नाम राखेको छु । किनभने त्यहाँका एक-एक तला, एक-एक कोठा, एक-एक कुना, एक-एक टेबुल, तपाईं जहाँ जस्तो काम लिएर पुग्नुहोस्, भोलिको निम्तो नपाई छाड्नुहुत्र । जागिर माग्नेदेखि लिएर तारिख माग्नेसम्म सबै भोलि ! सिंहदरबारबाट होस् कि स्यालदरबार भोलिवादलाई शिरोधार्य नगर्ने अड्डाअदालत पाउनु प्याज नखाने बाहुन भेट्टाउनुजस्तै गाह्रो भइसक्यो अब ।”
के तपाईंले अझै पनि सिंहदरबार सुध्रिएको देख्नुभएको छ ? छैन । अब त यो वार्तादरबार पनि हुन पुगेको छ । प्रतिबद्धतादरबार हुन पुगेको छ । जतिखेर जे कुरामा पनि वार्ता गर्न यो तयार हुन्छ । वार्तैपिच्छे, बुँदैपिच्छे प्रतिबद्धता जनाउन खप्पिस भइसकेको छ । सुरुमा सात दिनको प्रतिबद्धता यसले जनायो भने त्यो बढाउँदै बढाउँदै लगेर सात महिना सात दिन पुर्याइदिन्छ । त्यतिले नपुगे फेरि सात महिना पछि त्यही क्रम सुरु हुन्छ । ल अब भत्रुस् त, ‘भोलिवाद’ हुर्केर कहाँ पुग्यो ? तर आशा गर्न छाड्नु भएन । यो सुध्रिन्छ, कसैले नभेट्टाउने भोलिमा गएर । पत्याउने नपत्याउने तपाईंको अधिकार ।
०००
‘कोभन्दा को ठूलो’ भन्नेबित्तिकै ‘अरूभन्दा म ठूलो’ भन्ने अहिलेको अध्याय हो । ‘अरूभन्दा म ठूलो’ भन्ने यो अध्यायमा एक सिटेदेखि सय सिटेसम्मका सांसद् पर्छन् । एघारजनाको कार्य समिति गठन गर्न नसकेर एक्काइस चोटि कीर्ते गर्ने राजनीतिक दलदेखि एउटै कुरामा एकासी चोटि जनता ढाँट्ने ठूल्ठूला सबैवादी दल पर्छन् । समाजवादी, साम्यवादी, पूँजीवादी, प्रजातन्त्रवादी, लोकतन्त्रवादी, जनतन्त्रवादी, राजतन्त्रवादी, गणतन्त्रवादी, परतन्त्रवादी, वरतन्त्रवादी सबै पर्छन् । तल्लो पदमा तीनपाथी चूक तर मार्ने कर्मचारीदेखि माथिल्लो पदमा मुकुरिएर मुस्कुराउने हाकिमसम्म पर्छन् । झगडियालाई असिनपसिन बनाउने परम्परित अड्डाअदालतदेखि सातोपुत्लो उडाइदिने आधुनिक जनअदालतसम्म पर्छन् । सडकछाप टिकेदेखि पशुपतिका पूजारीसम्म सबै पर्छन् । यो ‘को ठूलो’ को महिमा गाउन डङ्गुरका डङ्गुर दुईजीब्रे नेताले त नसकेको म एक्लो, त्यसमाथि पनि एकजीब्रे जनताले के सकुँला ! यो पहिलेको प्रचलन भए पनि अहिलेको यथार्थ हो । यो तपाईंको तपस्या होइन, मपाईंको ममता हो ।
उनको हास्यव्यङ्ग्य सङ्ग्रह ‘जयभुँडी’ भित्र ‘मपाईं’ को मीठो चर्चा छ । ब्रह्मा र विष्णुमध्ये को ठूलो ? भन्ने लडाईंमा देवका पनि देव महादेवले आफ्नै ज्योतिर्लिङ्गको फेदटुप्पो पत्ता लगाउन तिनलाई दिएको गृहकार्य कम रोचक छैन । ‘ठूला हुँ भन्नेहरू ठूलै ठाउँमा फस्छन्’ भन्ने कुराको यो राम्रो उदाहरण बनेको देखिन्छ ।
