पाका मान्छेलाई यत्ति भए पुग्छ !

आफ्नो ईज्जत र प्रतिष्ठा सामान्य व्यवहारबाट नै सुपथमा आर्जन हुने, पहिले कुबाटो लागेर छुटाएको भए अब नबिर्सी चाँजो मिलाउँदै अघि बढौँ है !

पाका मानिसलगायत हरेक उमेर समूहका बारेमा राम्रा नराम्रा धेरै प्रसङ्ग हरेक मानव समुदायमा लोकभनाई र किस्साका रूपमा रहेको पाइन्छ । मानव समाजको विकास प्रक्रिया नियाल्ने हो भने उन्नाईसौँ शताब्दिपछि संसारभरि आएको यान्त्रिक र राजनीतिक परिवर्तनले सकारात्मक साथै नकारात्मक कुराहरूले फड्को मारेको देखिन्छन् । सायद यसको मुख्यकारण नै बजारवाद अर्थात् हरेक जैविक अजैविक वस्तुको अस्तित्व र औचित्वमा मूल्यसँगको तुलना गर्ने प्रवृत्तिले होला । मानव स्रोतलाई प्रमुख ठान्ने केही विचारहरूबाहेक पूँजीबजारमा प्रष्टरूपले नाफा र नोक्सानको लेखाजोखाले मानिसका उमेरअनुसार मूल्याङ्कन गर्ने गरिन्छ । हरेक व्यक्तिको परिवार र समाजमा गर्नुपर्ने कर्तव्यबारे कम चर्चा गरिन्छ, जिम्मेवारी बहन गर्ने त अरू नै छन जस्तो व्यवहारहरू छताछुल्ल भएका पाइन्छन् ।

व्यक्तिवादको चपेटामा सबै मानिस आफ्नो हकअधिकारका कुरा बढि उराल्न व्यस्त देखिन लागेका छन् । पाका मान्छे विविध सामाजिक परिवेश, पारिवारिक ईज्जत मोह, संस्कारगत सोचाई र शारीरिक अवस्थाका कारणले आफ्ना कुरा घनिभूत तबरले उठाइरहेका पाइन्नन् । त्यसैले उनीहरूका आवश्यक्ता, चाहना र ईच्छा अचेल कतिपयको लागि ‘गनगन, गुनासो, निहुँ खोजाई, एकलकाँटे, म्यादगुज्रेको, बोझ र खानका काल’ भएका छन् । वास्तवमा यस्तो त हुँदै होइन, बरु यस्तो आलाप त निकृष्ट परिवार सदस्य र व्यक्तिवादले बिग्रिएका युवाहरूको स्यालहुइयाँ हो ।

विगतः
आजका पाका मान्छे हिजोका पुरानै सामाजिक संस्कारको रहलपहलमा हुर्किएका युवायुवती हुन् । परिस्थितिजन्य भोगाईलाई अनुकूल पार्दै शिक्षादीक्षा, कमाई-धमाई गरी आजका हरेक सामाजिक विकासको जग हाल्ने उनै हुन । आफ्नो जीवनकालमा बृहत् सामाजिक, राजनीतिक, आर्थिक, भौतिक र यान्त्रिक उथुलपुथुल भोगेका छन् । एकै जीवनमा यतिधेरै परिवर्तन थोरै समयमा नै भोग्ने मानव सभ्यताको समाजमा आजका पाका मान्छे नै पर्लान् ! विकसित भनिने देशको हालत त त्यस्तो छ भने कम विकसित र अल्पविकसित निर्धन भनिएका देशहरूका मानिसले त अचम्मका परिवर्तन पछिल्ला पाँच दशकका त आँखाले नै देखेर भोगेका छन् ।

नेपालको आकाशमा पहिलो पटक हवाईजहाज आउँदा ‘भगवान्को पुष्पक विमान’ भनी पूजा गर्ने मानिस आजका पाका मानिस हुन् । आफ्नो क्षेत्रमा सामान्य नुन मट्टितेलको आपूर्तिमा हप्तौ पैदल हिँडेका र पाटीमा बास बसेका मानिस आजका धेरै पाका मान्छे हुन् । घण्टौँ हिँडेर विद्यालय पुग्ने र पढ्दा तलमाथि भएमा गुरुको सुम्ला बस्ने पिटाई खाने आजका पाका मान्छे मध्येमा पर्छन् । काठमाडौँका बिहान, बाह्र बजेको तोप र घण्टाघरबाट समय थाहा पाउने र जिल्लातिर अमिनी र चौकीको घण्टीबाट समय थाहा पाउने बेला जन्मेका हुन आजका पाका मान्छे । धेरैतिर भालेको डाँकले समय अड्कलिन्थ्यो भने घामलाग्दा छायाँ हेरेर बितेको र बाँकी समय ठम्याएर कामको थालनी र सिध्याउने आँट हुन्थ्यो ।

