सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बाबुसाहेबको लभ

उनले पनि च्वाम्म एक फेरा मेरो निधार चुमिन् । उनले चुमेकी मात्र के थिइन् मीठो सपनाबाट म झल्यास्स बिउँझें । हेर्छु त घरैकी काली बिराली म्याउँ गर्दै लुसुक्क झ्यालतिर लागी ।

Nepal Telecom ad

‘लभ’ माने प्रेम, ‘लभर’ माने प्रेमी ।

ठूलो वणर्मालाका कपुरी ‘क’ देखि नाकथोप्ली ‘ड’ सम्म नखारिसक्तै अङ्ग्रेजीका यी दुई शब्द मलाई कण्ठाग्र आउँथे । नआऊन् पनि कसरी ? सुरुवाल लाउन जान्नुभन्दा पहिले लभ गर्न जान्ने प्रतिभाशाली केटाहरूमध्ये म पनि एक हुँ । तपाईंहरूलाई थाहै होला, धर्म गर्ने मान्छेले धर्मशास्त्रका दुई-चारओटा शब्द जस्तै भए पनि कण्ठ पारेकै हुन्छ भने लभ गर्ने मान्छेलाई लभशास्त्रको अलिअलि शब्द कण्ठ हुन कुन नौलो कुरा भयो र ?

अहिले पुङमाङकाजी भइयो र पो, आखिर दरसन्तान त म जरसाहेबकै हुँ । उस बेलाका जरसाहेबहरूको सानसौकत कसले बयान गरिदेओस् ? आमाले पेट बोकेदेखि ‘रानीसाहेबले बाबूसाहेब पाइस्सिन्छ कि मैयाँसाहेब पाइस्सिन्छ’ भन्ने दरबारभरि चर्चाको विषय हुन्थ्यो तैपनि बहुमत बाबूसाहेबकै पक्षमा जान्थ्यो । किनभने बाबूसाहेब जन्मिस्यो भने छैटीको दिन भावीले भाग्य लेख्न नपाउँदै जरसाहेबको दर्जा पाइस्सिन्थ्यो । यसैले म पनि आमाको पेटैमा बाबूसाहेब भएर जन्मेको हुँ । त्यसकारण मैले मुझको दूध खान हुँदैनथ्यो- खाए इज्जत जान्थ्यो । हामीले दूध खान ‘धाईआमा’ रहन्थे दूध खुवाउने दुःखले ‘धाईआमा’ रहेजस्तै पाउने दुःखले धेरै इज्जतदारले ‘पाईआमा’ पनि राख्थे- त्यो झन् महाइज्जतको कुरा थियो ।

अँ, मैले यहाँ साउती गर्न खोजेको कुरा के भने मलाई दूध चुसाउने धाईआमा नै दरबारभरि लभशास्त्र सिकाउने गुरुमा थिइन् । पहिले उनले मेरै बुबालाई आफैं प्रेमिका भएर लभ गर्न सिकाएकी रे । त्यसपछि उनलाई लभ गर्नेमा हाम्रा कान्छा बुबा, कान्छा बुबापछि ठूल्दाज्यू, ठूल्दाज्यूपछि पूजाकोठेबाजे, त्यसपछि बैठके माइलो, त्यसपछि मोतीलाल द्वारे र आखिरमा भोट्चा डोले उनैको सिको गरेर हाम्री दिज्यू पनि पर्सादी पण्डितसित लभ गरिस्सिन्थ्यो ।

राताराता गाला भएको पुड्कोको १८-१९ को पर्सादी पण्डित जब बिहान- बिहान पशुपति र गुह्यकालीको जल-प्रसाद बाँड्दै आउथ्यो हाम्री दिज्यू मसक्क मस्केर पर्साद लाइस्सिन्थ्यो र करक्क आँखा घुमाएर पण्डितको देउरे हातमा एउटा तिनन्नी थमाइदिस्सिन्थ्यो । सातहाते लिष्टो धोतीले छोप्न नभ्याएका खस्रा तिघ्रालाई औल्याउँदै कहिले मसँग सुटुक्क भनिस्सिन्थ्यो- ‘हेर पण्डितजीका तिघ्रा !’