सङ्ग्रहको एक ठाउँमा भैरव यसरी भट्ट्याउँछन्— “प्रत्येक पसले भन्छ- म अरूजस्तो ठगाहा होइन, प्रत्येक कर्मचारी छाँट्छ— म अरूजस्तो कामचोर र घूसखोर होइन, प्रत्येक युवती नखरा पार्छे— म अरूजस्तो छँडुली होइन, प्रत्येक युवक धक्कु लगाउँछ— म अरूजस्तो नामर्द होइन, प्रत्येक कवि-कलाकार फुल्छ— म अरूजस्तो बकमफुसे होइन । प्रत्येक नेता गुड्डी हाँक्छ— म अरूजस्तो झ्यासझुस लिडर होइन । ओहो ! जसका अगाडि उभिए पनि उही मपाईंजनित थुकका छिटा मुखमा पर्नुसिवाय केही छैन । हुँदाहुँदा गल्लीको लुते कुकुरले कुइँकुइँ गरेको सुन्दा पनि म अरूजस्तो भुस्याहा होइन भनी फुइँ छोडेको त होइन ? भत्रे शङ्का लाग्छ ।”
हो, अहिलेको महारोग नै ‘तपाईं’ र ‘तपाईंवाद’ लाई विस्थापन गरी उदाएको ‘मपाईं’ र ‘मपाईंवाद’ हो । मपाईं व्यक्तिमा सीमित हुन्छ भने मपाईंवाद समूहमा फैलिन्छ । सामूहिक रूपमा मपाईंवादले जरा गाडेकै कारण यतिखेर कसैले कसैलाई नगन्ने स्थिति आएको हो । मपाईंवादले समूहगत, जातिगत, क्षेत्रगत, लिङ्गगत, पार्टीगत, सरकारगत, विचारगत रूपमा प्रवेश पाएकै कारण हाम्रो तपाईंवाद हामीबाट तर्सिएर हराइसकेको छ । तर, त्यो ‘तपाईंवाद’ मुलुकको चौतर्फी विकासका लागि अपरिहार्य छ ।
०००
पहिला-पहिला झाङ्गिने युग थियो, अहिले नाङ्गिने युग आइरहेछ । यो युगको सुरुआत भैरवभन्दा जेठो छ । सुरुआतको अवस्था अहिलेको उत्पातजस्तो थिएन । तैपनि भैरवलाई त्यो पचेन । भैरव सोच्थे— अहिल्यै त यस्तो छ, पछि कस्तो होला ? उनले आफूभन्दा दुई पुस्ता पछिसम्मको कल्पना गरे । हास्यव्यङ्ग्य सङ्ग्रह ‘जय भुँडी’ भित्र ‘चन्द्रलोक कसको ?’ भत्रे हास्यव्यङ्ग्य निबन्धमा चन्द्रलोकको चटारोमा उनी घोत्लिँदाको वणर्न यसरी गर्छन्— “म कोठामा पल्टिरहेको थिएँ । मेरी कान्छी नातिनीबुहारी फलानो यो फलानो ऊ भन्दै टेलिस्टार र टेलिभिजनको प्लेटमा मलाई चिनाइरहेकी थिई । टेरलिनको हाफपैन्ट र नाइलनको फ्रक लगाएकी मेरी नातिनीबुहारी गाला चाउरिएर पनि छाला टिमिक्क परेकी देखिन्थी । सम्पूर्ण पारदर्शक आवरणमा सुरक्षित उसको छाती र तिघ्राको सुडौलपनले हामी जोसुकैको अङ्गमा पनि घरीघरी अन्तरइन्द्रियगामी जेट उडाइदिन्थ्यो ।”
