नवीन अभिलाषीबाबु साहेब
कि कचाकच काटिने छ, हामीलाई र हाम्रै लासको मञ्च उठाएर भाका सारिने छ, कि थुत्नेछौँ हामीले सिंहासनबाट र वर्षौदेखिको हिसाब चुक्ता गर्नेछौँ ।

जुँगा हल्लिएको छ तपाईंको
हामीले कुरा बुझिसकेका छौँ ।
गर्जिरहेको बादल मुन्तिर,
झरीले भिज्दै गरेको चङ्गाजस्तै छौँ हामी
बाजको अन्तिम झम्टाइ पर्खिरहेका चल्लाहरूझँै
यतिबेला
हाम्रो अनुहारमा मृत्युले ठट्टा गरिरहेछ ।
तर तीन हजार वर्षदेखि
दबाइएका गलाहरू खसखस गरिरहेछन्
चलमल—चलमल गर्दैछन्,
यी जञ्जीरले कस्सिएका हातगोडाहरू
र बेहोस प्रायः यो छाती आज अचानक
ढुकढुक — ढुकढुक गरिरहेछ ।
हेर्नुस् तपाईंको पैतालामुनि
यो धुलो उठेर फट्फटाइरहेछ पखेटा ।
बाबु साहेब
एकतारे हो तपाईंको सिंहासन,
रगतको एक छिर्कोले चुँडिन सक्छ — च्वाट्ट
हामी त रक्तबिज
एउटा मृत्युको अवसरमा
हजार जीवनले टुसा उमार्छ ।
समयको यही कालो कुइनेटोमा
अब कि बिट मारिनेछ — शुद्र इतिहासको
कि सुरु हुनेछ, अर्को उज्यालो अध्यायको ।
यतिबेला
मुक्ति र मृत्युको मझधारमा
ढलपल ढलपलको गीतहरू गाइरहेका छौँ ।
थाहा छैन, अब के हुन्छ ?
मात्र थाहा छ
कि कचाकच काटिने छ, हामीलाई
र हाम्रै लासको मञ्च उठाएर भाका सारिने छ,
कि थुत्नेछौँ हामीले सिंहासनबाट
र वर्षौदेखिको हिसाब चुक्ता गर्नेछौँ ।
तर मञ्जुर छैन अब,
आफ्नै काँचो रगतले आर्जेको भूगोलमा
आफै अनागरिक बन्न ।
(अभिलाषीको भर्खरै लोकार्पित ‘मौलामा बाँधिएको राँगो’ कविता सङ्ग्रहबाट)
Subscribe
Login
0 Comments
Oldest






