हामी दिज्यूले धेरै नपढेर के गर्नु ‘मदनलहरी’, ‘वयासी गजल’, ‘सूक्तिसिन्धु’ र ‘मैतालु छोरीको कथा’ उहाँलाई कण्ठस्थै थियो त्यसैले लभका कुरा गर्न त कसले सक्थ्यो र ? तर बिचरो पर्सादी पण्डित अक्क न बक्क ! आज आयो ‘ननन’ गर्‍यो पर्साद लायो गयो, भोलि आयो ‘ममम’ गर्‍यो, पर्साद टक्य्रायो गयो । दिज्यूले जतिसुकै नक्कल झक्कल र अक्कल गरे पनि ऊ मुन्टो उठाउन सक्ने होइन । केही गर्दा पनि पर्सादी पण्डितलाई पगाल्न नसकेपछि हामी दिज्युले लभ गर्न थालिस्सेको थियो- पानीपाँडेसँग । हुन त उसको पूरा नाम मार्कण्डेयबहादुर पाण्डे छेत्री हो रे तर खलङ्गामा पानी ओसार्ने काम गर्ने हुँदा उसलाई सबै भन्थे- पानीपाँडे उसको अर्को गुण थियो झारफुक गर्ने । कसैलाई बौसी झार्नुपथ्यो, कसैलाई उल्टा स्वाउनुपर्‍यो, कसैलाई देवता पन्छाउनुपन्यों इत्यादि सारा कुरामा निमन्त्रित हुन्थ्यो उही पानीपाँडे । त्यसैले पानीपाँडेसित लभ परेको ताका हाम्री दिज्यूलाई पनि अकस्मात् छोप्ने व्यथा लाग्थ्यो । हेदहिर्दै तन्द्रङ्ग लडिस्सिन्थ्यो र इन्तु न चिन्तु जस्तो देखिस्सिन्थ्यो अनि पाँडेलाई नबोलाई सुखै थिएन । जब पाँडे आएर गाला मुसारिदिन्थ्यो अनि पिलिक्क आँखा पल्टाएर दिज्यू मर्जी हुन्थ्यो- ‘पानी’ धेरै वयान यहाँ किन गरिरहनु हगि ? लहरो तान्दा पहरो गर्जेला भन्ने डर !

अब तपाईं नै भन्नोस्, यो वातावरणमा हुर्केको म एउटा सद्ये लोग्ने कैटोको दिलमा लभको धोको के सानु थियो होला त ? तर के गर्नु ? लभ गर्न पनि पूर्वजन्मको कमाइ नभई नहुने रहेछ जुन बेलासम्म जरसाहेबी थियो, त्यस बेलासम्म आफू थिइयो गान्टेमूलाजत्रो छौंड़ो, खालि कहिले दिज्यूका चिठी भिनाज्यूकहाँ लगिदियो, कहिले दाज्यूको चिठी भाउज्यूकहाँ, आफूलाई पत्याउने कसले र जब कुरकुरे वैसले खोलाखोला जस्तो भएथ्यो, सानसौकत- रोवरवाफ इतिश्री ।

००७ सालपछि राजनीतिक अधिकार मात्र खुलेको होइन, लभ गर्ने अधिकार पनि सर्वत्र खुल्यो त्यसमाथि बराबर बढ्दै गइरहेका सिनेमाभवनहरूले ठिटाठिटीहरूमा लभको प्रयोगात्मक तालिम दिन थाले । दरबारिया होस् कि घरबारिया, केटाकेटी पुतली खेल्दासमेत लभगराइ खेल्न थाले भने दुनिया नै लभमय भएन त ? ब्यारे, दुनियाँ नै लभमय भन्नचाहिँ सकिदैन, किनभने यही दुनियाँको एउटा बाबूसाहेबले अझै लभर पाइसिसकेको थिएन कुरा बुझ्नुभयो कि भएन कुन्ति ? जरसाहेबबाट एक्कासि जनतामा परिणत भएपछि हामीले डेरा लिएका थियौं- सागबजारमा खालि रायोको साग बेच्ने आइमाईदेखि कोही थिएन वरिपरि । तिनैमध्येकी एउटी लुरीचा भन्ने दिदी बिहान-बेलुकै हामीकहाँ रायोको साग लिएर आइपुग्थिन् । पहिले त मेरो बाबूसाहेबी आँखाले त्यतापट्टि वास्तै गरेन, अलिक दिनपछिदेखि भने लाग्न थाल्यो- ‘नहुनु मामाभन्दा कानो मामा निको ।’ यसो भन्दा उनी कानी थिइन् कि ? भन्ने शङ्का गर्नुहोला, आँखा त साबुतै देख्थिन्, बरु कानचाहिँ अलि बाक्लै रहेछन् क्यारे मैले ‘दिल देके देखो, दिल देके देखो’ भनेर चिच्च्याउँदा पनि ‘छु धाय, छु धाय’ भनेर हिँडिदिन्थिन् । उनको कानमा गएर ‘म तिमीलाई लभ गर्छु’ भनी प्रस्टै भन्न कहिल्यै हिम्मत आएन । जब भनूँ भन्यो, मुटु ढुकढुक गथ्र्यो, खुट्टा लगलग, मानौं फिल्मी याक्ट्रेससँग बोल्न लागेजस्तो । बल्लबल्ल एक साँझ, जिजुबाजे जङ्गबहादुरदेखिको आँट बटुलेर मैले उनलाई बाटो छेकिदिएको त डाँको छोडेर घर थर्कुन्जेल कराइदिइन्- ‘या मां ! बाबूसाहेबया जीत…।’ अब भएन के ? वल्लाघर पल्लाघर सारा जम्मा भएर के हँ ?’ भन्न थालिहाले टुडिखेलमा साँढेले गाईलाई लखेट्यो भने त एक जन्ती भद्रभद्रिकाहरू तमासे हुन्छन् भने त्यहाँ त के चाहियो । तर मान्छे म ठूलो धरानको थिएँ र मात्रै, नत्र बेइज्जतै हुने ।

