साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लेखनाथ पुस्तकालयमा पूर्वका स्रष्टाहरू सम्मानित

लेखनाथ पुस्तकालय, चन्द्रगढीको आयोजनामा पुरस्कार तथा सम्मानको कार्यक्रम सम्पन्न  । कार्यक्रममा विभिन्न स्रष्टाहरूलाई विभिन्न सम्मान तथा पुरस्कार अर्पण गरिएको थियो ।

Nepal Telecom ad

चन्द्रगढी, झापा, ०७९ पुस २६ । लेखनाथ पुस्तकालय, चन्द्रगढीको आयोजनामा पुरस्कार तथा सम्मानको कार्यक्रम सम्पन्न  । कार्यक्रममा विभिन्न स्रष्टाहरूलाई विभिन्न सम्मान तथा पुरस्कार अर्पण गरिएको थियो ।

कवि शिरोमणिको १३९औं जन्मजयन्तिको उपलक्ष्यमा लेखनाथ पुस्तकालयका अध्यक्ष हरिप्रसाद नेउपानेको अध्यक्षता, पिण्डेश्वर क्यम्पस, धरानका पूर्व क्याम्पस प्रमुख डा.रमेश घिमिरेको प्रमुख आतिथ्य, श्रद्धेय गुरु चूडामणि रेग्मी, दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारी, रुद्र गौरी अम्विका ओली स्मृति प्रतिष्ठानका यज्ञराज ओली, नारायण ओली, विष्णुकुमार भट्टराई, साहित्य कला सङ्गमका अध्यक्ष विष्णु नेउपाने, कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, प्राज्ञ सुभद्रा भट्टराई, मेची क्याम्पसका पूर्व क्याम्पस प्रमुख कमल गुरागाईं आदिको विशिष्ट आतिथ्य, खगिन्द्रा खुसीको छरितो कार्यक्रम सञ्चालनमा भएको कार्यक्रमलाई सचिव हरिकिशोर आचार्यले स्वागत गरेर कार्यक्रम अघि बढेको थियो । सुरुमै कवि शिरोमणि लेखनाथ पौड्यालबारे संक्षिप्तमा जानकारी गराउनुभएको थियो सह प्राध्यापक होम सुवेदीले ।

पुरस्कार सम्मानको सुरुमै यस लेखनाथ पुस्तकालयबाट यसै साल आफ्नो प्रथम कृति लोकार्पण गराउने ५ जना स्रष्टाहरू क्रमशः इन्दिरा कुसुम, उमाकान्त पोखरेल, देवीप्रसाद आचार्य, गणेशप्रसाद भट्टराई तथा राजेन्द्र काश्यप अधिकारीलाई दोसल्ला, माला तथा सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो ।

चूडामणि रेग्मी झर्रोशैली सम्मानद्वारा दुई जोडी दम्पत्ति पुरस्कृत तथा सम्मानित हुनुभयो । रु १२,५००।- र प्रमाणपत्र सहित घनेन्द्र शर्मा र धरणी शर्मा तथा यस्तै रु १२,५००।- र प्रमाणपत्र सहित शारदा कोइराला र मुनाकिरण कोइरालालाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिद्वारा सम्मानित गरियो ।

कार्यक्रममा श्रीप्रसाद ओली स्मृति साहित्य पुरस्कारद्वारा रु ५१,१११।- राशि तथा सम्मानपत्रसहित साहित्यकार पुण्यप्रसाद खरेललाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिद्वारा पुरस्कृत तथा सम्मानित गरियो । यस्तै कवि शिरोमणि लेखनाथ साहित्य पुरस्कारबाट रु १५,०००।-को राशिसहित शान्तिनगर, झापा निवासी कवि मोक्ष खतिवडा, श्यामकृष्ण कामाक्ष श्रेष्ठ साहित्य पुरस्कारबाट रु १५,०००।-को राशिसहित कवि नूरज भट्टराई, तेज-राजा कुभिण्डेली कुसुम पुरस्कारबाट रु ११,०००।-को राशिसहित विराटनगर निवासी साहित्यकार सरला चापागाईं पुरस्कृत हुनुभयो । यस्तै गरी भक्त-किरण साहित्य पुरस्कारबाट रु ५,०००।-को राशिसहित विर्तामोड निवासी कवि तुलसीप्रसाद भट्टराई, छन्दोवद्ध कवि सम्मान स्वरुप रु २,१००।- राशिको पुरस्कार सहित मिना अधिकारी पुरस्कृत हुनुभयो ।

पुरस्कारमय, सम्मानमय भएको कार्यक्रममा कविहरू मिना अधिकारी, विष्णु नेउपाने, नूरज भट्टराई ‘नदी’, तुलसी भट्टराई, विन्दु दाहाल ‘मूकदर्शक’ले कविता वाचन गर्नुभएको थियो भने पुरस्कृत व्यक्तिहरूको तर्फबाट पुण्यप्रसाद खरेल तथा सरला चापागाईले आफूलाई लागेको कुरा भन्नुभयो । यस्तै चन्द्र भण्डारी, सुभद्रा भट्टराई, यज्ञराज ओली, गुरु चूडामणि रेग्मी, प्रमुख अतिथि डा.रमेश घिमिरेले आजको कार्यक्रम बारे तथा पुरस्कृतहरुलाई बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

आजै वीरेन्द्र मा.वि.का कक्षा ८ र ९ का दुई दुई जना तेजस्वी छात्राहरूलाई पनि श्यामकृष्ण कामाक्षा श्रेष्ठ छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा हिरा पोखरेल, चूडामणि वाशिष्ठ, उमेश ओली, विरही अधिकारी, मेची क्याम्पसका प्राध्यापक तारा विविध, लक्ष्मी पौडेल, साहित्यकार रश्मि असफल, डिल्लीरमण नेपाल, गोपालकुमार सङ्ग्रौला, भानुभक्त कुभिण्डेली, दुर्गा काफ्ले (दमक), गोविन्द लम्साल, मुना प्रसाई, माधव कल्पित, देवीचरण भण्डारी, गीता भण्डारी, हरिनारायण भट्टराई, मातृका संग्रौला, कृष्ण सुवेदी निराकार, इन्द्रप्रसाद कटुवाल, लता खरेल, टोपलाल ज्ञवाली, उषा गुरुङ, आरती पोखरेल, हरिप्रसाद पौडेल, भद्रपुर १० नं. वडा सदस्य दुर्गाप्रसाद दाहाल, प्रलेस केन्द्रीय सदस्य राजेन्द्र संग्रौला, राजेन्द्र चापागाईं, अनिरुद्र सिटौला, कवि डिल्लीराज नेपाल, लीलाप्रसाद अधिकारी, अनिरुद्र सिटौला, विश्वनाथ कोइराला, एनवी दाहाल नवीन, गणेश नेपाल, भगवती ढुङ्गेल, वीरेन्द्र मा.वि.का प्रअ खिलराज कोइराला, लगायत डेढसय जति साहित्यकार तथा साहित्यानुरागीहरूको उपस्थिति रहेको कार्यक्रम अत्यन्त भव्य थियो ।

०००
– पुन्य खरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x