यी हरफ पढ्दा मलाई अहिले पनि एक्लै हाँसो उठ्छ । उत्राइस सालमा मर्दानामान्छे त लगौँटी युगमा भएका बेला महिलामान्छे कत्ति नै अगाडि बढेका थिए होलान् र ! भैरवले यस्तो लेखे । आजका दिनमा क्याम्पसका गेट र न्यूरोडको चेपमा भैरव भेटिए के के लेख्थे होलान् ? उनी मुर्छा त पक्कै पर्दैनथे, तर टोलाउन चाहिँ राम्रैसँग टोलाउँथे । अझै केवल जोडेका टेलिभिजनमा ‘मिड नाइट हट’ को फेसन शो हेर्न पाए अझ उनको लेखकीय हबिगत के हुन्थ्यो होला ? उनी कत्ति आत्तिन्थे होलान् । जे हुनु भइगो, यो कल्पनामाथिको कल्पनामा यतिखेर नजानु नै बेस होला ।
०००
अहिले सबभन्दा बढी चर्चा हुने विषय राजनीति हो । यतिखेरको सबैभन्दा बढी चासोको विषय पनि राजनीति हो । राजनीतिले प्रवेश नगरेको विषय छैन । विद्यालयमा राजनीति, महाविद्यालयमा राजनीति, घरमा राजनीति, वनमा राजनीति, विकासमा राजनीति, विनासमा राजनीति, बिजुलीमा राजनीति, फोनमा राजनीति, फोहरमा राजनीति, पार्टीमा राजनीति, सरकारमा राजनीति, परिवारमा राजनीति, छिमेकीमा राजनीति, अँध्यारोमा राजनीति, उज्यालोमा राजनीति । यसको मतलब चौबिसै घण्टा राजनीति । स्वर्ग, मर्त्य, पाताल सबै ठाउँमा राजनीति । जिउँदो मान्छेमा राजनीति, मरेको मान्छेमा राजनीति । लिङ्गगत राजनीति, जातिगत राजनीति, स्थानगत राजनीति, भाषिक राजनीति, साहित्यिक राजनीति । बढी के भनूँ जल, थल, वायु सबैमा राजनीति ।
राजनीति गर्ने नेता कहलाइन्छन् । सुगन्धित हुन् वा दुर्गन्धित । साना हुन् वा ठूला । मर्दाना हुन् वा महिला । अग्ला हुन् वा होचा । युवा हुन् वा वृद्ध । कार्यकर्ता हुन् वा हर्ताकर्ता । भूमिगत हुन् वा पारदर्शी । राष्ट्रवादी हुन् वा परराष्ट्रवादी । सबै नेता । भैरव अर्यालद्वारा लिखित हास्यव्यङ्ग्य सङ्ग्रह ‘जय भुँडी’ भित्रकै अर्को रोचक-घोचक हास्यव्यङ्ग्य निबन्ध हो— ‘नेता नम्बर एक सय एक’ । नेतालाई धेरैले दुई नम्बरिया भनेर घोच्का हान्छन् । तर भैरव नेतालाई एक नम्बरमै सीमित गर्छन् र भन्छन्— ‘नेता नम्बर एक सय एक’ । हुन त उनको यो शीर्षकले नेता कोहीभन्दा कोही कम छैनन् भत्रे सङ्केत गर्छ । तथापि, सोझो अर्थमा उनी नेतालाई एक नम्बरमा नै राखेर इज्जत गर्छन् । वास्तवमा नेता इज्जतिलो पद हो । तर उसलाई उसकै कार्यले दुई नम्बरमा पुर्याइदिन्छ । खुट्टा तानातान र वचन हानाहानमा कहाँ के के गरेँ र कहाँ के के बोलेँ भत्रे उसलाई हेक्का रहँदैन । हिजोसम्म प्रतिगामी भएको मान्छे उसको सङ्गठनमा आउनेबित्तिकै अग्रगामी बन्छ । हिजोसम्म परराष्ट्रवादी भएको मान्छे उसकोमा आउनेबित्तिकै राष्ट्रवादी हुन्छ । त्यसैले ऊ जसरी पनि आफ्नो सङ्गठन बिस्तारमा लागिरहन्छ । अरूलाई लगाइरहन्छ ।