विद्यालय जाँदै विवाहित वा त्यसको लगत्तै विवाहित भएका आजका पाका मान्छे आफ्ना छोराछोरी जन्मिसकेपछि पनि बाआमाको अगाडि जोडासँग बोल्न धक मान्थे । ससुराली वा माईत जाँदाबाहेक ‘लाजमर्दो वा अचम्मको चर्तिकला’मा दरिन जोडी घुमघाम र भ्रमण गर्न त कोही रोज्दैनथे । बढि समय काम गरेर हुन्छ कि, चाकरीमा हाकिमलाई कोसेलीपात लगेर हुन्छ आयआर्जनमा लागिरहे । जेहोस् सुखदुख गरेर जहान परिवारलाई सघाए, आफूले भए हुन्थ्यो भनी चिताएका र नपाएका धेरै कुरा पुरा गरेर सन्तान हुर्काए, शिक्षादीक्षा दिलाए ।

अहिले अम्मलअम्मलमा झगडा गर्ने स्थिति छ, उतिखेर विकास गर्न आफ्ना उव्जाउ खेतबारी दिएर बाटोघाटो, विद्यालय, पाटीपौवा र भेलाको लागि चौतारो, गौचरन छुट्ट्याउने अहिलेका पाका मान्छे नै हुन् । पाका मान्छेको विविध त्यागबिना आजका वयस्कका जीउडाल बनेको होइन, न घरसंसार रमण्ीाय भएको हो, न समाज यति विकसित भएको हो, न श्रीसम्पति जोडिएको हो, यत्ति बुझ्दा हुन्छ । यस्तो सहज र सुखपूणर् घरको स्थिति बनाएका तर अहिले सेवानिवृत्त र कोही शारीरिक कमजोरी भएका आफ्ना बाआमा- पाका मान्छेलाई हामीले आदरयुक्त व्यवहार गरिरहेका छौँ त ? वयस्कहरूले व्यक्तिगत मृगतृष्णामा दौडिँदै गर्दा पाका मान्छेका भोगाईबारे गम्भीरतापूर्वक समीक्षा गर्नु पर्दैन भन्या ?

के के गर्ने त ?
समाजको गति र आफ्नो प्रगतिलाई कम बिघ्नबाधासहित पुरा गर्न चाहने सबैले पाका मान्छेका कुरा मान्ने, सुन्ने र आदर गर्न अग्रसर हुनु राम्रो हुन्छ । ‘उहिलेका कुरा खुइले, जुगजमाना कहाँ पुग्यो उही पुराना कुरा, हाम्रा बाआमाका गनगन’ भनेर अनुभवसिद्ध आफन्तका सुरक्षित उपायहरू लत्याउने कोसिस नगरौँ । पाका मान्छेले बिलौना गर्दै ‘बसेर बोले सुन्दैनन् उठेर बोले हावाले लैजान्छ’ भन्ने पारे घाटा त आखिर वयस्क र अटेर्नेलाई नै हुन्छ । उहाँहरू त ‘डाँडाका जुन’ होइन र भन्या ? पूर्वबाट उदाएको माने झलमल्ल रात, पश्चिमतिरको माने एकै क्षणमा अलप, अनि अँध्यारो !

