साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजन सिलवालको कृति ’बाको कोट’ लोकार्पण

मुक्तककार राजन सिलवालको लघुकथा कृति ’बाको कोट’ राजधानीस्थित केन्द्रीय तथ्याङ्क विभागको सभाहलमा एक भव्य कार्यक्रमका बिच लोकार्पण भयाे  ।

Nepal Telecom ad

लघुकथा लेखक तथा मुक्तककार राजन सिलवालको लघुकथा कृति ’बाको कोट’ राजधानीस्थित केन्द्रीय तथ्याङ्क विभागको सभाहलमा एक भव्य कार्यक्रमका बिच लोकार्पण भयाे  । लेखक तथा नेपाल सरकारका सचिव श्री श्यामकुमार भट्टराई (प्रमुख अतिथि), वरिष्ठ साहित्यकार महेश प्रसाईं, त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका प्राध्यापक डा. भरतकुमार भट्टराई, केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक श्री नेबिनलाल श्रेष्ठ, कवि देवु लुइँटेल, कृतिकार राजन सिलवाल र लघुकथाभित्रका पात्रहरूको प्रतिनिधि पात्र देवेन्द्रलाल कारञ्जितले संयुक्त रूपमा ’बाको कोट’को लोकार्पण गरे ।

करिब ९० जना साहित्यकार, साहित्यानुरागी र शुभेच्छुकहरूको उपस्थितिमा साहित्यकार ओम रिजाल, कार्यक्रम सञ्चालिका कवि एलिना दुलाल र कृतिकार राजन सिलवालसमेतले कृतिभित्रका एक एक वटा लघुकथा वाचन गरेका थिए । कार्यक्रममा प्राध्यापक भरतकुमार भट्टराईले राजन सिलवालको लघुकथाकारितामाथि टिप्पणी गर्दै सिलवालका लघुकथाहरू उनका मुक्तकहरू जत्तिकै सशक्त र विविध विषयलाई तीक्ष्णतापूर्वक अभिव्यक्त गर्दै पाठकहरूको मन मस्तिष्कमा छाप छोड्न सफल रहेको बताए । उनले आफ्नो चेलो आफूभन्दा मेधावी र श्रेष्ठ भएकोमा गौरव लाग्छ भन्दै सिलवाल अध्ययनका लागि चेलो भए पनि मुक्तक र लघुकथामा आफूले पनि गुरु सम्झेको बताए । उनले सिलवालका लघुकथाहरू माथि कसैले विद्यावारिधि गर्न सक्छ भन्ने दाबीसमेत गरे ।

अर्का अतिथि महेश प्रसाईंले सिलवालका लघुकथाहरू पछिल्लो समयमा समकालीन लघुकथाको एउटा धार र प्रवाहका रूपमा अगाडि आएको र ती भाव, शैली, विचार, भाषा आदिको दृष्टिले अत्यन्त शक्तिशाली रहेको विचार राखे । उनले भविष्यमा आमाको आँचल वा आमाको सारी विषयको कृति पढ्न पाइयोस् भन्ने कामना गरे । उनले भने, कमै स्रष्टाहरूले यति सशक्त लघुकथा लेख्न सकेका छन् । अर्का अतिथि वक्ता केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले लेखकसँगको २५ वर्ष लामो संगत र सहकार्यको स्मरण गर्दै विभागको हलमा यसप्रकारको कार्यक्रम प्रथम पटक गर्न पाएकोमा खुसी व्यक्त गरे र लेखकको काम, क्षमता र लेखनीबाट आफू मुग्ध रहेको बताए ।

लेखकका सहकर्मी रामहरि गैह्रेले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा लेखककी पत्नी नीता सिलवालले लेखकसँगको २४ वर्ष लामो दाम्पत्य जीवनका रोचक विविध प्रसङ्गहरूको स्मरण गर्दै लेखकको पत्नी हुन पाउँदा गर्व लागेको बताइन् । प्रकाशकले लेखकलाई पाठकसँग जोड्न पाउँदा खुसी लागेको अनुभव श्रीमती सिलवालले गरिन् । उनको प्रकाशकीय मन्तव्यमा सम्पूणर् सहभागीहरू भावविभोर भएका देखिन्थ्यो । लघुकथाकार राजन सिलवालले सहभागीको अनुरोधमा आफ्नो सर्वप्रिय मुक्तकसहित कृतिभित्रबाट सैंतिस नम्बरको जुत्ता शीर्षकको कथा वाचन गरे ।
कथासङ्ग्रहभित्रका पात्रहरूमध्येबाट मञ्चमा उभ्याइएका पात्र देवेन्द्रलाल कारञ्जितले आफूलिखित एउटा लघुकथा वाचन गर्न भ्याए र आफ्ना मित्र लघुकथाकार राजन सिलवाललाई लोकार्पित कृतिका लागि बधाई दिए ।

करिब ९० जनाको शान्त र सभ्य उपस्थिति रहेको सो कार्यक्रममा सभाध्यक्ष कवि देवु लुईँटेलले राजन सिलवालको व्यक्तित्व, कलम एवम् शब्दको सामर्थ्यबाट आफू प्रभावित रहेको र सङ्ग्रहका कथाहरू हरेक दृष्टिबाट पठनीय रहेको बताइन् । कृतिको मूल्य रु ३८० रहेको छ ।

तस्विर साभार : शब्दपथ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x