सुलसुलेसाहित्य कला सङ्गम दमकद्वारा ७ जना स्रष्टा पुरस्कृत
पुरस्कृत हुने स्रष्टाहरूमा चन्द्रगढी निवासी ८४ वर्षीय साहित्यकार चूडामणि रेग्मी, असम डिगबोइ निवासी सङ्गीतकार, गीतकार युद्धवीर राना, नारी स्रष्टा प्रतिभा पौडेल, कलाकार तथा साहित्यकार मुकुन्द प्रयास र सुरुङ्गा झापा निवासी मूर्तिकार हिम्मत नेम्वाङ, नियात्राकार युवराज नयाँघरे हुन् ।

झापा, ०७९ चैत २६ । साहित्य कला सङ्गम दमकले भव्यताका साथ पुरस्कार अर्पण समारोह सम्पन्न गरेको छ । गोरखा डिपार्टमेन्ट स्टोर दमकको सभाकक्षामा सम्पन्न उक्त कार्यक्रममा ७ जना स्रष्टाहरू पुरस्कृत भएका थिए ।
पूर्वका मोती, साहित्य भाष्कर, झर्रो नेपाली आन्दोलनका प्रणेता आदि उपमाले प्रख्यात झापा चन्द्रगढी निवासी ८४ वर्षीय साहित्यकार चूडामणि रेग्मी, असम डिगबोइ निवासी सङ्गीतकार, गीतकार, संस्कृतिविद् तथा साहित्यकार युद्धवीर राना, इलाम निवासी कवि तथा अनुसन्धाता, नारी स्रष्टा प्रतिभा पौडेल, धनकुटा निवासी कलाकार तथा साहित्यकार मुकुन्द प्रयास र सुरुङ्गा झापा निवासी मूर्तिकार हिम्मत नेम्वाङ गरी ५ जना व्यक्तित्वलाई भवानी मिश्र पुरस्कार २०७९ प्रदान गरिएको थियो भने दमकमा जन्मेर हाल काठमाडौंमा बसोबास गर्दै आउनु भएका मदन पुरस्कारले समेत विभूषित भइसक्नु भएका चर्चित नियात्राकार युवराज नयाँघरेलाई साहित्य कलाश्री पुरस्कार २०७९ प्रदान गरिएको थियो ।
त्यसैगरी झापा गौरादह निवासी, चर्चित गीत गौरादहको बजारैमा माया हाम्रो बस्यो लगायत विभिन्न लोकगीतका सङ्कलक तथा गायक, सीताराम ताजपुरियालाई पनि नगद रु. ३५०००/- दोसल्ला, मायाको चिनो र सम्मानपत्र सहितको तुलसादेवी न्यौपाने स्मृति पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भुपाल राई, विशिष्ट अतिथि प्रा.डा. गोविन्दराज भट्टराई, चन्द्र भण्डारी, नगरप्रमुख रामकुमार थापा रहेका थिए भने अतिथिहरूमा प्राज्ञसभा सदस्य सुमित्रा वाङ्देल चेली, पूर्व प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई, पूर्व नगरउप-प्रमुख गीता अधिकारी, पूर्व सम्मानित व्यक्तित्वहरू कवि टीका आत्रेय, पुण्यप्रसाद खरेल, राजेन्द्र सङ्ग्रौला, बोधराज न्यौपाने, कृष्ण उदाशी, यज्ञ परिश्रमी लगायतका विशिष्ट व्यक्तित्व सहित २५० भन्दाबढी स्रष्टा सर्जक र कला सङ्गीतप्रेमीहरूको उपस्थिति रहेको थियो ।
प्रतिनिधिमूलक रचना वाचन गर्दै सुरु भएको कार्यक्रममा सुनसरी इटहरीकी कवि टीका आत्रेय, इलामकी कवि रीता पोख्रेल, सिक्किमकी कवि गीताश्री शर्मा, आसामका कवि मिलन बोहरा लगायतले निकै मार्मिक र उत्कृष्ट कविता सुनाएका थिए । फरकफरक स्वादका कवितापछि सीताराम ताजपुरिया र युद्धवीर राणाद्वारा केही ऐतिहासिक महत्त्व राख्ने गीतका भाकाहरू प्रस्तुत भएका थिए ।
साहित्य कला सङ्गम दमकका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षता र महासचिव दीपक सुवेदी तथा सचिव विवश बलिभद्र कोइरालाको संयुक्त सञ्चालनमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष बिन्दु दाहाल मूकदर्शकले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए ।
०००
Subscribe
Login
0 Comments
Oldest











