भनेको मान्नुहोस्ः
पाका मान्छे अथवा आफ्ना बाआमा, हजुरबाआमाले भनेको र ईच्छाअनुसार गर्नु वयस्कहरूको परम कर्तव्य नै हो । पाका मान्छेको कुरा मानेर काम गर्दा तपाईंलाई फाईदाबाहेक बेफाइदा हुँदैहुन्न । वयस्कहरूमा उमेरजन्य उत्साह होला नौला कुरा गर्ने, गर्नुहोस्, तर एकपटक पाका मान्छेको सल्लाह लिनुहोस् । उहाँहरूलाई तत्विषयको पूणर्ज्ञान नभए पनि कुनै अठोटेको काम कसरी गर्ने भन्ने जुक्ति अवस्य हुन्छ । हरेक युगमा हरेक पल नयाँनयाँ काम भएका छन्, कोही परम्परामै टाँसिएका थिए, कोही नयाँ प्रयोग गर्न उत्साहित पनि भए । ति सबैको साक्षी तपाईंका घरमा नै रहेका पाका मान्छे हुनुहुन्छ । उहाँहरू आफैँले नगरे पनि ति अनुभवका आधारमा तपाईंलाई किञ्चित मर्का नपर्ने उपाय सुझाउन सक्नुहुन्छ ।

बाहिरफेर अझै काम गर्न पाका मान्छे जानुहुन्छ भने त उहाँको काममा सघाउ पुग्ने वातावरण मिलाई दिए तपाईंहरू सबैलाई फाइदा पुग्नेछ । सेवा निवृत्त भएर घरकै काममा उहाँहरू व्यस्त हुनुहुन्छ भने कामको सहयोग त हुने नै भयो । तपाईंहरू सहयोगी भइदिए त एक मेलो काम सक्नलाई सजिलो नै हुन्छ । खानपान, लुगाफाटो, घरव्यवस्थापन, स्वास्थ्य विचार, वातावरण र मौसमबारे पनि उहाँहरूको भोगाईजन्य सल्लाह तपाईंको दैनिकीमा फलदायी बन्नसक्छ । अनुभवजन्य सुरक्षित कामको थालनी र समापनमा पाका मान्छे जति भरपर्दा अरू हुँदैनन् भने लेनदेनमा व्यवहार कुशल त हुन्छन नै । विचार गर्नोस् छ दशकभन्दा बढि अनुभवले खारिएको ज्यानले आफ्नै सन्तान र आफन्तलाई साँचो कुराबाहेक अरू त भन्न नै सक्तैन नि । के तपाईंले आफ्नो वयस्क उमेरमा पाका मान्छेका छ दशक जोडेर काम गर्नु भयो भने साँच्चिकै सहिबाटो पहिल्याउन कमी होला र ? बाहिरफेर निस्कँदा उचित लुगाफाटो र किनमेलका लागि पर्याप्त रकम भए नभएको दुईपटक जाँचीमात्र निस्कने, आकाश हेरेर छाता बोक्ने नबोक्ने थाहा पाउने पाका मान्छे, बुद्धि नभएका होइनन् सामाजिक ईज्जतका विवेकी प्राणी हुन् ।

खबरदारः
पाका मान्छेको लालनपालनबाट हुर्किएको आफ्नो उमेर, जोश, जाँगर र उहाँहरूकै भरथेगमा आर्जित तपाईंको योग्यता हो । त्यो गुनको बदला उहाँहरूकै कुरा नमान्ने, घमण्ड देखाउने र अनुभवका खात भएका पाका मान्छेका अस्तित्वलाई नकार्ने कुबुद्धि नगर्नोस् । यसले तपाईंलाई हद दर्जा दिए ‘टुप्पामा पलाको, फेद हराको’ भन्ने उपनामले विभूषित गर्न सक्छ । त्यसो भए तपाईंको अगाडि मौजुदा परिस्थितिले गर्दा कोही कसैले ज्युज्यु गरे पनि तपाईं ओझेल पर्नासाथ सामाजिक रूपले उठ्न नसक्ने गरी कुरा काट्नेको पङ्क्ति पाउनु हुनेछ । तपाईंले आफ्ना घरका र बाहिरका पाका मान्छेका कुरालाई सादर मान्नुभएको भए अप्ठ्यारो नपर्ला । नत्र रहँदा बस्दा तपाईंकै सन्तानले तपाईंको व्यवहारले त्यही उल्टोउल्टो सिकेर उछित्तो काटन के बेर ? ‘उठिउठि पिसाब फेर्नेका सन्तान घुमिघुमी फेर्छन्’ भनेझैँ अहिले प्रश्न उठाउन आँट गर्ने सन्तानले भोलि सामथ्र्यवान् भएपछि तपाईंका कुरा सुन्लान् कि घरबाटै लखेट्लान् ? विचार गर्नोस्, स्वतन्त्रताको गन्धे सिको गरी तपाईंको आदेशलाई लत्याएर मन खुसी ‘मिठो नमिठो, राम्रो नराम्रो र मलाई यहि नै चाहिन्छ’ भन्ने स्वभाव पारिसक्नु भएको छ अबोध शिशुहरूमा । त्यसो भएको अवस्थामा तपाईले ज्यादा कडाई गर्न खोज्दा ‘तपाईंहरूलाई यस्तो भन्छन्, हजुरबाआमालाई यसो गर्‍या रे हो ?’ भनी सुनाउँदा तपाईंको भविष्य कति सुरक्षित देख्नुहुन्छ ? तपाईंका बालबच्चाले ‘तपाईंको सिको गरी हामी त्यसै गर्छौँ !’ भन्ने सन्देश हो त्यो जिज्ञासा । खबरर्दार ! मानव सभ्यताको असल परम्परा भाँच्ने ल्याकत र अधिकार तपाईंसँग छैन, त्यसैले तपाईंका सन्तानलाई त्यो दुव्र्यसनमा लगाउन पनि पाउनुहुन्न ।

