सुलसुलेस्रष्टा लुइँटेल र फुयाँल सम्मानित, पुरस्कारको रकम पुरस्कारमै
प्रमुखअतिथि रमेशचन्द्र देवकाेटाले सम्माानपत्र अर्पण गर्नु भयाे भने दुवै पुस्कारको नगद राशिको थैली संस्थापकहरू क्रमशः विधान आचार्य र डा. दिनेशचन्द्र देवकोटाले समर्पण गर्नुभएको थियो ।

काठमाडौं, २६ फागुन २०७९ । नेपाल स्रष्टा समाजले स्रष्टा सम्मान अर्पण समारोहको आयोजना गरी दुई जना स्रष्टालाई नगद राशि सहित सम्मानपत्र अर्पण गरेको छ ।
समाजले “सुभद्रा विश्वराज स्रष्टा सम्मान” द्वारा कवि श्रीहरि फुयाँल र “रमेश-गङ्गा स्रष्टा सम्मान” द्वारा वरिष्ठ हास्यव्यङ्ग्यकार एवम् फित्कौली डटकमका प्रधान सम्पादक नरनाथ लुइँटेललाई अर्पण गरेको हो । यी दुवै पुरस्कारको रकम जनही २१ हजार १११ रुपैया रहेको छ । कार्यक्रमका प्रमुख अतिथि रमेशचन्द्र देवकोटाले सम्मानपत्र हस्तान्तरण गर्नु भएको थियो ।
यी दुवै पुस्कारको नगद राशिको थैली संस्थापकहरू क्रमशः विधान आचार्य र डा. दिनेशचन्द्र देवकोटाले समर्पण गर्नुभएको थियो ।
समाजका महासचिव देविका तिमिल्सिनाले स्वागत मन्तव्यका साथ सम्मानित दुई स्रष्टा फुयाँल र लुइँटेलको व्यक्तित्वका बारेमा प्रस्तुत गर्नु भएको थियो । सम्मान ग्रहणपछि मन्तव्यका क्रममा पुरस्कृत स्रष्टा लुइँटेलले आफूले अहिलेसम्म प्राप्त गरेको पुरस्कार रकम हास्यव्यङ्ग्य साहित्यको प्रवर्धनका निम्ति फित्कौली अक्षयकोषमा जम्मा गरेको जानकारी दिँदै आज प्राप्त गरेको पुरस्कार रकम पनि त्यही अक्षयकोषमा हस्तान्तरण गर्ने घोषणा गर्नु भएको थियो । अर्का स्रष्टा फुयाँलले पनि प्राप्त गरेको पुरस्कार रकममा केही थप गरेर साहित्यिक पुरस्कारको स्थापना गर्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि रमेशचन्द्र देवकोटाको ९० औँ जन्मदिनको अवसर पारेर आयोजना गरिएको सम्मान कार्यक्रममा उहाँद्वारा लिखित शिखरिणी छन्दको एउटा कविता सन्जय देवकोटाले वाचन गरी सुनाएका थिए भने सम्मान कार्यक्रमको समाप्तिपछि उहाँको जन्मदिन सुकुन्दामा बत्ती बाली केक काटेर भव्य तरीकाले मनाइएको पनि थियो ।
नेपाल स्रष्टा समाजले स्रष्टाहरूलाई अहिले नयाँ आजीवन सदस्य बनाउँदै आइरहेको छ । नयाँ बनेका सदस्यहरूलाई कार्यक्रममा सदस्यताको प्रमाणपत्रका साथ ब्याच वितरण पनि गरेको थियो ।
नेपाल स्रष्टा समाजका उपाध्यक्ष चेतनाथ कणेलको सभापतित्वमा सम्पन्न ‘स्रष्टा सम्मान कार्यक्रम’मा उहाँले स्रष्टा समाज १६ वर्ष पुगेको र वर्षेनी ७ वटा सम्मान पुरस्कार समर्पण गर्ने गरेको कुरा व्यक्त गर्नुभयो । कार्यक्रम रेडियो प्रस्तोता मधु पाठकको कुशल उद्घोषणमा सञ्चालन भएको हो ।
०००
समाचार स्रोत : शब्दपथ
Subscribe
Login
0 Comments
Oldest












