त्यसपछि धेरै दिनसम्म मैले कसैसित पनि लभ गर्न सकिन । ‘अगुल्टोले हान्दा बिच्केको कुकुर बिजुली चम्किंदा पनि तर्सन्छ’ भनेकै जुनसुकै आइमाई देखे पनि त्यस्तै हुन्छ कि भन्ने शङ्काले मलाई सताउन थाल्यो । निकै दिन त म सन्त महाराज नै भएँ भनिदिए हुन्छ तर बालककालदेखि भरिएको लभको तिर्सना किन मथ्र्यो र ? जहिले पनि तुलबुलतुलबुल लागिरहने । सबै लभका गफ लडाउँछन्, आफ्नो भने छैन । कति दिन भित्ताको क्यालेन्डरमा भएकी युवतीलाई हेरी बसें । कति पटक हुँदै नभएकीलाई चिठी लेखें । उसले आफूलाई लेख्ने भाकामा पनि कैयौँ चिठी लेखेर साथीभाइलाई देखाएँ ।

हुन त मलाई थाहा थियो स्कुलकलेजतिर गए त अचेल लभ गर्न पाइहालिन्छ नि । तर फसाद के भने स्कूलकलेज गएपछि अलिअलि पढ्न त परिहाल्यो । पढ्न भनेपछि आफूलाई स्वास्नीको किरिया बसेजत्तिकै गाह्रो लाग्ने । लभको लालसाले गर्दा पढाइको झन्झटमा फैलियो भने मह खान गएको माखोजस्तै हुन के बेर ? त्यसैले स्कुलकलेज जाने आँट पनि आएन । एक विचार थियो, स्कुलमा विद्यार्थी नै भएर जानुपर्ने के छ र जागिर खाएर गए पनि त हुन्छ नि, तर जागिर पो केमा खाने नि मास्टर, प्रोफेसर आफूलाई दिँदैनन्, पाले हुँ भने आफू जरसाहेबको दरसन्तान त्यसैले यो विचार पनि उत्तिखेरै तुहियो ।

तपाईंलाई थाहै छ, म त्यतिखेर साताका सात पटकसम्म सिनेमा हेर्न गर्थें । पहिलेपहिले त खालि हेरिन्थ्यो मात्र, तर जति पछिपछि हुँदैगयो उति उति सिनेमाभित्रको मर्म दिमागमा चढ्दै आयो र आफूलाई पनि एउटा सिनेमाको पात्रजस्तै बनाउने धोकों बढ्न थाल्यो । तर मूल फसाद त उही थियो- पात्री पाउने कहाँ ?