हास्यव्यङ्ग्य निबन्ध ‘नेता नम्बर एक सय एक’ भित्र एउटा पार्टी सङ्गठकको भनाइ उनी यसरी प्रस्तुत गर्छन्— “… कुरा मलाई ठीकै लाग्यो र थालेँ उनैको पार्टीको लागि मान्छे फकाउन । माम पाएपछि काम गर्न को गाह्रो मान्छ ? कसैलाई कुराले फुलाएर, कसैलाई सुराले झुलाएर, कसैलाई झन्डाले लोभ्याएर, कसैलाई डन्डाले सोझ्याएर, कसैलाई खेती जोरिदिउँला भनेर, कसैलाई केटी खोजिदिउँला भनेर, कसैलाई नुन पाउला भनेर, कसैलाई सुन लाउला भनेर इत्यादि गर्ने कृत्य गरी मेरो मनोमान खुसी राजीसाथ पार्टीको सदस्यबुकमा सही गराएँ । यसको फलस्वरूप कैयौँ पटक जुलुस, भाषण, हड्ताल, पिकेटिङ गरियो । “जहाँसम्म हाम्रो अखिल नेपाल दुःखमोचन पार्टीको सरकार हुँदैन, त्यहाँसम्म हाम्रो सङ्घर्ष जारी नै रहन्छ” भन्दै सभापति श्री बकनबिलास बनियाँले नेपालचौरमा कुर्ले । शहीदको शपथ खाँदै उनले यो पनि भने कि हाम्रो पार्टीको सरकार बनेको भोलिपल्ट नेपालको दुःखजति कालमोचनमा लगी म बगाइदिन्छु ।
नभन्दै नेताले फुर्का हालेको दिन उनकी सालीले हीराका लुर्का पाइन्, मैलेसम्म एक तुर्का चिया पाएको थिएँ, मैले बनाएका सदस्यले एक कुड्का ल्वाङ पनि पाएनन् वा अरू जनताले भने भोलिपल्टदेखि कतै नेताका सालाको, कतै सालाका पनि सालाको मुड्का पाउन थाले । यो देखी मलाई साह्रै जङ चल्यो र म पुगेँ अर्कै पार्टीमा ।”
यही निबन्धको अर्को एक प्रसङ्ग र स्थानमा उनी पार्टीको ठेलीमा भएको भित्री रहस्य यसरी दर्शाउँछन्, उही सङ्गठकद्वारा—
“चोरीचकारी नगरी चतुर्याइँ हुन्न
दङ्गाफसाद नगरे इजतै रहत्र ।
सोझा र सज्जन कवै नलिनू दलैमा
पार्टी चलाउनु सधैँ छल औ बलैमा ।”
यी माथिका उक्ति र अरू सन्दर्भ पढेपछि बाँकी सबै कुरा तपाईं आफैँ विश्लेषण गर्न सक्नुहुन्छ । सबै छर्लङ्ग हुन्छ, विश्लेषणपछि । परम्परादेखि वरम्परासम्मको चालचलन यस्तै छ । अनि— फलानाले यस्तो गर्यो, ढिस्कानाले यस्तो गर्यो किन भत्रु पर्यो ? मौका पर्दा सबै राष्ट्रवादी, नपर्दा परराष्ट्रवादी । सदाचार र भ्रष्टाचारको आआफ्नै परिभाषा । जनता जुटपत्तीका जोकर जस्ता जहाँ घुसाइदिए पनि ठिक्क । ल, अब बढी केही भन्नुपर्छ ? पर्दैन । जात्रेलाई श्रीखण्ड, नजात्रेलाई उही हो ।
०००