समाधानः
सुरक्षित भविष्य र आफ्नै पाको उमेरका लागि पनि तपाईं आफ्ना घरमा पाका मान्छेका कुरा मान्ने र ध्यान दिने परम्परा बसाली हाल्नोस् । हरेक घरायसी र बाहिरका काममा भद्र तरिकाले कुरा राखेर पाका मान्छेको सहमति लिनुहोस्, त्यसैलाई नै सबैले ‘भनेको मानेको’ भन्छन् । सहमतिका कुरा ‘बाआमा वा हजुरबाआमाले पनि हुन्छ भन्नुभएको’ भनी आफ्नो उमेर समूह र तलकालाई सम्प्रेषित गर्नुहोस् । त्यो घरायसी व्यवहारले तपाईंको घरमा ‘तीक्ष्ण मूल्याङ्कन गरी खबरदारी गर्ने, समग्रको हितअहित बिचार्ने अभिभावक हुनुहुन्छ र हामी त्यसैले ढुक्क हुनसक्छौँ’ भन्ने ढाडसयुक्त अनुशासन कायम हुन्छ । मानीदिने र भने अनुसार गर्ने आज्ञाकारिताको संस्कार त भोलि आफू पाको मान्छेमा दरिँदा फिर्ता हुने सम्पती पो हो त । त्यो तरिकाले तपाईं पुस्ताको भविष्य पनि सुरक्षित रहला, त्यसपछिका सन्तानमा गुण सर्दै जाला र मानव समाज सुसंस्कृत रहला ! भनेपछि अहिले तपाईंले गरेको व्यवहारले तपाईंको नातिनातिना पुस्तासम्म राम्रो गर्दै हुनुहुन्छ है, गर्व गर्नुहोस् ठिक गर्दैछु भनेर !

भनेको सुन्नुहोस्ः
पाका मान्छेका कुरा सुन्नु पर्दछ, त्यो त सयौँ फूल चहारेर माहुरीले थोपाथोपा पराग जम्मा गरेर बनाएको महजस्तो हो । हरेक मानिसले लामो जीवनकालमा सिकेका कुरामा भोगेका अनुभवबाट विचार बनाएको हुन्छ । पाका मान्छेका कुरा समाज विकास र उन्नतिका लागि त्यस्तै पोषिलो उपहार हो । तपाईं आफूले श्रम नै नगरी केवल नम्रताले पाउने बहुमूल्य मानव सम्पती हो । ‘अनुभवको ईज्जत हुन्छ, पाका मान्छेलाई उमेरकै कारणले पनि मान्दछन् र थाहा पाइसकेको कुरामा आफन्तले दुख नपाउन्’ भनेर पाका मान्छे कुरा गर्न रुचाउँछन् । उहाँहरूले सम्झाएका अथवा दिएका अर्तिउपदेश सुन्नुहोस् नबुझे बरु सप्रसङ्ग व्याख्या सोध्नुहोस् । तपाईंले चाख लिएकोमा ‘मलाई मान्छन् र म अझै काम लाग्ने छु भन्ने गर्वले मक्ख परेर’ उहाँहरू अझ रौसेर विविध चर्चा गर्नु हुनेछ, सैयौँ आफन्त र अरूको उदाहरण दिनुहुनेछ । तपाइँलाई प्रष्ट हुन झन सजिलो हुनेछ ।

