सुलसुलेबाछिटाका छ वटा कृति एकैसाथ लोकार्पित
ती बाछिटा कृतिमा कलानिधि दाहालको ‘अस्तित्व’, खगेन्द्र बस्यालको ‘अखण्ड’, कमला महतको ‘अनन्त’, भवानी पाण्डेको ‘अक्षुण्ण’, नानीमाया सुनुवारको ‘अजस्र’ र सुधा बास्कोटा ढकालको ‘अस्मिता’ रहेका छन् ।

काठमाडौं, ०७९ फागुन २० । बाछिटाको प्रवर्तन स्रष्टा अमर त्यागीबाट २०७७ सालमा भएको हो । यस छोटो अवधिमै बाछिटा सयौँ स्रष्टाबिच लोकप्रिय हुँदै रहेको छ । साथै एक दर्जन बाछिटाकृति तथा रूपायन र माधुरीमा साहित्यिक पत्रिकाले बाछिटा बिशेषाङ्क प्रकाशित गरिसकेका छन् । चित्रमा बाछिटा र बाछिटावाचन लाइभ कार्यक्रम पनि सञ्चालनमा आइरहेका छन् ।
नेपाली साहित्यमा बाछिटा सिर्जना नुतन आयाम हो । नेपाली साहित्यमा अनेकौँ विधा र उपविधाहरूको सिर्जनात्मक प्रयोग भइरहेको छ । त्यसमध्ये बाछिटा पनि एक हो । कविताको लघुत्तम विधाको रूपमा स्थापित बाछिटा ३,५,३ गरी ११ अक्षर र तीन हरफमा अनुबन्धित हुन्छ । यसको मूल ढुकढुकी भन्नु नै प्रकृति र संस्कृति हो । यस सिद्धान्तलाई आत्मसात् गर्दै रचिएका ६वटा बाछिटा कृतिको लोकार्पण एक समारोहका बिच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभएको थियोे ।
ती बाछिटा कृतिमा कलानिधि दाहालको ‘अस्तित्व’, खगेन्द्र बस्यालको ‘अखण्ड’, कमला महतको ‘अनन्त’, भवानी पाण्डेको ‘अक्षुण्ण’, नानीमाया सुनुवारको ‘अजस्र’ र सुधा बास्कोटा ढकालको ‘अस्मिता’ रहेका छन् ।
त्यस्तै बाछिटा प्रवर्तक अमर त्यागीलाई माधुरी साहित्य प्रतिष्ठानबाट ‘माधुरी सम्मान’ र सञ्चार अभियान नेपालबाट ‘सञ्चार श्री सम्मान’ प्रदान गरिएको थियोे । त्यसैगरी कौशिकी साहित्य प्रतिष्ठानबाट हरिसिंह थापा र विनोद स्पन्दनलाई कौशिकी साहित्य सम्मान प्रदान गरिएको थियोे ।
बाछिटा कृतिकार कलानिधि दाहाल, शर्मिला तिमल्सिना, खगेन्द्र बस्याल, भवानी पाण्डे, नानीमाया सुनुवार, सुधा बास्कोटा ढकाल, बिमल शर्मा पौडेल, कमला महत, अम्बिका धिताल र शोभाराम ओलीलाई बाछिटा सम्बर्द्धन सम्मान प्रदान गरिएको थियोे ।
‘साहित्य पोस्ट’मा सञ्चालित बाछिटा प्रतियोगिताका सर्वोत्कृष्ट बाछिटाकारहरूलाई पुरस्कार वितरण गरिएको थियोे । सो पुरस्कार साहित्य पोस्टका प्रधान सम्पादक अश्विनी कोइराला र बाछिटा प्रवर्तक अमर त्यागीले प्रदान गरेका थिए ।
यस अवसरमा कुलपति राईले सबै भाषाभाषीको प्राज्ञिक समावेशिताको उच्चतम थलोको रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै कानुनले निषेध गरेको आजीवन प्राज्ञको दोहोरो तलब सुविधा नदिने निर्णय गरिएको मात्र हो । यसबारेमा सम्बन्धित व्यक्तिले उच्च नैतिकता प्रदर्शन गर्न समेत अपिल गर्नुभएको थियोे ।
त्यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी विशिष्ट अतिथि हुनुहुन्थ्यो । विशेष अतिथि तथा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यद्वय डा.मधुसूदन गिरी र डा.कौशिला रिसालले बाछिटाकृति माथि आआफ्नो समीक्षात्मक दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो । यस अवसरमा गिरीले बाछिटा कृतिमा प्रतीकात्मकता र प्रकृतिको मानवीकरणले सार्थकता पाएको बताउनुभएको थियोे । डा.रिसालले भने बाछिटा कृतिमा प्रकृति र संस्कृतिको उच्चतम मानवीय मूल्य रहेको बताउनु भएको थियोे । प्राज्ञ परिषद् सदस्य बाबा बस्नेत र हंसावती कुर्मी विशेष अतिथिको रूपमा रहनुभएको थियोे ।
अर्का विशेष अतिथि तथा नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष मोहन दुवालले ऐन, कानुन विपरीत दोहोरो सुविधा लिइरहेका आजीवन प्राज्ञको सुविधा कटौती गर्ने निर्णय प्रज्ञा प्रतिष्ठानले गरेकोमा खुसी व्यक्त गर्नुभएको थियोे । यसै सन्दर्भमा दुवालले लेखक साहित्यकार परिचय-पत्रलाई स्थलगत रूपमा प्रदान गर्न, वरिष्ठ साहित्यिक पत्रकारलाई राष्ट्रिय पुरस्कार प्रदान गर्न र प्रज्ञा खोजअनुसन्धानलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै नव प्रवर्तित बाछिटा सिर्जनाको उज्ज्वल भविष्य रहेको बताउनु भएको थियोे ।
विशेष वक्ता, बाछिटाका प्रवर्तक तथा वरिष्ठ स्रष्टा अमर त्यागीले बाछिटाको प्रवर्द्धन, सैद्धान्तिकीकरण, सिर्जन तथा बढ्दो लोकप्रियताबारे चर्चा गर्नुभएको थियोे ।
कौशिकी साहित्य प्रतिष्ठानका अध्यक्ष चेतनाथ धमलाको अध्यक्षतामा उपर्युक्त ६ वटा बाछिटा कृतिको लोकार्पण सम्पन्न भएको हो । यस अवसरमा धमलाले प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईलाई मायाको चिन्हो प्रदान गर्दै बाछिटामा प्रकृति, संस्कृति र जीवनको सौन्दर्य अभिव्यक्त भएको बताउनु भयो ।
कौशिकी साहित्य प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष गणेश राईले नेपाली साहित्यमा बाछिटा छोटो अवधिमै स्रष्टाहरू माझ लोकप्रिय भएको बारे उल्लेख गर्दै स्वागत मनतव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार तथा कवि रामनाथ घिमिरेले गर्नुभएको थियो ।
०००
– चेतनाथ धमला
Subscribe
Login
0 Comments
Oldest












