सबै कुराको जड भुँडी हो । चाहे हिजो होस्, चाहे आज होस् वा चाहे भोलि । भुँडी नहुँदो हो त यो संसारको संस्कार नै अर्कै हुन्थ्यो । जनता साँच्चै जनार्दन हुन्थे, नाम मात्रका होइनन् । भुँडी नभइदिएको भए यो पाइलापाइलाको जालझेल कसैले बेहोर्नु पर्दैनथ्यो । न राजाको कुरा हुन्थ्यो, न रङ्कको । न नेताको कुरा हुन्थ्यो न कार्यकर्ताको । न सिमानाको कुरा हुन्थ्यो, न जातभातको । त्यसैले यी सबै कुराको कारक तत्व भुँडी नै हो भन्ने कुरामा ठोकुवा गरिदिए हुन्छ ।
भैरव अर्यालको एउटा हास्यव्यङ्ग्य सङ्ग्रहको नाम नै ‘जय भुँडी’ । यो ‘जय भुँडी’ भित्रको ‘जय भुँडी’ को एउटा अंश पढ्यौँ भने सम्पूर्ण भुँडी छर्लङ्ग हुन्छ— “सबैलाई थाहै छ— भुँडी स्वयं परमेश्वरी भएकोले प्रत्येक प्राणीमा उनको अंश नभएको हुँदैन । अर्को शब्दमा प्रत्येक व्यक्ति भुँडीको एक अवतार हो । ऊसित सानो होस् वा ठूलो होस् एउटा भुँडी हुन्छ । त्यसैले मान्छे उखान गर्छन्— जहाँ जान लागे पनि भुँडी सँगसँगै जान्छ । नभन्दै गोसाईंथान जाने यात्रु हुन् वा अन्तरिक्षका यात्रु हुन्, सबैले सबभन्दा पहिले भुँडी जोहो गर्नै पर्छ । कोही राष्ट्रसङ्घीय काममा लागेको होस् वा कोही मल सोहोर्न लागेको होस् मुख्यतः सबैलाई भुँडीपूजाले नै प्रेरित गरिरहेको हुन्छ । गधाझैँ लादिन परोस् वा गाईझैँ दुहिन परोस्, कुकुरझैँ दैलोदैलो ढुक्नुपरोस् वा लाटोकोसेरोझैँ रातभरि जाग्राम बस्नुपरोस्, येनकेन प्रकारेण भुँडीपूजा गर्न सकिएन भने घरबार सब पुरपार पारी कि रानीपोखरी ताक्नुपर्छ कि डाँडो काट्नुपर्छ । आखिर सत्य कुरो यही हो— ‘येनकेन प्रकारेण उदरं परिपूरयेत् ।’ सबैले थाहा पाएकै छन्— यही भुँडीपूजाको लागि हाम्रा कैयन् पुर्खाले परचक्रीको दैलो कुरे । हुक्काको नलीदेखि बन्दुकको नालीसम्म बोके । अझै कैयौँ बुढिया र दुलही नानीहरू भुँडीको पूजासामा खोज्न निस्केका आफ्ना छोरा र दुलाहाहरूको प्रतीक्षामा आँखा तान्दैछन् ।”
यतिखेरका सबै मानिसको हर्कत भुँडीपूजाकै लागि भइरहेको कुरामा कुनै शङ्का छैन, चाहे जुनसुकै पेशा र व्यवसायमा ती लागेका हुन् । प्रत्येक भुँडीले भ्रष्टाचार बढाएको छ । सामाजिक कुसंस्कृतिको विकास गरेको छ । भुँडीबिहीन मान्छे भ्रष्टाचारी हुनै सक्तैन । सबै भ्रष्टाचारको कारक भुँडी हो । भुँडी भएकै कारण मान्छे आर्थिक भ्रष्टाचार गर्छ, सामाजिक भ्रष्टाचार गर्छ, सांस्कृतिक भ्रष्टाचार गर्छ, धार्मिक भ्रष्टाचार गर्छ, शैक्षिक भ्रष्टाचार गर्छ, राजनीतिक भ्रष्टाचार गर्छ । उसले