साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा गणेश पौडेलको सम्झनामा श्रद्धाञ्जली सभा

स्वर्गीय डा. गणेशकुमार पौडेलको सम्झनामा सिस्नुपानी नेपाल मकवानपुरले श्रद्धाञ्जली सभा तथा रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ ।

Nepal Telecom ad

असार ३२, हेटौँडा । स्वर्गीय डा. गणेशकुमार पौडेलको सम्झनामा सिस्नुपानी नेपाल मकवानपुरले श्रद्धाञ्जली सभा तथा रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ ।

साहित्य संगम तथा सिस्नुपानी मकवानपुरको सभा हलमा एक मिनेट मौन धारण गरी शुरू भएको कार्यक्रममा स्वर्गीय पौडेलका रचनाहरू वाचन गरिएका थिए ।

कार्यक्रम सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षतामा सम्पन्न भएको हो । वरिष्ठ हास्यव्यङ्ग्यकार आर.सी. रिजालको प्रमुख आतिथ्यता रहेको यस कार्यक्रममा स्वर्गीय पौडेलका छोरा शौरभ/गौरव पौडेलले बाबुका नाममा सम्मान/पुरस्कार स्थापना गर्ने तथा जनमत मासिकले आउँदो अंक स्वर्गीय पौडेलमा समर्पित गर्नेगरी लेखरचनाको माग भएको कुरा रिजालले बताउनुभयो ।

विभिन्न विधाका गरी पौडेलका २९ वटा पुस्तक प्रकाशन भएका छन् । सोहीक्रममा नेपाली लेखक संघका केन्द्रिय सदस्य हयग्रीव आचार्यले जनमत मासिक पत्रिकाका २ सयभन्दा बढी नियमित पाठक पौडेल एक्लैले बनाउनु भएको बताउनु भयो ।

नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्यले पुस्तक धेरै छाप्नु, धेरै रचना गरिनु ठूलो कुरा नभई उत्कृष्ट रचना गर्नेतर्फ ध्यान दिनुपर्ने र सोसम्बन्धमा विचार विमर्श गरिनुपर्ने भनी फरक दृष्टिकोण राख्नुभयो ।

पौडेल केही समयदेखि क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो । उहाँले मकवानपुरमा विभिन्न पुरस्कार तथा अक्षयकोष स्थापना गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली लेखक संघ केन्द्रिय सदस्य हयग्रीव आचार्य, प्रलेस केन्द्रिय सदस्य मसान उपासक, मकवानपुरका विभिन्न साहित्यिक संस्थाका अध्यक्षहरू सर्जक सञ्जालका निमेष निखिल, साहित्य संगमका अनिता न्यौपाने, मातृभूमि साहित्य समाजका माधव पोखरेल, नेपाली लेखक संघका छवि अनित्य, प्रलेसका श्रीराम अधिकारी, मुक्तक मञ्चका डिबी बर्तौला, गजलमञ्चका केशव समर्पण, आँचल साहित्य कला पुञ्जकी भावना सापकोटा तथा उपाध्यक्षहरू साहित्य संगमका सानु खनाल, झरना साहित्य मञ्चका चिरञ्जीवि लामिछाने, गजल मञ्चका सञ्जित श्रेष्ठ, लेखक सुदर्शन अधिकारी, साहित्यकारहरू माधव भण्डारी, कुबेर पराजुली आदिले मन्तव्य तथा रचना वाचन गर्नु भएको थियो ।

संप्रस पौडेलबाट सञ्चालन भएको कार्यक्रममा यमनदेव उत्प्रेरक, प्रेमबहादुर बुढाथोकी र आरम्भ सञ्जेल आदि समेतको उपस्थिति रहेको थियो ।

पछिल्ला वर्ष यथेष्ट पुस्तक प्रकाशन गरिरहेको मकवानपुरमा साहित्यिक गतिविधिहरू सकृयरूपमा हुने गरेको छ ।

-संप्रस पौडेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x