सुलसुले‘भूगोल, समाज र संस्कृतिलाई डङ्गोलको बादलडाँडाले जोड्छ’
नेपाल प्रज्ञा- प्रतिष्ठानका सदस्य सचिव तथा समालोचक डा. धनप्रसाद सुवेदीले नियात्राकारले भूगोल, संस्कृति र समाजको सौन्दर्यलाई आत्मसात् गर्दै रचिएको ‘बादलडाँडा’ नियात्रासङ्ग्रह स्तरीय र पठनीय रहेको बताउनुभयो ।

काठमाडौं । नियात्राकार राजेन्द्रमान डङ्गोलरचित नियात्रासङ्ग्रह ‘बादलडाँडा’को लोकार्पण प्रमुख अतिथि प्रा.डा. रमेशप्रसाद भट्टराईले गर्नुभयो । यसअवसरमा उहाँले डङ्गोलका नियात्रामा आत्मपरक लेखनको प्रभाव , पर्यावरण संरक्षण र स्थानीय जनजीविकाका सवालमा नियात्रा रचिएको बताउनुभयो ।
यसैक्रममा विशिष्ट अतिथि, नेपाल प्रज्ञा- प्रतिष्ठानका सदस्य सचिव तथा समालोचक डा. धनप्रसाद सुवेदीले नियात्राकारले भूगोल, संस्कृति र समाजको सौन्दर्यलाई आत्मसात् गर्दै रचिएको ‘बादलडाँडा’ नियात्रासङ्ग्रह स्तरीय र पठनीय रहेको बताउनुभयो । उहाँले चीनमा अध्यापनरत रहँदा चिनियाँ विद्यार्थीहरूलाई उत्कृष्ट सामग्री सिफारिस गर्न धौधौ परेको धारणा राख्दै ‘बादलडाँडा’ जस्ता कृतिले त्यस अभावलाई मेट्ने बताउनुभयो । साथै नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञहरू रारा साहित्यिक महोत्सवमा सहभागी हुँदा जेजस्ता टीकाटिप्पणीहरू भएपनि त्यो नियात्रा लेखनका लागि महत्त्वपूणर् साहित्यिक खुराक भएको दृष्टिकोण सबैले राख्नुपर्ने बताउनुभयो ।
यसै सिलसिलामा कवि तथा समालोचक डा.विन्दु शर्माले नियात्राकार राजेन्द्रमान डङ्गोलको ‘बादलडाँडा’मा यथार्थ र तथ्यपरक सूचना समेटिएको छ, घुमफिरका क्रममा स्थानीय ठाउँको सूक्ष्म दृष्टिकोणसहित पर्यटन प्रवर्द्धन, आर्थिक विकास, विसङ्गति, जीविकोपार्जनको अवस्था, पर्यावरणमा आएका असर र जोखिमका बारेमा स्पष्ट पारेको देखिन्छ भन्नुभयो ।
यसैगरी समालोचक राम लोहनीले नियात्राकार डङ्गोलको लेखनशैली र भाषामा परिष्कार रहेको बताउनुभयो ।
यसैक्रममा कवि तथा समालोचक आर.एम. डङ्गोलले नियात्राकार डङ्गोलको परिचय, व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्दै नियात्रा लेखनमा राजेन्द्रमान डङ्गोगले नयाँपन दिएको आभास हुन्छ भन्नुभयो ।
यसै सन्दर्भमा नियात्राकार राजेन्द्रमान डङ्गोलले लेखकका कृतिहरू सार्वजनिक भएपछि सबैको सम्पति हुने बताउँदै ‘बादलडाँडा’ पाठकको मनमस्तिष्कमा रहे मात्र नियात्राकार बाँच्न सक्छ भन्नुभयो ।
यसैक्रममा प्राडा ऋषिराम शर्मा, पर्यटन व्यवसायी तथा समाजसेवी आङछिरिङ शेर्पा, टानका पूर्व अध्यक्ष नवराज दाहाल र नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले शुभकामना मनतव्य राख्नुभयो ।
यसैगरी गाउँ पर्यटन मञ्च(भिटोफ)का महासचिव निशेष थापाले स्वागत मनतव्य र भिटोफका पूर्व अध्यक्ष बोधराज भण्डारीले धन्यवाद ज्ञापन गर्नुभयो । भिटोफ नेपालका अध्यक्ष गोपाल थापाको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रमको सहजीकरण कवियत्री लक्ष्मी रूम्बाले गर्नुभयो ।
०००
Subscribe
Login
0 Comments
Oldest











