नगर्ने कुनै भ्रष्टाचार छैन । बोलाइमा भ्रष्टाचार, सुनाइमा भ्रष्टाचार । हेराइमा भ्रष्टाचार, गराइमा भ्रष्टाचार । हँसाइमा भ्रष्टाचार, रुवाइमा भ्रष्टाचार । लवाइमा भ्रष्टाचार, खवाइमा भ्रष्टाचार । पढाइमा भ्रष्टाचार, लेखाइमा भ्रष्टाचार । रखाइमा भ्रष्टाचार, झिकाइमा भ्रष्टाचार । बजेटमा भ्रष्टाचार, गजेटमा भ्रष्टाचार । यत्रतत्र सर्वत्र सबैतिर भ्रष्टाचारै भ्रष्टाचार । ल अब भत्रुस् त ! यो केको चमत्कार हो ? मलाई सोध्नु हुन्छ भने यो सबै भुँडीको चमत्कार हो । यो एउटा मात्र भुँडीको चमत्कार होइन, सहस्र भुँडीको चमत्कार हो । भुँडीको यो चमत्कारमा वर्तमान पुस्ताको सात पुस्ताअघिदखि सात पुस्तापछिसम्मका भुँडीको प्रभाव छ । त्यसैले त काला-पहेँला, राता-सेता, नीला-हरिया सबै भुँडीको यसमा सहमति छ । भुँडीको यही रहस्य बुझेर भैरवले भट्ट्याए— ‘भुँडी पुराण ।’ हिजोको सन्दर्भमा यो जति मार्मिक थियो, आजको सन्दर्भमा यो दोब्बर भएको छ र भोलिको सन्दर्भमा यो चौबर नभइरहन सक्तैन । त्यसैले भैरवले मात्र होइन, सबैले एकैस्वरले भत्र कर लाग्छ— ‘जय भुँडी ।’
०००
हास्यव्यङ्ग्य सङ्ग्रह ‘गलबन्दी’ भित्रको ‘आलु’ निबन्धमा पनि भैरवको ठालुपन उनका अरू निबन्धमा जत्तिकै ठडिएको छ । त्यसैले भुँडीको कुरा गरिसकेपछि आलुको कुरा किन बाँकी राख्नु ? हुन पनि साकाहारीदेखि मांसाहारीसम्म, सदाचारीदेखि भ्रष्टाचारीसम्म, नाफाखोरीदेखि घाटाखोरीसम्म, झन्डाधारीदेखि डन्डाधारीसम्म, शासकदेखि शासितसम्म, बालकदेखि वृद्धसम्म, मर्दानादेखि महिलासम्म सबैको प्रिय छ ‘आलु’ । यति मात्र कहाँ हो र ! समाजवादीदेखि साम्यवादीसम्म, राजावादीदेखि प्रजावादीसम्म, बन्दुकवादीदेखि कलमवादीसम्म, क्रान्तिकारीदेखि शान्तिकारीसम्म सबैका सबै आलुप्रिय छन् । र त, आलोपालो गरेर सधैँ सबै आलु खाइरहन्छन् ।
यस्तो सबैको प्रिय बनेको विषय आलुलाई भैरवले निबन्धको विषय बनाएका छन् । यसै त मीठो आलु, त्यसमाथि हास्यव्यङ्ग्यमा मिसाएर फ्राइ गरेपछि त्यसलाई बाइ गर्न सक्ने हिम्मत कोसँग हुन्छ ? त्यसैले सबै मानिस कतै रमाइरमाइ आलु खान्छन्, कतै डराइडराइ आलु खान्छन् । आलु खानु तिनको नियति हो । आलु खाँदाखाँदै पनि आलु खान डराउनु मानवीय स्वभाव हो । भैरव पनि यसमा सहमत छन् र भन्छन्— “म सधैँ आलु खान्छु, तर मलाई सधैँ आलु खान डर लाग्छ ।” ल हेर्नुस्— आलु भन्ने चिज कस्तो रहेछ ? खानु पनि पर्ने, डराउनु पनि पर्ने !
