सुलसुलेअलङ्कारको महाकाव्य ‘विश्रान्त’को लोकार्पण
प्रमुख अतिथि जगत उपाध्याय लगायत प्रा.डा.रामप्रसाद ज्ञवाली, महेश पौड्याल, शैलेन्द्र अधिकारी र लेखकले संयुक्तरूपमा महाकाव्यको लोकार्पण गर्नुभएको थियो ।

साहित्य सन्ध्याका कार्यसमिति सदस्य, अनाम मण्डलीका अध्यक्ष, जनसाहित्यिक मञ्च नेपालका केन्द्रीय कार्यालय सदस्य युवा कवि रूपक अलङ्कारद्वारा लिखित ‘विश्रान्त’ महाकाव्यको फागुन २१ गत नेपाल प्रज्ञाप्रतिष्ठानको सभाकक्षमा लोकार्पण गरियो ।
नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव प्रा.जगत्प्रसाद उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न भएको विशेष समारोहमा प्रमुख अतिथिलगायत प्रा.डा.रामप्रसाद ज्ञवाली, महेश पौड्याल, शैलेन्द्र अधिकारी र लेखकले संयुक्तरूपमा महाकाव्यको लोकार्पण गर्नुभएको थियो ।
कृति लोकार्पणपछि प्रमुख अतिथि सदस्यसचिव उपाध्यायले कवि रूपक अलङ्कारले दोस्रो कृतिका रूपमा महाकाव्य प्रकाशित गर्नुभएको र यस महाकाव्यका माध्यमबाट नेपाली राजनीतिमा विशेषगरी नेतृत्वमा देखिएको व्यक्तिवादी प्रवृत्तिका प्रति कठोरताका साथ काव्यिक झापड हानिएको छ र विचार तथा कलाका हिसाबले पनि कृति उत्कृष्ट रहेको छ भन्ने धारणा राख्नुभयो ।
समालोचक प्रा.डा.रामप्रसाद ज्ञवालीले पछिल्लो पच्चिस वर्षको नेपाली राजनीतिमा एउटा पात्रले गरेको सङ्घर्षलाई, उसले भोगेको जीवनजगत्लाई महाकाव्यमा उजागर गर्दै समाजले साहित्यलाई अनुत्पादक ठाने पनि यो कृतिका माध्यमबाट नेपाली समाजले भोगेको राजनीतिक अवस्थालाई एउटा व्यक्तिको आरोहअवरोहमार्फत चित्रण गर्नखोजिएको धारणा राख्नुभयो ।
समालोचक महेश पौड्यालले दुर्गम नेपाली गाउँबाट अवसरको खोजीका लागि आएको एउटा पात्रले गरेको क्रान्ति र त्यसको मिलनविन्दुमा पुग्दा प्राप्ति चाहिँ के भयो त भन्ने प्रश्न कृतिले उठाएको छ र महाकाव्यमा परम्परागत शैलीका साथै नवीन शैलीको प्रयोग पनि गरिएको छ । साथै कृतिले प्रश्न गरेको छ तर उत्तर चाहिँ पाठकलाई नै खोज्ने जिम्मा दिइएको धारणा राख्नुभयो । अर्का समालोचक शैलेन्द्र अधिकारीले साहित्यमा व्यापक महत्त्व राख्ने महाकाव्यको लेखन आफैँमा सरहानीय कार्य भएको धारणा राख्नुभएको थियो ।
-रमेश पोख्रेल
Subscribe
Login
0 Comments
Oldest












































