सुलसुलेकवि चन्द्र गुरुङको कवितासङ्ग्रहमाथि विमर्श
शनिबार इटहरीको क्यानभास साहित्य समाजले सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा विमर्श कार्यक्रमको आयोजना गरेको हो ।

इटहरी, कवि चन्द्र गुरुङको नवकृति ‘जब एउटा मान्छे हराउँछ’ माथि इटहरीमा विमर्श कार्यक्रमको आयोजना गरिएको छ । शनिबार इटहरीको क्यानभास साहित्य समाजले सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा विमर्श कार्यक्रमको आयोजना गरेको हो । विमर्श कार्यक्रमलाई कवि विनय सरगमले सहजीकरण गरेका थिए ।
वक्ताका रूपमा रहेका कवि बद्री भिखारीले कवि गुरुङका कवितासङ्ग्रहमा सरल र नरम कविताहरू रहेको उल्लेख गरे । ‘कविताहरू सरल र शक्तिशाली छन्,’ भिखारीले भने, ‘मानिस जस्तै नरम कविताहरू रहेकाले यो सङ्ग्रहले न्याय पाएको छ ।’
वक्ताकै रूपमा रहेकी कवि मिश्र बैजयन्तीले गुरुङका कवितासङ्ग्रहमा सामान्यजस्ता कविता लागे पनि असामान्य कविताहरू रहेको तर्क गरिन् । ‘कविता सामान्यजस्ता लागे पनि कविले कवितालाई मनन गर्न सकेका छन्,’ उनले भनिन्, ‘कविले कवितामा पहिचानका मुद्वा सशक्त रूपमा उठाएका छन्, बा को अनुहार आफूजस्तै देख्नु भनेको पहिचानको कुरा हो ।’
सङ्ग्रहभित्रको ‘बाको अनुहार’ शीर्षकको कविताले ‘बा’ भित्र रहेको दुःख, जिम्मेवारी सँगै ‘बा’ को सपना आफ्नो काँधमा आएकाले यस्ता कविता जीवन्त हुने उनले बताइन् ।
कवि चन्द्र गुरुङले भने आफू लामो समयसम्म वैदेशिक रोजगारीमा रहेका कारण कविता आफ्नो लागि साथीका रूपमा आएको बताए । ‘वैदेशिक रोजगारीमा रहँदै धेरै कविताहरू सङ्ग्रहभित्र छन्, मेरा लागि कविता साथीका रूपमा आइदियो,’ उनले भने, ‘विशेषतः अनुवाद पनि गर्दै जाँदा कविताको रसमा मिसिएँ ।’
कार्यक्रममा कविद्वय मनु मञ्जिल र राजेश विद्रोहीले सङ्ग्रहभित्रका कविता वाचन गरेका थिए । कवि मञ्जिलले कार्यक्रममा बोल्दै कविले शब्दको खेल खेल्ने बताउँदै भने, ‘कवि पनि खेलाडी जस्तै हो, खेलाडीले पोस्टमा गोल हाने पनि नहाने पनि बल खुट्टामा पुर्याउँदा दर्शकले हुटिङ लगाउँछन्, कविता पनि यस्तै-यस्तै हो ।’
आयोजक क्यानभास साहित्य समाजका अध्यक्ष भरत दाहालले आफूहरूले नियमित कार्यक्रम गर्दै आएको बताए ।
‘टाकुरा’ न्युज
Subscribe
Login
0 Comments
Oldest












