हाम्रो नेपाली समाज विकासक्रम बुझ्न पनि उहाँहरूको अनुभव लाभकारी हुन्छ । पहिलेका रितीरिवाज, आर्थिक, सामाजिक अवस्था, राजनीतिक प्रणालीलाई प्रत्यक्ष भोगेका उहाँहरूबाट आफ्नो ईच्छा र योग्यताअनुसार लप्पनछप्पन नगरी जीवन्त कुरा सुन्न पाइन्छ । खास विषयका ज्ञाता वा विज्ञ पाका मान्छेबाट त ज्ञान विज्ञानको विकासक्रम बुझ्न भन सजिलो हुन्छ । सामाजिक, राजनीतिक विषय र इतिहासका किताब त कसले कसको लागि लेखाएको त्यसरी नै लेखिन्छ नि, कैयौँ कुरा त्यस्तै स्वार्थले ओझेलमा परेका हुन्छन् । रैतीको तहमा भोगाईको निष्कलङ्कता त तपाईंका पाका मान्छेले मात्र भन्नु हुनेछ । यतिखेर उहाँलाई कुनै लोभ र डरले सत्य बोल्न पछि हटाउँदैन । विगतको सजीव चित्रणमा रमाउन चाहनुहुन्छ र आफैँ जानकार हुन चाहनुहुन्छ भने पाका मान्छेका कुरा सुन्नु परेन त ? तपाईंहरूले ऐतिहासिक ज्ञान पाउने उहाँहरू आफ्ना कुरा सुनिदिएकोमा मक्ख पर्ने, दोब्वर फाइदा भएन त ? त्यस्तो पारिवारिक वातावरणले तपाईंका पाका मान्छे हौसिएर ‘सर्वाङ्ग रौँ फूलेका भीष्म पनि आफ्ना मान्छेका लागि हस्तिनापुरको लडाइँमा गएझैँ’ हरेक काममा कति सहयोगी हुनुहुन्छ ? हेर्दै जानोस् ।

खबरदारः
पाका मान्छेहरू ‘गनगने, किचकिचे, मुख चिलाएर बोल्ने’ होइनन् बरु आफन्तले आफैँले भोगेको गल्तीमा नपरोस् भनी केही हुनासाथ बोल्ने हुन् । पाका मान्छेका कुरा सुन्नासाथ अडिने, सुन्ने र आवश्यक परे नबुझे सोध्ने हो, हजामको छुराजस्तो जिब्रो बनाउने होइन । पाका मान्छेको आफ्नै लय र तालमा मनका कुरा भन्नुहुन्छ, त्यस्तै कुरा दोहोर्‍याएर कम उमेरकाले भन्दा खिसी गरेको हुन्छ । बारम्बार अथक प्रयासस्वरूप भनिरहने बानी नराम्रो होइन पाका मान्छेको, त्यो त भनेको सुनेर गर्‍यो कि गरेन भनेर जाँच गरेको हो । तपाईं त्यस्ता जाँचमा फेल हुन पाउनुहुन्न आफ्नै र आफ्ना सन्तानको हितका लागि !

विचार गरौँ, पाका मान्छे त सादर ज्ञान दिने भकारी हुन, तपाईंका कुरा र व्यवहारले भकारी प्वाल नपरोस्, खाली भाँडोजस्तो अवाक् नहोस् । त्यसैले पाका मान्छेका कुरा सुनेर अझ बढी उन्नति र प्रगतिमा अघि बढने कि ‘डिँगो नपरी चेत्दैन’ भन्ने उखानझैँ आफैँ खाल्डामा परेर अनुभव गर्ने ? बढी मिहेनत बिना सजिलो र सरल उपाय छोडी किन अबाटो लाग्ने ? किन भरोसायोग्य र शुभचिन्तकको चित्त रुवाउने र आफू पनि घाटामा पर्ने ? त्यस्तो गरेर एकबारको जिन्दगीमा आफू पाको हुँदा तपाईं पश्चातापको आहलमा पर्न नखोज्नोस् है । फेरि चलेको उखान ‘अघि जानिन, पछि मानिन, बाघ लाग्यो घिच्याउन, म लागेँ चिच्याउन’ भनी पाको उमेरमा बलिन्द्रधारा जोरीपारीलाई देखाउनु पर्ला ?

