सुलसुलेप्रज्ञा प्रतिष्ठानले आजीवन सदस्यलाई अब दोहोरो सुविधा नदिने
फागुन महिनादेखि यस प्रतिष्ठानबाट आजीवन सदस्यलाई दाेहाेराे पारिश्रमिक, सुविधा उपलब्ध नगराउने निर्णय गरिएको हो । राज्यस्रोतको दोहन गर्ने अधिकार कसैलाई नभएको भन्दै आजीवन सदस्यहरूलाई आफै दोहोरो सुविधा नलिन कुलपति राईले आग्रह गर्नुभयो ।

काठमाडौँ, फागुन १६, २०७९ । नेपाल प्रज्ञाप्रतिष्ठानले अन्य संस्थाबाट पनि मासिक सुविधा लिइरहेका आफ्ना आजीवन सदस्यलाई प्रतिष्ठानको तर्फबाट दिइरहेको मासिक सुविधा कटौती गर्ने निर्णय गरेको छ । त्यस्तो सुविधा फागुनदेखि रोक्ने निणर्य गरिएको प्रतिष्ठानले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
भाषासाहित्य, संस्कृतिको क्षेत्रमा महत्वपूणर् योगदान पुर्याएका व्यक्तिलाई प्रतिष्ठानले आजीवन सदस्यता प्रदान गर्छ । यस्ता सदस्य २२ जना रहेका छन् । आजीवन सदस्यले अन्य क्षेत्रबाट सेवानिवृत्त भएपछि पाइरहेको सुविधाको अतिरिक्त प्रतिष्ठानले उपलब्ध गराउने सुविधा पनि लिइरहेका थिए । प्रतिष्ठानका कुलपति भूपाल राईले अरूलाई नैतिकता र संस्कारको पाठ सिकाउने प्राज्ञले नै दोहोरो सुविधा लिँदा जनमानसमा नकारात्मक सन्देश गएकाले दोहोरो सुविधा नदिने निर्णय गरिएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “नेपालीको प्रवृत्ति जहाँ जति भेटिन्छ, खानैपर्ने जस्तो देखियो । अब त अलिकति भने पनि नैतिकवान् हुनुपर्छ भनेर यस्तो निर्णय गरेका हौँ ।” प्रतिष्ठानको अतिरिक्त अन्य ठाउँबाट पनि सुविधा लिइरहेका सदस्यलाई प्रतिष्ठानमा भत्ता नबुझ्न उहाँले अनुरोध गर्नुभयो ।
प्रतिष्ठान आजीवन सदस्य साहित्यकार झमककुमारी घिमिरेलाई मासिक २५ हजार रुपियाँ आजीवन भत्ता तथा राष्ट्रियगानका रचनाकार व्याकुल माइलालाई मासिक ५० हजार रुपियाँ जीवन निर्वाह भत्ताका रूपमा सुविधा उपलब्ध गराइँदै आएको छ । प्रतिष्ठानले बाँकी आजीवन सदस्यलाई भने मासिक ५१ हजार ४७४ रुपियाँ उपलब्ध गराइरहेको थियो ।
उहाँहरूले प्रतिष्ठानको अतिरिक्त अन्य कुन-कुन निकायबाट सुविधा लिइरहेका छन् भन्ने विषयमा आफूहरूले अध्ययन गरिरहेको प्रतिष्ठानका उपकुलपति विमल निभाले बताउनुभयो । उहाँले भन्नुभयो, “जसले दोहोरो सुविधा लिइरहनुभएको छ, उहाँहरूलाई प्रतिष्ठानबाट सुविधा नलिन अनुरोध गरेका छौँ ।”
दोहोरो सुविधा लिने कुरा नैतिकताको दायरामा नआएकोले यो सुविधा खारेज गर्नुपर्ने आवश्यकता रहेको उपकुलपति विमल निभाले बताउनु भयो । आफूले पनि दोहोरो सुविधा नलिने उहाँले घोषणा गर्नु भयो । ‘मैले हाल लिँदै आएको वृद्धभत्ता पनि नलिने यहिँबाट घोषणा गर्दछु’ उहाँले भन्नु भयो । दोहोरो सुविधा प्रदान गर्न प्रज्ञा प्रतिष्ठान ऐन २०६४ को दफा २८ को उपदफा ४ ले पनि बन्देज गरेको उहाँले जानकारी दिनुभयो ।
प्रतिष्ठानका आजीवन सदस्यमध्ये आधाभन्दा बढी प्राध्यापन क्षेत्रबाट आउनुभएको छ । दोहोरो सुविधा लिनेमध्ये पनि आधाभन्दा बढी प्राध्यापन क्षेत्रमै आबद्ध भएर निवृत्तिभरण लिइरहेको हुन सक्ने प्रतिष्ठानको अनुमान छ ।
