सुलसुलेवैयाकरण नेपाल स्मृति र स्रष्टा सम्मान कार्यक्रम
वैयाकरण नेपाल स्मृति प्रतिष्ठानको आयोजनामा वैयाकरण नेपाल १०१औं स्मृति दिवस एवम् पुरस्कार अर्पण कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौं, कार्तिक १३, २०७९ । वैयाकरण नेपाल स्मृति प्रतिष्ठानको आयोजनामा वैयाकरण नेपाल १०१औं स्मृति दिवस एवम् पुरस्कार अर्पण कार्यक्रम सम्पन्न भएको छ । छन्द कवि गोपीकृष्ण शर्मा, रमेश खकुरेल र भुवनहरि सिग्देललाई नगद राशिसहति सम्मान गरिएकाे हाे ।
एकमणि नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख आमन्त्रित प्रकाश वस्ती, संरक्षक-ज्ञानमणि नेपाल, हुनुहन्थ्यो । विशेष व्यक्तित्व कृष्णप्रसाद भण्डारी (९६ वर्षीय) र अन्य उपस्थितहरूमा लोचन भट्टराई, प्रभा भट्टराई, नगाधिराज, ठाकुर शर्मा, भावना नेउपाने, गिरिराज जोशी, जीवन अधिकारी, जगदीश्वर पोख्रेल, खोलाघरे साहिंलो आदि १०० जनाजतिको उपस्थिति रहेको थियो ।
कोषराज नेउपानेको स्वागत मन्तव्यबाट आरम्भ भएको कार्यक्रममा न्यौपानेले नै छन्दसारथि रमेश खकुरेलको परिचय, सावित्री मल्ल कक्षपतिले गोपीकृष्ण शर्मा गोतमको परिचय, डा.शैलेन्दुप्रकाश नेपाल, भुवनहरि सिग्देलको परिचय, डा.शैलेन्दुप्रकाश नेपालले दिनुभएको थियो ।
वैयाकरण नेपाल स्मृति प्रतिष्ठानले प्रदान गर्दै आएको वैयाकरण स्मृति सम्मान २०७६ को लागि गोपीकृष्ण शर्मा, २०७७ को लागि छन्दसारथि रमेश खकुरेल र २०७८ को लागि भुवनहरि सिग्देललाई प्रदान गर्ने क्रममा तीनैजना स्रष्टाहरूलाई माल्यार्पण, दोसल्ला, सम्मानपत्र र जनही नगद २५०००/- अर्पण गरिएको थियो ।
– भवानी खतिवडाले भुवनहरि सिग्देलको ‘वैयाकरण’ महाकाव्यभित्रबाट केही श्लोक वाचन
कार्यक्रम सञ्चालनका क्रममा प्रह्लाद पोखरेलबाट भुवनहरि सिग्देलबारे, गोपीकृष्णबारे स्वरचित र रमेश खकुरेलद्वारा रचित पद्यहरू वाचन गर्दा कार्यक्रम अझ सरस बनेको थियो ।
सम्मानित भुवनहरि सिग्देलले आफ्नो छोटोमीठो मन्तव्य दिनुभएपछि रमेश खकुरेलले मन्तव्यका साथ ‘विश्वमै प्रेम भर्न’ शीर्षकमा स्रग्धरा छन्दका ३ श्लोक वाचन गर्नुभयो । विपीन पाठकले दिव्यचन्द्र आचार्यद्वारा रमेश खकुरेलबारे रचित पृथ्वी छन्दको कविता ‘छन्दसारथि’ भित्रबाट वाचन गरेपछि सम्मानित व्यक्तित्व गोपीकृष्ण शर्माले मन्तव्य दिनुभयो ।
प्रतिष्ठानका सचिवबाट प्रतिष्ठानको वार्षिक प्रतिवेदन र लेखा प्रतिवेदन प्रस्तुत भएपछि वैयाकरण नेपालद्वारा रचित केही श्लोक वाचन गरेको लोचन भट्टराईको अडियो प्रस्तुत गरियो ।
निर्वाचन समितिका प्रतिनिधिको मन्तव्य र नयाँ कार्यसमितिको नामावली घोषणा भएपछि आजको सभाका सर्वाधिक ज्येष्ठ (९६वर्षीय) व्यक्तित्व कृष्णप्रसाद भण्डारीले मन्तव्य दिनुभयो । प्रमुख आमन्त्रित प्रकाश वस्ती (सर्वोच्चका पूर्व न्यायाधीश) ले आफ्नो पदीय मन्तव्य दिनुभएपछि अध्यक्ष एकमणि नेपालको सारभूत मन्तव्यका साथ सधन्यवाद सभा विसर्जन गरियो ।
०००
-खोलाघरे साहिँलोको टिपोटबाट
Subscribe
Login
0 Comments
Oldest












































