सुलसुलेडा. पुडासैनी ‘किशोर’ लाई ‘पवन आलोक नियात्रा पुरस्कार’ प्रदान
पञ्चमीको अवसर पारेर नियात्रा समाज नेपालद्वारा माघ १२ गते बिहीबार काठमाडौंको मीनभवनस्थित थाहा हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि घनश्याम राजकर्णिकारको आतिथ्यमा उक्त पुस्स्कार अर्पण गरिएको हो ।

काठमाडौं । वरिष्ठ नियात्राकार डा. दामोदर पुडासैनी ‘किशोर’लाई यस वर्षको ‘पवन आलोक नियात्रा पुरस्कार’ प्रदान गरिएको छ । रेखा कँडेलद्वारा २०७७ सालमा संस्थापित उक्त पुरस्कार डा.पुडासैनीको २०७८ सालमा प्रकाशित नियात्रा संग्रह ‘ग्रीष्मको नीलो बतास’लाई प्रदान गरिएको हो । पुरस्कारमा २५ हजार नगदसहित दोसल्ला, शिरपोस र सम्मानपत्र समेत प्रदान गरिएको हो ।
श्रीपञ्चमीको अवसर पारेर नियात्रा समाज नेपालद्वारा माघ १२ गते बिहीबार काठमाडौंको मीनभवनस्थित थाहा हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि घनश्याम राजकर्णिकारको आतिथ्यमा उक्त पुस्स्कार अर्पण गरिएको हो । सभाध्यक्ष प्रतीक ढकाल रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि घनश्याम राजकणर्िकार, नियात्राकार पवन आलोक, नेपाल स्रष्टा समाजका अध्यक्ष तथा निबन्धकार श्रीओम श्रेष्ठ रोदन, नियात्रा समाज नेपालका संस्थापक अध्यक्ष चन्द्रप्रसाद भट्टराई, समालोचक महेश पौड्याल, नियात्रा समाज नेपालका उपाध्यक्ष मोहन चापागाईँ तथा महासचिव जय छाड्छाले नियात्रा लेखनका विविध पक्षका बारेमा आआफ्ना मन्तव्य राख्दै पुरस्कृत स्रष्टालाई बधाई तथा पुरस्कारकी संस्थापिका रेखा कँडेल (हाल अमेरिका) लाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम सञ्चालन नियात्रा समाज नेपालकी कोषाध्यक्ष भवानी खतिवडाले गर्नुभएको थियो ।
वर्षभरि प्रकाशित नियात्रा कृतिमध्ये उत्कृष्ट कृतिका सर्जकलाई प्रदान गरिने ‘पवन आलोक नियात्रा पुरस्कार’ गत वर्ष नियात्राकार भीष्म उप्रेतीलाई ‘हिमाल यती र शेर्पा’ विषयक नियात्राकृतिका लागि प्रदान गरिएको थियो । नेपालमा नियात्रा लेखनको उन्नयनमा यस पुरस्कारले महत्वपूर्ण भूमिका खेल्ने कुरा समाजका अध्यक्ष प्रतीक ढकालले बताउनुभयो । पछिल्लो समय नेपालमा नियात्रा लेखन ह्वात्तै बढ्दै गएको तर सबै यात्रासम्बन्धी कृति नियात्रा कृति हुन नसक्ने हुँदा त्यसतर्फ लेखकहरू सचेत र सजग हुनुपर्ने कुरामा समालोचक महेश पौड्यालले बताउनुभयो ।
कार्यक्रममा साहित्यकारहरू डा. रामदयाल राकेश, नरेन्द्रराज पौडेल, बुलु मुकारुङ, नन्दु उप्रेती, चेतनाथ कणेल ‘हरित’, शंकर भारती, देविका तिमिल्सिना, विनोद नेपाल, डा. सदानन्द कडेल, राजेन्द्र डंगोल, विजयध्वज थापा, राजेश खनाल, श्रीराम राई, रश्मि रिमाललगायत करिब ५० जनाको उपस्थिति रहेको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest












































