पिँडालु पण्डितहँसाए बूढाले
उनको उद्घोष छ- ‘मेरो सास छउन्जेल यी सबै सगोलमै बस्छन् । जोसुकैले जेसुकै भनुन् म बाँचेसम्म छुट्टीभिन्न हुने अधिकार छैन यिनलाई ।’

बाघवीर बूढा ठ्याक्कै उनान्सय वर्षका भए । उमेर अनुसार निकै पूmर्तिला र त्यत्तिकै जाँगरिला पनि छन् । उनलाई अहिलेसम्म न हिँड्नलाई लौरोको सहायता चाहिएको छ न कसैको कुरो सुन्नलाई सुन्ने यन्त्र नै कानमा झुन्ड्याउनु परेको छ । पत्रिकाका अक्षर बिनाचस्मा कतै नअड्कीकन फररर्र पढिदिन्छन् ।
खानपानका कुरा निकाल्नेबित्तिकै उनी चुड्की बजाएर बोल्न थाल्छन् र भन्छन्- ‘हेर्नुस्, उहिलेका जमानामा एक सुकाको तीन माना घिउ खा’को ज्यान पो हो यो त ! चानचुने छ । अहिलेसम्म पन्ध्र मुठी चामलको भात त अचार तरकारी केही नभए पनि खेर जाँदैन । परिआयो भने दुई चार वटा केटा छोएरै ढाल्दिन्छु, घचेट्न पनि पर्दैन । त्यसै बाघवीरे भा’छु !!’
दुईदुई वर्षको अन्तरालमा जन्मेका नौ वटा छोराछोरी छन् । सात वटा छोराबुहारी नातिनातिनासहित एउटै घरमा सगोलमा बस्छन् । दुई छोरी बाहिर । उनको उद्घोष छ- ‘मेरो सास छउन्जेल यी सबै सगोलमै बस्छन् । जोसुकैले जेसुकै भनुन् म बाँचेसम्म छुट्टीभिन्न हुने अधिकार छैन यिनलाई ।’
कडा छन् बाघवीर बूढा । उनले बोलेपछि लालमोहर । कसैले ‘चुँ’ गर्दैन । नाउँ अनुसारकै व्यक्तित्व छ । घरमा मात्र नभएर वरपर समाजमा पनि उनको ढब यस्तै छ ।
उनलाई कुनै पनि कुरो कोट्ट्याउन मात्र पर्छ, धक नमानीकन फररर्र बोल्न थालिहाल्छन् । पत्नी वियोग र उनको उमेरका विषयमा राखिएको चासोमा उनी यसरी प्रस्तुत भए र भने- ‘म चालिसको हुँदा मेरी जहान गइन् । समाजले भन्दाभन्दै पनि नौ वटा छोराछोरीको मुख हेरेर अर्को विवाह पनि गरिन । जहान चाँडै मरी र पो ! नत्र प्रत्येक वर्ष तीजमा मेरो दीर्घ आयुको कामनामा उनी व्रत बस्न पाएकी भए म अहिले कमसेकम पनि डेढसय वर्षको हुन्थेँ ! बुझ्नु भो ?’
०००
२०७९/५/१४
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