कुलपति भूपाल राईद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को दफा २८ को उपदफा (४) को प्रतिबन्धधात्मक वाक्यांशबमोजिम दोहोरो पारिश्रमिक सुविधा प्रदान गर्न नमिल्ने हुँदा नेपाल सरकार, विश्वविद्यालयहरु तथा अन्य निकायबाट निवृत्तिभरण लिइरहेका आजीवन सदस्यहरुलाई वि.सं. २०७९ फागुन महिनादेखि यस प्रतिष्ठानबाट आजीवन सदस्यको पारिश्रमिक, सुविधा उपलब्ध नगराउने निर्णय गरिएको हो ।” राज्यस्रोतको दोहन गर्ने अधिकार कसैलाई नभएको भन्दै आजीवन सदस्यहरूलाई आफै दोहोरो सुविधा नलिन कुलपति राईले आग्रह गर्नुभयो ।
प्रज्ञा-प्रतिष्ठानका परिषद् सदस्यले पनि दोहोरो सुविधा नलिने निर्णय गरेका छन् । परिषद् सदस्य र सभा सदस्य आजीवन सदस्य पनि नबन्ने निर्णय भएको सदस्य-सचिव डा. सुवेदीले बताउनुभयो । आगामी प्रज्ञासभा बैठकबाट ऐन संशोधन गरेर दोहोरो सुविधा लिने व्यवस्था हटाउने पनि उहाँले स्पष्ट पार्नु भयो । प्राज्ञिक क्षेत्र स्वच्छ भयो भनेमात्रै अरु क्षेत्र स्वच्छ हुने भन्दै प्राज्ञिक व्यक्तिहरूले उच्च नैतिकता राख्नुपर्ने उहाँले बताउनु भयो ।
नेपाल प्रज्ञा-प्रतिष्ठानमा हाल २२ जना आजीवन सदस्यहरु रहेका छन् । जसमा झमककुमारी घिमिरेलाई प्रतिभासम्पन्न साहित्यकार आजीवन भत्ता वापत २५ हजार मासिक उपलब्ध हुँदै आएको छ भने व्याकुल माइलालाई जीवन निर्वाह भत्ता भनेर मासिक ५० हजार उपलब्ध हुन्छ । अन्य २० जना आजीवन सदस्यहरुलाई भने मासिक ५१ हजार ४७४ रुपैयाँ प्रदान गरिँदै आएको थियो ।
परिषद् सदस्यहरूको विभागीय जिम्मेवारी तोकियो
नेपाल प्रज्ञा-प्रतिष्ठानका परिषद् सदस्यहरूको विभागीय जिम्मेवारी तोकिएको छ । कुलपति, उपकुलपतिसहित एघार जना परिषद् सदस्यहरूलाई विभागीय जिम्मेवारी तोकिएको पत्रकार सम्मेलन गर्दै जानकारी गराइयो ।
प्रतिष्ठानका अनुसार कुलपति भूपाल राईलाई संस्कृति, लोकवार्ता तथा मौखिक ईतिहास विभागको जिम्मेवारी तोकिएको छ । यसैगरी उपकुलपति विमल निभालाई बालसाहित्य विभाग, डा. मधुसूदन गिरीलाई साहित्य (समालोचना तथा साहित्येतिहास), डा. कृष्णराज अधिकारीलाई दर्शनशास्त्र विभाग, राजन मुकारूङलाई साहित्य (मातृभाषा) विभाग, बाबा बस्नेतलाई साहित्य (पद्य/काव्य) विभाग, डा. कौशिला रिसाललाई सामाजिक शास्त्र विभाग, हंसावती कुर्मीलाई अनुवाद विभाग, अमर न्यौपानेलाई साहित्य (गद्य) विभाग, त्रैलोक्यमान बनेपालीलाई भाषा (मातृभाषा, कोश र व्याकरण) विभाग र सदस्य-सचिव डा. धनप्रसाद सुवेदीलाई भाषा (कोश र व्याकरण) विभागको जिम्मेवारी तोकिएको छ ।
प्रतिष्ठानको रिक्त प्राज्ञसभा तथा परिषद्को पदपूर्ति यही फागुन ४ गते भएको थियो । प्रतिष्ठानले नेपाली भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र, सामाजिक शास्त्र आदिका विषयमा काम गर्दै आएको छ ।
०००
Subscribe
Login
0 Comments
Oldest











































