सुलसुलेस्रष्टा रुद्र ज्ञवालीलाई जानकी साहित्यिक पुरस्कार
‘जानकी प्रतिष्ठान’ द्वारा स्थापना गरिएको उक्त पुरस्कार मोती जयन्तीको अवसर पारेर किरण पुस्तकालय तम्घासले यस वर्ष साहित्यकार ज्ञवालीलाई प्रदान गरिएको हो ।

गुल्मी, भदौ १५, २०७९ । जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार रुद्र ज्ञवालीलाई प्रदान गरिएको छ । ‘जानकी प्रतिष्ठान’ द्वारा स्थापना गरिएको उक्त पुरस्कार मोती जयन्तीको अवसर पारेर किरण पुस्तकालय तम्घासले यस वर्ष साहित्यकार ज्ञवालीलाई प्रदान गरिएको हो ।
रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीद्वारा नगद र सम्मान पत्रसहित ज्ञवालीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । निरन्तर साहित्यिक क्षेत्रमा कलम चलाउने स्रष्टालाई पुरस्कृत गर्ने परम्परा अनुसार ज्ञवालीलाई उक्त पुरस्कार प्रदान गरिएको किरण पुस्तकालय तम्घासले जनाएको छ ।
वि.सं.२०३३ सालमा रुरु क्षेत्र गाउँपालिका -४ बलेटक्सारमा जन्मनुभएकी जानकी ज्ञवाली साहित्य र मानवअधिकारको क्षेत्रमा काम गर्दागर्दै ३९ वर्षको उमेरमा असामयिक निधन भएको थियो ।
ज्ञवालीको निधनपछि उहाँका श्रीमान् शङ्करप्रसाद गौतमको अग्रसरतामा जानकीको स्मृतिमा किरण पुस्तकालय तम्घासमा १ लाख ५१ हजार १ सय ५१ रुपियाँको अक्षयकोष स्थापना गरिएको हो ।
उक्त अक्षयकोषको ब्याजबाट हरेक वर्ष ज्ञवालीको जन्मदिनको अवसर पारेर पुरस्कार घोषणा गर्ने र मोतीराम भट्टको जन्म जयन्तीको अवसर पारेर किरण पुस्तकालयमार्फत पुरस्कार प्रदान गरिन्छ ।
साहित्यकार ज्ञवाली सरकारी सेवाबाट निवृत्त हुनुभएको हो । उहाँको जन्म गुल्मी जिल्लाको ग्वादी कौलोदीमा भएको हो । सानैदेखि साहित्य साधनामा सक्रिय रहँदै आउनुभएका ज्ञवालीले आफ्नो जीवनको उर्वर समय साहित्यिक साधना र राष्ट्र सेवामा व्यतीत गर्नुभयो ।
ज्ञवालीका निर्वासन (कथासङ्ग्रह), सपना फुल्ने रातहरू (गजल सङ्ग्रह), विवरूका कथाहरू, उन्मुक्त आकाश (मुक्तक सङ्ग्रह), असल साथी (बालकथा सङ्ग्रह), पात्रहरू (कथा सङ्ग्रह) र रुझेर अग्निवर्षामा (मुक्तक सङ्ग्रह) कृति प्रकाशनमा आएका छन् । फित्कौली डटकममा उहाँका व्यङ्ग्य सिर्जना निरन्त पोष्ट हुँदै आएका छन् । ज्ञवालीलाई फित्कौली डटकमको पनि हादिक बधाई ।
-समाचार स्रोत गोरखापत्र अनलाइन
Subscribe
Login
0 Comments
Oldest












































