सुलसुलेनूर-गंगा प्रतिभा पुरस्कार गुठीले गर्यो पुरस्कार समर्पण
प्रमुख अतिथि शिक्षाविद् केदारभक्त माथेमाले ५०/५० हजार नगद राशिसहितको ‘नूर-गंगा राष्ट्रिय बालसाहित्य पुरस्कार-२०७८’ साहित्यकारहरू डा. गेहेन्द्रमान उदास पोखरेली (पोखरा) र कन्हैया नासननी (काठमाडौं)लाई संयुक्तरूपमा समर्पण गर्नु भयो ।

काठमाडौं, ०८० असार १५ । राजधानीमा आयोजित समारोहमा नूर-गंगा प्रतिभा पुरस्कार गुठीले हरेक वर्ष प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार सर्जकहरूलाई समर्पण गरेको छ ।
प्रमुख अतिथि शिक्षाविद् केदारभक्त माथेमाले ५०/५० हजार नगद राशिसहितको ‘नूर-गंगा राष्ट्रिय बालसाहित्य पुरस्कार-२०७८’ साहित्यकारहरू डा. गेहेन्द्रमान उदास पोखरेली (पोखरा) र कन्हैया नासननी (काठमाडौं)लाई संयुक्तरूपमा समर्पण गर्नु भयो ।
त्यसैगरी ‘नूर-गंगा क्षेत्रीय लोकगायन प्रतिभा पुरस्कार-२०७८’ पाल्पाका लोकगायक पुष्कल शर्मालाई ३० हजार नगद राशिसहित र ‘नूर-गंगा राष्ट्रिय लोकगायन प्रतिभा पुरस्कार-२०७८’ २५ हजार नगद राशिसहित रामेछापका रामकुमार नेपालीलाई प्रदान गरिएको थियो ।
सोहीअवसरमा २० हजार नगदसहितको ‘नूर-गंगा क्षेत्रीय नवप्रतिभा साहित्य पुरस्कार-२०७८’ नवलपरासीकी आयुष्मा तिवारीलाई प्रदान गरियो ।
समारोहमा गुठीमा सक्रिय रही सेवा गर्ने व्यक्तित्वहरू बाबुहरि ज्ञवाली, प्रा.डा. तुलसीप्रसाद पाठक, प्रा.डा. विनोदकुमार श्रेष्ठ तथा यज्ञप्रसाद शर्मा पोखरेललाई समेत सम्मानित गरिएको थियो ।
कार्यक्रममा प्रा.डा. भवेश्वर पंगेनीले स्वागत भाषण दिनु भएको थियो भने प्रा.डा. ध्रुवकुमार घिमिरे र नारायण रायमाझीले पुरस्कृत व्यक्तित्वको परिचय दिनु भएको थियो । पुरस्कृत साहित्यकारद्वय कन्हैया नासननी, डा. गेहेन्द्रमान उदास पोखरेलीले पनि मन्तव्य दिनु भएको थियो । ८६ वर्षीय डा. पोखरेलीले आफ्ना पुराना बाल कविताहरू पनि सुनाउनु भएको थियो । यसरी नै अन्य पुरस्कृतहरू रामकुमार नेपाली र पुष्कल शर्माले लोकगीत सुनाउनु भएको थियो र आयुष्मा तिवारीले कवितावाचन गर्नु भएको थियो ।
प्रख्यात साहित्यकार, पत्रकारहरूको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा प्रा.डा. चूडामणि बन्धु, प्रा.डा. गोविन्द नेपाल, यादव भट्टराईले पनि बोल्नुभएको थियो ।
असार १५ धान दिवस पनि रहेकाले भएको कार्यक्रम सकिएपछि सबैलाई अन्य परिकारसहित दही चिउराको पनि व्यवस्था गरिएको थियो ।
०००
समाचार श्रोत : शब्दपथ
Subscribe
Login
0 Comments
Oldest











