समाधानः
स्वतस्फूर्त भनेको सुन्नु त छँदैछ, त्यस्तो बाहेक आफूलाई दोधारपरेका सबै कुरामा पाका मान्छेका कुरा सुन्नुहोस् । तपाईंलाई भनिएको सामान्य सल्लाहले पनि कुहिराको बस्तीमा पूणर्चन्द्रको आभास हुनेछ । पाका मान्छेका अनुभवसिद्ध उपायले बादल फाटेर झलमल्ल घामले जाडो दिनमा सुम्सुम्याएको अनुभव हुनेछ । पाका मान्छेका भनाईमा मुख फर्काउने होइन सादर उत्सुकता लिने हो, तपाईंको कैयौँ समस्या सहजै हल हुन्छन् । भनेको नसुनेझैँ गर्दानै अझै मान्छन् कि, आफ्नै सन्तान हुन बेमाख हुन त दिनुभएन भन्ने मायाले कुरा दोहोर्‍याएको हो । सुनेर मान गर्न सक्नुहुन्न भने हियाउने, बेवास्ता गर्ने, सुनेको नसुनेझैँ गरेर अवज्ञा र अपमान त नगर्नोस् न ! तपाईंलाई उहाँहरूको नरम र विवेकी कुरा सुन्दा केही नोक्सान छैन है । एकातिर घरका सबैमा सम्मानित भएर सौहार्दता बढने अर्कोतिर पाका मान्छेको गुनासो र पिलपिलाहटको ठाउँमा स्नेह वर्षा भइरहने छ ! अब तपाईंलाई सुख र आनन्द खोज्न कतै जानु पर्ला त ?

अन्त्यमा,
पाका मान्छेहरू आदर भावना, गम्भीरता र सदभाव रुचाउनु हुन्छ, अनावश्यक स्वाङ, देखावा र घमण्ड मन पराउनुहुन्न । अरू उमेर समूहमा जस्तो खर्चालु हुनुहुन्न पाका मान्छे, हरेक कुरा जाँची परखगरी अनुभवका आधारमा सुपथमा किन्न खोज्नु हुन्छ । सानो सहयोग र थोरै कुरामा नै साह्रै चित्त बुझाउने र सन्तोष हुने बानी उहाँहरूको हुन्छ । ‘साँच्नी लुगा नि छैन, लुकाउने कुरा नि छैन’ भनेझैँ तपाईंका पाका मान्छे थोरै जोर लुगामा चित्त बुझाउन सक्नुहुन्छ । मनमा लागेको कुरा निर्धक्क भन्ने नै उहाँको स्पष्टवादिता हो । उमेरकै कारण जेपायो त्यहि खान र जतिसकेको धेरै खान पनि खोज्नुहुन्न, बरु अझै धेरै वर्ष परिवारको रेखदेख गर्न के खाए त्यो उमेरमा फाइदा हुन्छ, भन्नसक्नु हुन्छ । दशकौँदेखि आफ्ना बाबुआमा र सन्तानको हेरविचारमा वयस्क जीवन कटाएका उहाँहरू सबैलाई पुगे नपुगेको अझै पनि ख्याल राख्दै आफ्नो भागमा बढिराखेको जस्तो भए अरूलाई दिइहाल्न मनपराउनु हुन्छ । मन मिल्ने र निकै नजिकका आफन्त भेट्दा मज्जाले कुरा नलुकाई गफ्फिन सक्नुहुन्छ, ढाँटन र देखाउने ठस्सा गर्न जान्नु हुँदैहुँदैन ।

