सुलसुलेभीमविराग प्रतिष्ठानद्वारा विविध व्यक्तिहरू सम्मानित
रू. १५ हजार राशीको चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार २०७९ बाट लघुकथा, सुसेली साहित्य, हास्यव्यङ्ग्य, ऐतिहासिक लगायत विषयको लेखनमा ५ दशकदेखि विशेष योगदान पुर्याउनु भएका वासुदेव गुरागाईँलाई सम्मानित गरिएको छ ।

हेटौंडा, २०७९, पौष ९ । भीमविराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालद्वारा साहित्यिक तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउनु भएका विविध व्यक्तित्वहरू प्रादेशिक पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
रू. १५ हजार राशीको चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार २०७९ बाट लघुकथा, सुसेली साहित्य, हास्यव्यङ्ग्य, ऐतिहासिक लगायत विषयको लेखनमा ५ दशकदेखि विशेष योगदान पुर्याउनु भएका वासुदेव गुरागाईँलाई सम्मानित गरिएको छ ।
रू.१० हजार राशीको तुलसीमाया-शिवकुमारी स्मृति सृजनशील नारी पुरस्कार २०७९ बाट कविता, गजल, लघुकथा लेखन र संस्थागत संलग्नताको माध्यमबाट मकवानपुरे साहित्यको श्रीवृद्धिमा विशेष योगदान पुर्याउनु भएकोमा आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटा सम्मानित हुनु भएको छ ।
रू.७ हजार ५ सय राशीको भीम-मथुरा बाल प्रतिभा पुरस्कार २०७९ कला, साहित्य, सङ्गीत तथा वक्तृत्वकलाको माध्यमबाट समाज रुपान्तरणमा विशेष योगदान दिनु भएकोले नवसर्जक सुविज्ञा सुवेदीलाई सम्मान गरिएको छ । सुवेदी बालजागृति बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत छात्रा हुनुहुन्छ ।
रू. १० हजार राशीको मङ्गलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य सेवा पुरस्कार २०७९ स्वास्थ्यकर्मी बेला वैद्यलाई, १० हजार राशीको अजित सेन गुप्ता स्मृति भिन्न क्षमता प्रतिभा पुरस्कार २०७९ बालज्योति माविमा दृष्टिविहिन विद्यार्थीलाई अध्यापन गराउँदै आउनु भएका दृष्टिविहिन शिक्षक विदुर अधिकारीलाई समर्पण गरिएको छ । यस्तै २० हजार राशीको विजय बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार २०७९ बाट गायक रविनकुमार चेपाङ सम्मानित हुनु भएको छ । उहाँ मकवानपुरका पहिलो चेपाङ गायक हुनुहुन्छ ।
वरिष्ठ कला साधक, कवि एवम् गीतका भीम विरागको बहुआयामिक व्यक्तित्वप्रति सम्मानस्वरुप साहित्य र कला क्षेत्रको संरक्षण एवम् संवद्र्धन गर्ने उद्देश्यले वि.सं. २०५९ मा यस संस्थाको स्थापना भएको हो ।
प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्यको सभाध्यक्षता, साहित्य सर्जक तुल्सी थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम रोयल पार्टी प्यालेसमा सम्पन्न भएको हो ।
प्रतिष्ठानले स्थापना कालदेखि हालसम्म साहित्य, संगीत, सांस्कृतिक र कलाका क्षेत्रमा १२ पुरस्कारको व्यवस्थापन गर्दै आइरहेको छ । यस्तै यस वर्ष २०७९ का लागि १ लाख राशीको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार ४ सयभन्दा बढी गीतमा स्वर दिनु भएका नेपालका वरिष्ठ गायक, सङ्गीतकार, लेखक तथा निर्देशक डा.किरण प्रधानलाई समर्पण गरिने समेत पत्रकार सम्मेलनमार्फत् जानाकारी दिइएको छ । सो कार्यक्रम मोटेल एभोकाडोमा आउँदो माघ १५ गते विशेष साङ्गितिक कार्यक्रमका साथ गरिने संस्थाका अध्यक्ष हयग्रीव आचार्यले बताउनु भयो ।
प्रतिष्ठानका उपाध्यक्ष विष्णुगोपाल महर्जन, सहयोगी मुक्तिगोविन्द वैद्य, सांसद लक्ष्मीदेवी श्रेष्ठ, नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्य, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, महाकाव्यकार मुना अर्याल, संगीतकार प्रमेन्द्र महर्जन लगायत साहित्य, कला, संगीत, पत्रकारिता, सामाजिक तथा राजनीतिक संघसंस्थामा सम्बन्धित लगायतका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको सो कार्यक्रम प्रतिष्ठानका महासचिव केशवलाल श्रेष्ठले सहजीकरण गर्नु भएको हो ।
०००
– संप्रस पौडेल, हेटौडा
Subscribe
Login
0 Comments
Oldest












