म पनि जुक्तिबुद्धि त जान्ने हुँ । जे भए पनि प्रजातन्त्र नेपालको राजधानीमा हुर्केको भूतपूर्व बाबूसाहेब सिनेमा हेर्न जाँदा पहिले नै टिकटघरमा एक-दुई घण्टा पर्खेर हेरिरहन थालेँ । जब कुनै महिला त्यसमा पनि पाएसम्म एक्ली नक्कलीचाहिँ महिलाले आफ्नो आधुनिक ब्यागबाट रुपिया निकालेर टिकट लिन्थिन् म पनि त्यही श्रेणी र त्यही सडमा उनको भन्दा पछिल्लो नम्बरको टिकट हत्तपत्त किनिहाल्थेँ । आफूले कस्तो चातुर्यपूणर् डिप्लोमेसी चलाएँ भन्ने मेरो फुक्याई त्यतिखेर गएर पानी बन्थ्यो, जब ती महिला भित्र पुगेपछि ठाउँ साटेर बसिदिन्थिन् र आफूतिर कि कुनै बडेमानको थाक्से थेच्चिन आइपुग्थ्यो कि कुनै आफूजस्तै म्यास्कलिन जेन्डर अनि फतक्क मेरो हिम्मत गल्थ्यो, रनक्क रिस उठ्थ्यो । तीन घण्टा सँगै बस्न पाए कसो आकर्षित गर्न नसकुँला भन्ने मेरो आत्मविश्वास थियो । तर एक दिन सँगै परेकी एउटी काँटनी असेले पनि हिंड्ने बेलामा सारीको सप्कोले हानेर ‘हिसी नपरेको मोरो’ भन्दै निस्किदिई अब भएन के है ?

बुबा-मुले बिहा गरिदिने अठोट नगरिबक्सेको त होइन तर मलाई लाग्यो अचेलको युगमा पनि टिनिपुटी झ्याई गरेर चिन्नु न जान्नुकी केटीको लगनगाँठो कसले समातोस् ! फेरि जात मिल्नुपर्‍यो, भात मिल्नुपर्‍यो, घरान-घुरान सबै मिल्नुपथ्र्यो त्यसैले मैले त प्रस्ट भनिदिएको थिएँ मेरो बिहासियाको कुरो गर्नु पर्दैन, म ब्रहमचारी वस्तु ब्रह्मचारी ! ममा मर्जी हुन्थ्यो- “झ्यालमा बसेर सत्रोटीसँग आँखा जुधाउछ स्याल” तर गाईखाने भए सँग आँखा जुधाएकी थिइन । तपाईंलाई भन्न केको लाज, एकपल्ट एउटीसित भने हेराहेरमै निकै लभ भएको हो । चार दिनसम्म लगालग हेराहेर भएपछि मैले उनलाई लेखेको चिठी सुनिहाल्नोस्-

झ्यालवासिनी, मन्दसुहासिनी माइ डार्लिंड !

नयनरूपी कपमा सौन्दर्यरूपी चिया खाँदाखाँदै जादुगरले सर्प लठ्यायझैं तिमीले मलाई मोहनी लगायौ । समाका बीच परवाना जलेझैं म तिम्रो चञ्चले आँखामा जलिरहेछु । कति जालिम छ तिम्रो दिल ! मैले तिम्रो लभालु बाहुलीमा सर्वस्व न्यौछावर गरेको छु- प्लिज डार्लिङ मेरो सच्चा प्यारलाई अझै तिमीले ठुक्रयायौ भने म यही झ्यालमा टाईको पासो लाएर मर्नेछु ! याद राखे- लभ इज ब्लाइन्ड ।

उही प्यारको प्यासो
आँचल सिंह

यो चिठी पुगेपछि दुवैतिरका बुढियाहरूले साँच्चै आगो बाले । उनको र मेरो हुर्किसकेको लभ पनि त्यही आगोमा डढेर खरानी भयो । झ्यालमा आँखा जुधाएको नजुधाएको कुरा यत्ति हो ।

त्यसपछि त आत्महत्या नै गर्ने झोंक चल्यो । एक दिन राति रानीपोखरीमा डुबेर मर्छु भनी गए पनि भित्र पसेर लुगा फुकालें । पाइन्टको खल्तीमा आफैले लेखेका ९६ ओटा लभलेटर रहेछन् तिनलाई देख्ता आँखाबाट बर्र आँसु झर्‍यो, आफ्नै मायाले आफू रन्थनिएँ, अनि च्वाप्प लभलेटरको म्वाइ खाएर फुकालिसकेको लुगा हत्त न पत्त उन्दै उही अलच्छिना कुटीतिर फर्कदै थिएँ, बिनसित्ति पुलिसले समातेर सात दिन भ्यालखानामा कोचिदियो ।