यति मात्र कहाँ हो र ! आलुको थप करामत आलुभित्र भैरव यसरी कोट्ट्याउँछन्— “कसैलाई ढाक्रेबाट सोझै भन्सारअड्डाको हाकिम हुने काकताली पर्यो र यता बहाली गरेको भोलिपल्टै उता जेठी सासूको अपुताली पनि पर्यो भने हामी भन्छौँ— फलानाको तालुमा त आलु फलेछ । यसरी फल्ने आलुलाई न मल चाहिन्छ, न जल, न माटो चाहिन्छ, न स्थल । कसैको रौँ पनि उम्रन नसकेर बाँझो पल्टिरहेको तालुमा पनि रोप्नु न गोड्नुसित आलु फलिदिन्छ । यसरी तालुमा आलु फलेपछि मगजमा पिँडालु भरिएका र मुटुमा नालु बेरिएका भलाद्मी पनि ठालु बन्छन् । जसको तालुमै आलु फल्छ, उसलाई तरकारी-समस्याले त के पिर्थ्याे र, सरकारी नियमकानुनले पनि केही लछार्न सक्तैन । त्यसैले आलु परम भाग्यको प्रतीक हो, जो तालुमा फलाउन सक्यो भने आफ्नो जीवन मात्र होइन, सालीपट्टिका सात पुस्ता र भिनाजुपट्टिका नौ पुस्तासम्म सङ्कटमुक्त हुन्छन् ।”
भन्दा ‘आलु’, तर हेर्नुस् त यसको महिमा । यस्ता कुनै पनि सामान्य विषयलाई समातेर दिलैदेखि हँसाउने व्यङ्ग्य गर्न सक्नु हास्यव्यङ्ग्यकार भैरव अर्यालको विलक्षण प्रतिभा हो । यस्ता विलक्षण प्रतिभासम्पत्र हास्यव्यङ्ग्यकारको केही हास्यव्यङ्ग्यभित्रका थोरै मात्र अंश उद्धरण गरेर वर्तमान परिप्रेक्ष्यसँग त्यसलाई जोड्ने धृष्टता वा सम्झाउने प्रयास पहरामा कुहिनाले हिर्काउनु जस्तै हो भन्ने जान्दाजान्दै पनि यहाँ त्यही गरियो र सम्भव पनि यत्ति मात्र भयो । जे गरे पनि, जे भने पनि भैरव अर्यालका चार दर्जनभन्दा बढी हास्यव्यङ्ग्य निबन्ध सबैका लागि रसका विषय हुन् । अध्ययनका विषय हुन् । यी सबै निबन्ध आआफ्ना तौलमा कोहीभन्दा कोही कम छैनन् । विविध विषयवस्तु छन्, तर मिठास एकैनासको छ । पढाइमा ढुङ्गा लाग्दैनन्, न त आँखाले नै अल्छी मान्छन् । यी हास्यव्यङ्ग्य सबैका लागि उपयोगी छन् । अझ त्यसमा पनि नेपाली विषय अध्ययन गर्ने सौभाग्यशाली पारखीले त यो छुटाउनै हुन्न । यति भनिसकेपछि यी हास्यव्यङ्ग्य कहाँ खोज्ने भत्रे चटारो जो कसैमा उत्पन्न हुन सक्छ । यसका लागि धन्दा मात्रु पर्दैन, न त कुनै झन्झट नै बेहोर्नु पर्छ । भैरवका ‘काउकुती’, ‘जय भुँडी’, ‘गलबन्दी’, ‘इतिश्री’, र ‘दस औतार’ नामधारी सबै हास्यव्यङ्ग्य सङ्ग्रह भैरव पुरस्कार गुठीले ‘भैरव अर्यालका हास्यव्यङ्ग्य’ भनेर एकमुष्ट रूपमा प्रकाशित गरेको छ । यसबाट सबैले बिनादुबिधा सुबिधा लिन सक्छन्, बढी के भनूँ ।
०००
हास्यव्यङ्ग्य एकछिनको हाँसो, क्षणिक छेडछाड र व्यर्थ व्यङ्ग्यबिनोद होइन । यसलाई त मीठो भाषामा घुमाउरो तरिकाले सुधारको लागि गरिएको सुमधुर आग्रह सम्झनु पर्छ । सम्झने मात्र होइन, कार्यान्वयनमा ल्याउन सक्रिय हुनुपर्छ । ल्याउनु पर्छ । आग्रहित विषयलाई पुनः हाँसो र व्यङ्ग्य गर्ने थप अवसर कसैलाई दिइनु हुत्र । यति हुन सके हास्यव्यङ्ग्य गराइको सार्थकता रहन्छ । होइन भने— ‘काग कराउँदैछ, पिना सुक्तैछ’ भत्रे आहान चरितार्थ हुनुबाहेक अरू केही हुत्र । सबैलाई चेतना भया ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































