सुलसुलेविरहीकृत ‘बेलबारीको साहित्यिक इतिहास’ लोकार्पित
बेलबारीको साहित्यको इतिहासलाई खोज्ने हेतुले यो पुस्तक लेखिएको लेखक केशु विरहीले बताए ।

मोरङ,बेलबारी । बेलबारी साहित्यिक विकास समितिको पाँचौँ वार्षिक साधारणसभाको अवसरमा ‘बेलबारीको साहित्यिक इतिहास’ कृति लोकार्पण भएको छ ।
शनिबार बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा भएको कार्यक्रममा कृतिको लोकार्पण भएको हो । बेलबारीको साहित्यको इतिहासलाई खोज्ने हेतुले यो पुस्तक लेखिएको लेखक केशु विरहीले बताए । १ सय २९ पृष्ठको सो पुस्तकभित्र बेलबारीको परिचय, बेलबारीमा विधा साहित्यिक अध्ययन, आख्यान साहित्यको उत्पत्ति र विकास, गजल, बेलबारीमा साहित्यको अध्ययन, मातृभाषामा साहित्य, जनवादी साहित्य, पाहुनाको योगदान लगायतका विषय समेटिएको छ । यस्तै, बेलबारीमा प्रकाशन भएका कृति, लेख रचना, साहित्यिक संघ सस्था, सञ्चारगृहको समेत विवरण राखिएको छ ।
प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई, प्राज्ञ देवी पन्थी, भाषाविद् आचार्य अ, अग्रज साहित्यकार हर्कमान तामाङ, बेलबारी साहित्यिक विकास समितिकी अध्यक्ष तिला लेकाली लगायतले कृतिको लोकार्पण गरेका थिए ।
कार्यक्रममा कृतिका बारेमा प्राज्ञ पन्थीले टिप्पणी गरेका थिए । पुस्तकले बेलबारीको ६५ वर्षीय इतिहासलाई समेटेको पन्थीले बताए । बेलबारीमा यो अनुसन्धानको सुरुवात भएको उनको भनाइ थियो । कनीकुथी गरेर प्रेसमा लगेर पुस्तक निकाल्ने र म लेखक हुँ भन्ने विकृतिको अन्त्य गर्न जरुरी रहेको पन्थीले बताए । यस्तै अग्रिम बुकिङ गरेर ४ सय पुस्तक बिक्री हुनु लेखकहरूका लागि अत्यन्तै ठूलो सफलता रहेको उनले बताए ।
यस्तै, नगर प्रमुख राईले बेलबारी नगर महिनामा एउटा साहित्यिक कार्यक्रम हुने नगरको रुपमा परिचित भएको बताउँदै यो कृतिले विभिन्न फूलका थुङ्गाहरुलाई एकै ठाउँमा उन्ने काम गरेको बताए । साहित्यिक विषयको उत्खनन गर्नु बेलबारीका लागि महत्वपूणर् कोसेढुङ्गा भएको राईको भनाइ थियो ।
यस्तै आचार्यले पालिका स्तरमा नै साहित्यको इतिहास लेखिनु अपूर्व काम भएको बताए । अहिलेको युग अनुसन्धानको युग भएकाले आज सबै विधामा सानोसानो विषयमा अध्ययन गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रम बेलबारी साहित्य विकास समतिको आयोजनामा भएको थियो । कार्यक्रमको सभापतित्व आयोजक संस्थाकी अध्यक्ष तिला लेकालीले गरेकी थिइन् ।
०००
समाचार स्रोत : निस्पक्ष खबर डटकम
Subscribe
Login
0 Comments
Oldest












