तपाईं आफ्नो काम जस्तो ज्ञान र क्षमता छ, जसरी गर्न मन लाग्छ गर्नोस्, एक बचन आफ्ना अभिभावकलाई जानकारी दिनोस् । गर्नत आफैँले गर्ने हो तर ‘यसो गर्न लागेको भनेर छ्यानविछ्यान के होला ?’ भनि सोधिदिनोस् । उहाँहरूले केहि भने सल्लाह दिए मानिदिनोस् । उहाँहरूलाई पनि हिँडडुल कम भएकाले र परिवारमा उमेरिएको अनुभवीमा पर्ने हुनाले आफ्नै परिवारसँग बोल्न मन लाग्छ, सिकाई सधाई गर्न मन लाग्छ, भनेको कुरा सुनिदिने गर्नोस् । त्यस्तो अवसर पाउँदा उहाँहरूलाई ‘पाथी भात खाएको’ सन्तुष्टी हुन्छ र उमेरिंदा हुने रोगले गाँज्न नि पाउँदैन । पाका मान्छे फारुतिनु गर्न सिपालु हुन्छन् । साना र मसिना कुरा पनि जोगाउन, अजगमा राखनधरन गर्न र चाहिँदा थोरैले पुर्‍याउन जान्दछन् । होस् पुर्‍याएर काम गर्ने बानी परेकाले वंशानुगत वा स्थायी रोग पनि नहुनसक्छ । त्यसैले उहाँहरूले सन्तोष गर्ने वातावरण भए नलागेका रोग थपिँदैनन् र सरुवा रोग पनि उहाँहरूको चोखिनीतिले नलाग्न सक्छ ।

हँसखुस पाका मान्छेका कारण परिवारलाई मानसिकमात्र होइन सामान्यबाहेक थप आर्थिक भार पनि पर्दैन । बरु तपाईंहरूका असल र सादर व्यवहारले पुलकित भई ‘भनेको मान्छन्, हाम्रा कुरा सुन्ने छोराबुहारी छन् नातिनातिना त्यस्तै’ भनेर मौका पर्नासाथ बखान गरेको सुनिन्छ । अनि उहाँहरूले ईष्टमित्र र आफन्त भेटघाटमा तपाईंहरूको प्रशंसामा कति गीत गाउनु हुन्छ, भनेर के साध्ये ? के तपाईंलाई यस्तो सामाजिक ईज्जत मन पर्दैन र ? त्यसो हुँदा पो ‘जस्तो बाउ उस्तै छोरो, जस्तो सासू उस्तै बुहारी, कस्तो कुलघरानका’ भन्ने आशिर्वचन सबैतिरबाट ओइरिन्छ नि । तपाईंहरूका सम्पूर्ण मिहेनत अभिभावकको निकानन्द दिनहरू र आफ्नो चिन्तारहित सरल जीवनका लागि होइन र ? जीवनका उत्तरार्धमा पुगेका परिवारका अभिभावकले पाका मान्छेको जमघटमा ‘फलानाका छोराबुहारी कुलङ्घार नै रैछन्’ भनेको सुन्नै पर्दैन । क्या हाइसञ्चो ! आफ्नो ईज्जत र प्रतिष्ठा सामान्य व्यवहारबाट नै सुपथमा आर्जन हुने, पहिले कुबाटो लागेर छुटाएको भए अब नबिर्सी चाँजो मिलाउँदै अघि बढौँ है !

०००
२०७९ साउन ५, २०२२ जुलाई २१

फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
मानिला मानिसमा घुँडा र कम्मर समस्या !

मानिला मानिसमा घुँडा र...

डा. मुकेशकुमार चालिसे
जाडोमा पाका मान्छेलाई समस्या !

जाडोमा पाका मान्छेलाई समस्या...

डा. मुकेशकुमार चालिसे
मानिला मान्छे खुसी हुने तरिका !

मानिला मान्छे खुसी हुने...

डा. मुकेशकुमार चालिसे
जाडोमा पाका मान्छेलाई समस्या !

जाडोमा पाका मान्छेलाई समस्या...

डा. मुकेशकुमार चालिसे
पाका मान्छे, दुर्व्यवहार र चुनाव !

पाका मान्छे, दुर्व्यवहार र...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेलाई निम्ता गर्दा होस् गरौँ !

पाका मान्छेलाई निम्ता गर्दा...

डा. मुकेशकुमार चालिसे
ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिक

गङ्गाप्रसाद अधिकारी
मानिला मानिसमा घुँडा र कम्मर समस्या !

मानिला मानिसमा घुँडा र...

डा. मुकेशकुमार चालिसे
जाडोमा पाका मान्छेलाई समस्या !

जाडोमा पाका मान्छेलाई समस्या...

डा. मुकेशकुमार चालिसे
घाँडो बूढो

घाँडो बूढो

राजेन्द्र कार्की
मानिला मान्छे खुसी हुने तरिका !

मानिला मान्छे खुसी हुने...

डा. मुकेशकुमार चालिसे