
चार ठाेक्तक
बाँच्नका लागि जूनभन्दा महत्वको दियो हुन्छ सिलाउन टाल्न काम लाग्ने धागो र सियो हुन्छ आफ्ना नलागुन् पराई लागेर केही पनि नापिन्न सत्तुर लागे घरभित्रको एकता झन् बलियो हुन्छ ।

रुद्र ज्ञवाली :
१.
मनकाे मैलो कुन साबुनले धुन्छ र महाशय ?
दूधले नुहाएको मान्छे त कुन छ र महाशय ?
आफू बाहेक सबैलाई निर्वस्त्र देख्नु हुन्छ रे !
कुन चस्माको प्रयोग गर्नु हुन्छ र महाशय ?
२.
पिलन्धरे पाराले नालिस गरेको कत्ति सुहाउन्न
सत्य तथ्य ढाकेर पालिस गरेको कत्ति सुहाउन्न
स्वाभिमान र आत्मसम्मान बिर्सेर कुनै स्रस्टाले
खुट्टामा कसैको मालिस गरेको कत्ति सुहाउन्न ।
३.
बाँच्नका लागि जूनभन्दा महत्वको दियो हुन्छ
सिलाउन टाल्न काम लाग्ने धागो र सियो हुन्छ
आफ्ना नलागुन् पराई लागेर केही पनि नापिन्न
सत्तुर लागे घरभित्रको एकता झन् बलियो हुन्छ ।
४.
संविधान कानुनमा यस्तै धुन आलाप रहेछ कि कुन्नि
सुन्दा यस्तो लाग्छ कुनै समयको पाप रहेछ कि कुन्नि
बारुलो र अरिङ्गालले टोक्यो भने पनि सराप्छन् गाँठे
बाहुनको जातमा जन्म लिनु अभिशाप रहेछ कि कुन्नि ।
०००
भैरहवा ।