साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विश्व कविता दिवस : विशेष कवि गोष्ठी

प्रज्ञा भवनको देवकोटा सभा कक्षमा आयोजित विशेष कवि गोष्ठीमा ३१ जना कविहरूले आ-आफ्ना कविता वाचन गर्नुभएको थियो ।

Nepal Telecom ad

२०७८ चैत्र ७ गते, सोमवार । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा विश्व कविता दिवस (मार्च २१) का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ । प्रज्ञा भवनको देवकोटा सभा कक्षमा आयोजित विशेष कवि गोष्ठीमा ३१ जना कविहरूले आ-आफ्ना कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले विश्व कविता दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभयो । समाजलाई सही दिशानिर्देश गर्ने विषय नै कविता-साहित्य भएको बताउँदै उहाँले एक दिन कविता-सिर्जनालाई समर्पित गर्ने उद्देश्यले विश्व कविता दिवस मनाउन थालिएको उल्लेख गर्नुभयो । “कविताको सामथ्र्यलाई स्वीकार गरेर यस विषयमा सिर्जना, छलफल र प्रचार गर्न यो दिनको महत्व रहेको छ” कुलपतिले भन्नुभयो । उहाँले विश्व कविता दिवस प्रज्ञा-प्रतिष्ठानको नियमित वार्षिक कार्यक्रम भएको उल्लेख गर्दै कवि गोष्ठीमा ३१ जना कविहरूले कविता वाचन गर्नुभएको र कविहरूका सुन्दर सिर्जनाहरूका कारण कार्यक्रम सार्थक भएको बताउनुभयो । कविता सुनेपछि सबैमा नयाँ ऊर्जा सञ्चारित हुने र कविता लेखनमा नयाँ पुस्ता प्रेरित हुने उहाँको भनाइ थियो ।

प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले स्वागत मन्तव्यसहित कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो । उहाँले विश्व कविता दिवसका अवसर पारेर आजको दिनमा विगतका वर्षदेखि नै विशेष कवि गोष्ठीको आयोजना गर्ने गरिएको बताउनुभयो । विश्वका कविहरूका लागि आजको दिन हर्ष र उल्लासको दिन भएको उल्लेख गर्दै उहाँले कविता सिर्जना गर्ने, पठन गर्ने, रसास्वादन गर्ने, प्रकाशन गर्ने, अभियानकै दृष्टिले सञ्चार र प्रचारप्रसार गर्ने दिनका रूपमा विश्व कविता दिवस रहेको विचार व्यक्त गर्नुभयो ।

सन् १९९९ मा पेरिसमा सम्पन्न युनेस्कोको ३० औँ महासभाबाट घोषणा गरिएपछि विश्व कविता दिवस मनाउन थालिएको उहाँले बताउनुभयो । यो वर्षको विश्व कविता दिवसको नारा ‘विश्वको भौतिक विकास, आन्तरिक प्रबोधन र प्राचीन भाषाहरूको संरक्षणमा कविताको भूमिका’ रहेको उहाँले जानकारी दिनुभयो । नेपालमा सन् २००२ देखि यो दिवस मनाउन थालिएको र यो दिवसले स्रष्टाका अभिव्यक्ति प्रस्फुटनमा सहयोग गरिरहेको उहाँले बताउनुभयो ।

गोष्ठीका सभाध्यक्ष प्रज्ञा-प्रतिष्ठानका साहित्य (पद्य/काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले आफू काव्य विभागको जिम्मेवारीमा आएपछि कविता र काव्यका क्षेत्रमा प्रज्ञा-प्रतिष्ठानले थप उचाई प्राप्त गरेको उल्लेख गर्नुभयो । काव्य विभागले विभिन्न क्षेत्रका कवि र कवितालाई समेटेर पुस्तकमा सङ्ग्रहित गर्नुका साथै गजल, गीत, मुक्तक, समालोचनाका क्षेत्रमा पनि विभागले उल्लेख्य पुस्तक प्रकाशन गरेको बताउनु भयो । नेपाली कविताको प्रादेशिक इतिहास, छरिएका कविताहरूको सङ्कलन र प्रकाशनका कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले ‘नेपाली महाकाव्यः परम्परा र प्रवृत्ति’ नामक कृति प्रकाशन गर्ने तयारीमा रहेको पनि जानकारी दिनुभयो ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्राज्ञ परिषद् सदस्य डा. देवी नेपालले यो कवि गोष्ठीले वर्तमान कविताको अवस्थाको चित्रण गरेको बताउनुभयो । उहाँले ‘३१ जना कविले वाचन गरेका कविताबाट समग्र नेपाली साहित्यको वर्तमान अवस्था झल्किएको’ विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा ३१ जना कविहरुले आ-आफ्ना कविता वाचन गर्नुभएको थियो । कवि डा. बेन्जु शर्माले ‘कोरोना भाइरस’ शीर्षकको कविता सुनाउनुभएको थियो । यसैगरी सुलोचना मानन्धरले ‘बाटो’, ‘रातबाट’, ‘बुद्ध’ शीर्षकका छोटा कविता, मातृका पोखरेलले ‘दुर्घटित सपनाको भञ्ज्याङबाट’, श्रवण मुकारुङले ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ नर्मदेश्वरी सत्यालले ‘मेरी छोरी’, ईश्वरचन्द्र ज्ञवाली ‘उसको पत्र आमाको नाममा’, विश्वविमोहन श्रेष्ठले ‘यात्रा’, राजेन्द्र सलभले ‘दुई सैनिक’, दयाकृष्ण राईले ‘नगरवधुहरूको आवाज’, नरनाथ लुइटेलले ‘डुक्रनेसँग केही प्रश्न’, नन्दकृष्ण जोशी ‘कुडा कणर्ालीका’, मित्रलाल पंज्ञानीले ‘दैवले देख्दैन’, सीता शर्माले ‘गन्तव्य’, वासुदेव अधिकारीले ‘वाफ’ शीर्षकका कविता वाचन गर्नुभएको थियो ।

यसैगरी डा. नेत्र एटमले ‘म अवश्य पनि उठ्नेछु’, प्रभा भट्टराईले ‘जान्दिनँ म ता’, डा. रामप्रसाद ज्ञवालीले ‘म कवि’, गङ्गा सुवेदीले ‘यथार्थमा’, शोभा दुलालले ‘श्यामलाल’, रमेश पोखरेलले ‘जनविश्वास पाइँदैन बोलेर’, लक्ष्मण गाम्नागेले ‘उस्तै उस्तै लाग्न थालेको छ’, गोविन्द घिमिरे ‘वेदमणि’ले ‘सम्मान व्यापार हो’, वैरागी जेठाले ‘च्याङ्बाको गीत’, विना थिङले ‘ड्याम ड्याम’, जयन्ती सत्यालले ‘जवाफ देउ न आमा मलाई ऐठन परिरहेछ’, हेमन्त विवशले ‘गोसाई तमिले कसको मुटु बोकेका छौ’ अयोध्यानाथ चौधरीले ‘बिर्सिसकेँ अनुहार’, सन्तोष पोखरेलले ‘द फ्युटायल वल्र्ड’, राम विनयले ‘गन्तव्य’, र हरिकला उप्रेतीले ‘कालेका बा’ शीर्षकका कविता सुनाउनुभएको थियो ।

कार्यक्रमको सञ्चालन प्राज्ञ सभा सदस्य एवम् सञ्चार तथा डायास्पोरा संयोजक शशी लुमुम्बूले सञ्चालन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x