‘तै रिन ते रिन बूढी बाखी किन्’ भनेझैं एक दिन मलाई विचार आयो- त्यही पिँडालु पसल्नीसित लभ गरूँ । हाम्रो टोलकी पिंडालु पसल्नी उमेरले अलि छिप्पिएकी भए तापनि दिलले छिप्पिएकी थिइन । पिंडालु, सखरखण्ड र आलु उसिनेर नाङ्लाभरि राख्थी र आउने जानेलाई मिजास र मुस्कानसाथ सत्कार गर्थी । उसको मिजास र मुस्कान देख्ता उसकहाँ मै हुँ भन्ने भलादमीहरू पनि पिंडालु खान आउँथे । पिंडालु त के मीठो हुन्थ्यो र । उसको मुस्कान मीठो थियो, मिजास मीठो थियो । त्यसैले म पनि दिनको आठ घण्टाभन्दा बढी सोही पसलमा बिताउने गर्न थालें । हुँदाहुँदा पसल्नीको पिंडालु पखाल्ने, आलु उसिन्ने इत्यादि काममा पनि मैले सघाइदिन थालें । उसले पनि मलाई पैसा नतिरीकन पिंडालु र सखरखण्ड खान दिन थाली । हिमचिम र हेलमेलबाट ऊ अब त आफ्नी भइसकी भन्ने निश्चय गरेर एक दिन मैले डराईडराई भनें- “अब त तिम्रो र मेरो बिहा गरे पनि हुने हगि ?” मेरो कुरा सुनेर पिंडालु- पसल्नी अक्क न बक्क परी । पछिल्तिरबाट उसको छोराले मलाई चिम्टाले यस्तरी हिर्काइदियो अझै मेरो गालामा बौसीले डामेझै डामेको खत छँदै छ ।

लभर र लोफर, जोगी र जोकर एकै त हुन् नि ! न जात जाला भन्ने डर ! न इज्जत जाला भन्ने डर । लभको धोको मनमा लागेपछि त्यस्ता लाज, घिन, सर्म भन्ने कुरा त नेता नेतीको नैतिकता जस्तो कता पुग्दा रहेछन् कता ?

चारपासेले जागिर खोजेझैं धुइँधुइँती खोज्दा पनि लभर नपाउँदा मलाई कहिलेकाहीँ यस्तो पनि लाग्न थाल्यो- ‘छातीमा एउटा लभर चाहिएको छ’ भन्ने साइनबोर्ड झुन्डयाएर तीन सहर नेपाल फन्को मारूँ । तर साइनवोर्ड नबनाइसक्तै एउटा कुटुनाले खबर ल्याएछ- अडेगाउतिर भनेजस्ता लभर पाइन्छन् । पत्यार त उत्तिको लागेको होइन, तर ‘ढाँटा निम्तो खाइ पत्याउनु’ भन्ने सम्झेर भोलिपल्टै कुदेँ उतातिर । सन्जोगवश मेरी दिज्युको व्याइतेपट्टि़की नन्दका मितिनीको भदाको घर रहेछ, उही अडेगाउँमा ।

पुसको महिना बिहान आठ बजिसक्ता पनि कुहिरो उघ्रिएको थिएन । म आफू बसेको घरमुनि डिलमा बसेर आफ्नो बेदनाको रन्कोमा एउटा विरहगीत गुनगुनाइरहेको थिएँ । तपाईंलाई चाहे होला, त्यतिखेर म साँच्चै वीर सङ्गीतकार बनिसकेको थिएँ । लभको चक्करमा घुम्दाखेरि जति ठक्कर पाइन्छ उतिउति आधुनिक कविता र सङ्गीतको मूल फुट्छ भन्ने कुरो तपाईंले थाहा नपाएको भए थाहा पाइहाल्नोस् त्यस बेलाका मेरा गीतहरू देख्न पाए तपाईं छक्कै पर्नुहुन्छ- कस्ता रोमान्टिक र विरहात्मक गीत लेख्थें म । अँ, म गुनगुनाउदै थिएँ- एउटी आइमाई अलि परबाट तलतिर ओर्लिन् । नाक मुख त मैले देख्न पाइन, तर उनको कपाल, खास्टी, रातो चट्टी, नीलो फरिया, लचकदार हिंडाइ देख्दा मैले ठम्याएँ एउटी बैसालु केटी मेरो जस्तै विरहावेशमा एक्लै भौतारिरहिछन् । यस्तो देख्दादेख्दै चुप लागेर वस्तु त हात परेको चीज गुमाउनु हो भन्ने सम्झी म पनि लागेँ पछिपछि नजिकै पुगेपछि स्नेहालु स्वरमा मैले सोधें- “यस्तो जाडोमा एक्लै कतातिर हो दिदी ?” मेरो करा सुन्नासाथ मुन्टो फर्काएर उनले पुलुक्क मतिर के हेरिथिन्, मेरो सातोपुत्लो उडिगो । ऊ त रहेछ त्यही गाउँको सुब्बा ! रेसमी लुङ्गी लगाएको, कानसम्म डम्बरकुमारीको खास्टो ओढेको, रातो जनाना स्लिपर लगाएको, पाखातिर हावा खान लागेको सुब्बा आँखा जुध्नासाथ बुद्रुक्क मृग उफ्रेझै उफ्रेको । म आफू बसेको घरमा पनि नगईकन आइपुगें सागबजारमा ।

