तिलक लुइटेलतीनवटा ज्ञान
चराको कुरो सुन्दा प्रजातन्त्र आएपछि के के न पाइएला भनेर आशा गरेका नेपाली जनताले यस बेला होस पाए जस्तै तेस्रो ज्ञान पाएर निराश भयो र बाटो लाग्यो ।

घाइते भएर पक्राउ परेपछि भँगेराले भन्यो— मलाई मारेर खाए पनि खाऊ तर भगवानले दिएका तीनवटा ज्ञान पनि तिमी नै लैजाऊ । आफू मरे पनि ज्ञान सुरक्षित भयो भने लोकको भलो हुन्छ । भँगेराले भनेको सुनेपछि चरी पनि खाइने ज्ञान पनि पाइने भनेर मान्छे खुसी भयो । लौ भन् त तेरो ज्ञान के हो मान्छेले भन्यो । भँगेराले पहिलो ज्ञान दियो— हातमा परेको वस्तु कुरा नबुझी नगुमाउनु ।
कुरो आफ्नै पक्षमा रहेको बुझेर मान्छे खुसी भयो । चराले दोस्रो ज्ञान सिकायो— उम्केका कुराको पछुतो नगर्नु । यति राम्रा ज्ञान पाएकोमा चरो सारै इमानदार रहेछ र भाग्ने रहेनछ भनेर मान्छे ढुक्क भयो । यता भँगेरो चाहिँ पहिले चोट लागेर घाइते भए पनि अलिक बिसेक भएछ । अब तेस्रो ज्ञान अझै गज्जबको छ । अर्काका बन्धनमा बसेर भन्नु हुँदैन । एकै छिन मलाई भुईंमा राख अनि भन्छु । मान्छेलाई लाग्यो यो चरो घाइते छ । धेरै उड्न सक्तैन र पर जाँदैन । म यसलाई पक्रन सक्छु । मौका पाएर भँगेरो भुर्र उड्यो । मान्छे लखेट्न थाल्यो । अनि चराले भन्यो— हे मान्छे तँ साह्रै मूर्ख रहिछस् । पहिलो ज्ञान नउम्काउनु भन्ने थियो । जान्दा जान्दै तैँले हातको वस्तु आफैँ गुमाइस् ।
दोस्रो ज्ञान उम्केपछि नपछुताउनु भन्ने थियो । तैँले त दिनभरि पछ्याइरहिस् । मान्छे साह्रै थाक्यो र चराले मूर्ख बनाएका कुराले रिस पनि उठ्यो । चराले फेरि भन्यो— मलाई मार्न पाएको भए मेरो मासु त खान्थिस् खान्थिस् र मेरा पेटमा भएका एक एक तोलाका चारवटा अण्डा पनि लैजाने थिइस् । रिसाएको मान्छे चार तोला सुनको कुरो सुनेर लोभियो । अब त नमारी छोड्दै छोड्दिन भनेर लखेट्ता असिन पसिन भयो, भोक र तिर्खाले लखतरान भयो तर मान्छेले लखेट्न छोडेन ।
आखिरमा दिन पनि बित्न लाग्यो मान्छे उठेर हिँड्न नसक्ने गरी थाक्यो । जीवनभरि देशलाई सुधार्ने कसरत् गर्दा गर्दै आफू सुध्रिन नभ्याएर हार खाएका नेपाली नेताहरू जस्तै भएर त्यो मान्छे भुईंमा थुचुक्क बस्यो । अनि चराले फेरि भन्यो— थुक्क तेरो बुद्धि । म भँगेराको जम्मा तौल दुई तोला जति होला । मेरा पेटमा चार तोला सुनका अण्डा कसरी अट्छ भन्ने ठानिस् ?
चराको कुरो सुन्दा प्रजातन्त्र आएपछि के के न पाइएला भनेर आशा गरेका नेपाली जनताले यस बेला होस पाए जस्तै तेस्रो ज्ञान पाएर निराश भयो र बाटो लाग्यो ।
कपन, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest




































