सुलसुलेहास्यव्यङ्ग्यकार चोलेश्वर शर्माको हास्यव्यङ्ग्य कृति लोकार्पण
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले २०५८ सालदेखि पाल्पासँग आफ्नो सम्बन्ध रहेको विचार व्यक्त गर्नुभयो । अदभूत शक्ति भएको व्यक्ति चोलेश्वर शर्मा रहेको कुरा उहाँले व्यक्त गर्नुभयो ।

पाल्पा, ०८० असार ४ । धवल पुस्तकालय पाल्पाको संयोजनमा हास्यव्यङ्ग्यकार चोलेश्वर शर्माको ‘सगरमाथा एक पहाडको नाम होइन’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्र्रहको लोकार्पण भएको छ ।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा वरिष्ठ साहित्यकार तथा समालोचक प्रा.डा. गोविन्दराज भट्टराई हुनुहुन्थ्यो । जिल्ला समन्वय पाल्पाका प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा साहित्यिक संघसंस्थाका प्रमुख, सामाजिक संघसंस्थाका प्रमुख, विद्यालयका प्रअ, साहित्यकार, सञ्चारकर्मी लगायतको घनिभूत उपस्थिति रहेको थियोे ।
कृतिकार चनेलेश्वर शर्माको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्ने काम टंक पन्थले गर्नु भयो । कार्यक्रमको समुद्घाटनपश्चात कृति लोकार्पण गरिएको थियोे । साहित्यकार दीन पन्थी र वनमाली निराकारले कृतिमाथि समीक्षा गर्नुभयो । साहित्यकार तथा समीक्षक दीन पन्थीले पहिलो कृतिको समीक्षा २०५७ सालमा लेखेको र अहिले दोस्रो कृतिको समीक्षा गर्ने अवसर पनि आफूलाई प्राप्त भएको धारणा राख्नुभयो । हास्यको सम्बन्ध रससँग र व्यङ्ग्यको सम्बन्ध अर्थसँग रहेको विचारका साथमा सफल साहित्यकारले हास्यका तुलनामा व्यङ्ग्यलाई उपयोग गर्ने गरेको र चोलेश्वर शर्माले पनि व्यङ्ग्यलाई प्रमुख आधार बनाएको विचार व्यक्त भयो । कृतिको सम्यक समीक्षा गर्न नसकिने विचारसमेत उहाँले व्यक्त गर्नुभयो । हरेक शब्दमा मर्म छ सबै निबन्ध गुलिया छन् भन्ने निष्कर्ष उहाँको थियोे ।
साहित्यकार वनमाली निराकारले पुस्तकको बाह्य र आन्तरिक पक्षलाई प्रकाश पार्ने काम गर्नुभयो । निबन्ध पढ्दै जाँदा हामी स्वयं व्यङ्ग्यको पात्र बनेको अनुभूति हुने विचार व्यक्त गर्दै केन्द्रले मोफसलको प्रतिभालाई मारेको बिम्ब यी निबन्धमा व्यक्त भएको यथार्थलाई उहाँले प्रस्तुत गर्नुभयो । साहित्यका क्षेत्रमा भएका विकृतिको मार्मिक यथार्थलाई चोलेश्वर शर्माले उजागर गरेको कुरा बताउनु भएको थियो ।
साहित्यकार विजय सागरले ‘तानसेन बादलमाथिको सहरको नाम’ र ‘सगरमाथा एक पहाडको नाम होइन’ शीर्षकका निबन्धमा राष्ट्रवादी चेतनाको सघन प्रस्तुति रहेको विचार व्यक्त गर्नुभयो । पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्द भट्टराईले चोलेश्वर शर्माको प्राज्ञिक र साहित्यिक योगदान सुकिलो रहेको सन्दर्भसहित गहन कृतिको प्रकाशनका लागि शुभकामना व्यक्त गर्नुभयो । विकृतिमाथिको तिखो व्यङ्ग्य निबन्धको सार पक्ष रहेको कुरा उहाँले व्यक्त गर्नुभयो ।
तरङ्ग साहित्य संगमका अध्यक्ष राधाकृष्ण शर्माले कृतिकार आफ्नो गुरु रहेको सन्दर्भ उल्लेख गर्नुभयो । उहाँले प्रमुख अतिथिको प्राज्ञिक महत्त्वलाई प्रकाश पारी कृतिकारलाई बधाई ज्ञापन गर्नुभयो । त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख टंकप्रसाद भट्टराईले चोलेश्वर शर्माको शैक्षिक, प्रशानिक तथा साहित्यिक व्यक्तित्वको प्रकाश पार्नुभयो ।
पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले गरिमामय कार्यक्रममा उपस्थित हुन पाउँदा गौरवबोध भएको विचार व्यक्त गर्नुभयो । २०५५ सालपछिका उहाँका व्यङ्ग्यहरू यथाशीघ्र पढ्न पाइयोस् भन्ने शुभकामनासमेत व्यक्त गर्नुभयो । ओझेलमा परेको हास्यव्यङ्ग्यलाई माथि उठाउन चोलेश्वर शर्मा जस्ता लेखकको खाँचो रहेको विचार व्यक्त गर्नुभयो ।
नगरप्रमुख सन्तोषलाल श्रेष्ठले कृतिकार शर्माको पाल्पाको शैक्षिक तथा प्रशासनिक क्षेत्रमा सुकिलो पहिचान रहेको र साहित्यका क्षेत्रमा अझै योगदान पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । जिल्ला समन्वय पाल्पाका प्रमुख प्रमुख टंकनाथ खनालले चोलेश्वर गुरुको महत्त्वपूणर् कृति प्रकाशन भएकोमा बधाई व्यक्त गर्नुभयो । सबैजसो निबन्धहरूमा सामाजिक सांस्कृतिक क्षेत्रका विसङ्गतिमाथि प्रहर गरिएको विचार व्यक्त गर्नुभयो ।
संविधान सभा सदस्य नारायणी शर्माले समाजलाई महत्त्वपूणर् कृति प्रकाशन गरेकोमा लेखकलाई हार्दिक बधाई व्यक्त गर्नुभयो । संस्कार र आचरणमा आएको स्खलनलाई प्रहार गरी समाजलाई मार्गदर्शन गर्नमा कृतिले योगदान दिने विश्वास व्यक्त गर्दै उहाँले कृति प्रकाशनको शुभकामना व्यक्त गर्नुभयो ।
कृतिकार चोलेश्वर शर्माले उपस्थित सम्पूणर् तह र तप्काका व्यक्तिहरूलाई धन्यवाद दिनुभयो । आफ्नो लेखनका विषयमा धेरै कुरा आएको विचार व्यक्त गरी सिर्जनाको पृष्ठभूमिलाई प्रकाश गर्नुभयो । आफ्नो जागिरे जीवन तथा सिर्जनाको अवस्थालाई पनि उल्लेख गर्नुभयो । साहित्यप्रतिको दृष्टिकोणप्रतिको मान्यतालाई कटाक्षपूणर् शैलीमा प्रस्तुत गर्नुभयो । २०३४ सालदेखि २०७९ सालसम्मको साधनाको पक्षलाई समेत उहाँले प्रस्तुत गर्नुभयो । आफूले पत्रिकामा पठाएका रचना कुनै पनि फिर्ता नआएको कुरा पनि उहाँले व्यक्त गर्नुभयो । आजको दिनमा जीवनमा अत्यन्तै खुसी भएको विचार व्यक्त गर्नुभयो । साथीहरूका सल्लाह सुझावबाट यो शीर्षक राखिएको सन्दर्भ उल्लेख गर्नुभयो । समसामयिक विषय र भावहरू पनि यहाँ व्यक्त रहेको स्वीकृति उहाँको रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले २०५८ सालदेखि पाल्पासँग आफ्नो सम्बन्ध रहेको विचार व्यक्त गर्नुभयो । अदभूत शक्ति भएको व्यक्ति चोलेश्वर शर्मा रहेको कुरा उहाँले व्यक्त गर्नुभयो । नेपाली स्रष्टाका निबन्धलाई अङ्ग्रेजी भाषामा अनुवाद गरिएको र १५ जना स्रष्टाका छनोटमा चोलेश्वर शर्मा परेको विचार व्यक्त गर्नुभयो । विसङ्गतिलाई उधिनेर लेख्ने क्षमता भएको स्रष्टा किन सुस्तायो भन्ने चिन्ता आफूलाई लागेको विचार उहाँले व्यक्त गर्नुभयो । लेखकले ऋण काढेर भए पनि कृति प्रकाशन गर्नुपर्ने अवस्था बारे उहाँले प्रस्तुत गर्नुभयो ।
उहाँले ग्लोबलाइजेसनले ल्याएको चुनौतीप्रतिको चेतना शर्माका निबन्धमा व्यक्त भएको मर्म उल्लेख गर्दै मानिसका आहारविहार र जीवनशैलीमा आएको आडम्बरप्रति सघन कटाक्ष गरिएको छ भन्नु भयो । लामो संरचनामै गहन विचार आउने कुरा उहाँले स्पष्ट पार्नुभयो ।
अध्यक्ष युवराज पौड्यालले कार्यक्रममा उपस्थित सम्पूणर्लाई धन्यवाद ज्ञापन गरी कृतिकार चोलेश्वर शर्मालाई बधाई ज्ञापन गर्नुभयो । उपस्थित अतिथि लगायत सहभागीहरूलाई कोषाध्यक्ष सन्तोष खनालले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव राजेशकुमार अर्यालले गर्नुभएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest











