बेलुका जब आफ्नो ओछ्यानमा पल्टें, नानाथरी तर्कवितर्कहरू चले । म सिनेमालोकमा जन्मेको भए पनि हुन्थ्यो- सिनेमामा साइकिल जुधे पनि दिल जुध्छ । तर यहाँ मैले जुधाउनु मात्रै होइन, एक पटक एउटी युवतीको साइकिलमा ठक्कर ख्वाएर साइकिलको गेडी र घुँडाको गेडी एकै पटक फुकाल्दा पनि लभ हुन सकेन । बरु दुई महिनासम्म आफूले अस्पतालमा कुरीच खानुपर्‍यो । युवतीको दयाभरि दृष्टि पर्छ कि भनेर अलिक दिन रिक्सा चलाउने विचार पनि गरेँ र चलाएँ पनि । तर पहिलै दिन रिक्सामा बसेकी युवतीले ‘बढ्ता कुरा गर्ने’ बात लगाएर मूलसडकमै चप्पल चखाइदिइन् । माझनिधारमा लभको निसानास्वरूप फुलौराजत्रो टुटिल्को उठ्यो ।

यस्तै दुई-चार पटक रातिराति टुँडिखेल नडुलेको पनि होइन, दुई-चार पटक रात बस्दै जात्रा हेर्न नगएको पनि होइन । तर कुनै उपाय पनि नलागेपछि के गर्नु ? रूप छैन भनूँ भने हाडभन्दा सेतो छु हिसी छैन भनूँ भने मेरो सुलुत्त परेको हनुमाने ओठ प्रख्यात छ । फेसन छैन भनूँ भने परिआएको खण्डमा आङमा आँचल र टाङमा टाई बाँधेर हिँड्न पनि सक्छु कुलघराना जरसाहेबको भइगो । यो दुनियाँ नै यस्तै छ कसैलाई खातैखात कसैलाई पुर्पुरामा हात । अघाएकालाई भातैभात, भोकालाई खाली पात । रात धेरै बितिसक्ता पनि यस्तै विरह र बिलौनाका तर्कवितर्क गर्दै म छटपटिरहेको थिएँ, एकाएक मेरो अगाडि एउटी युवती उभिन आइन् ।

निकै राम्री, पढे-गुनेकी, देखे सुनेकी, आधुनिक युवती । मन्द मुस्कान छाड्दै थुपुक्क आएर मेरो सिराननिर बसिन् । नौनीभन्दा नरम उनका हात पाखुरा सुमसुम्याउँदै मैले भनें- “प्रिये, मेरी आँखाकी नानी, हृदयकी रानी, प्रेमकी खानी, लभकी दानी, मायाकी पानी, भरिएकी जवानी“ इत्यादि । उनले पनि च्वाम्म एक फेरा मेरो निधार चुमिन् । उनले चुमेकी मात्र के थिइन् मीठो सपनाबाट म झल्यास्स बिउँझें । हेर्छु त घरैकी काली बिराली म्याउँ गर्दै लुसुक्क झ्यालतिर लागी ।

अब भन्नोस्, मेरो बाबूसाहेबी खप्परमा लभ गर्ने कुरो लेखिएकै रहेनछ त ?

०००
‘काउकुती’ २०१९
‘भैरव अर्यालका हास्यव्यङ्ग्य’ भैरव पुरस्कार गुठी, २०६०

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
नयाँ वर्ष

नयाँ वर्ष

भूपी शेरचन
यमपुरीको यात्रा

यमपुरीको यात्रा

केशवराज पिँडाली
ए मान्छे !

ए मान्छे !

वासुदेव लुइँटेल