
जुरे नेताका भुरे हुङ्कार !
अग्ला 'वाद' विवाद घात हुन गै आवाद भो स्वार्थको दामै दाम कमाउने र सुखमा, बाँच्ने अनर्थ भयो राम्रा योग्य हटाउने अनि सबै, हाम्रा अयोग्यै भरी चाम्रा यी अगुवा उडूस–उपियाँ, किर्ना र जुम्रा सरी ॥

बद्री दाहाल ‘भष्मासुर’ :
हाम्रा केस त्यसै फुलेन पछुवा, के धम्की दिन्छौ यहाँ ?
पार्टी सुदृढ गर्न आँट खतरा मोल्यौ छरी चेतना ||
हामी अक्षम वा अकर्मठ भनी, निष्ठा घटायौ किन ?
हल्लाखोर भएर ढोलक पिटी, चल्ला करायौ किन ?|१||
हामी जेल बस्यौ र भारत पस्यौ, तिम्रा उमेरै जति
राम्रा जागिर वा मनोनयन हुने, मौका चुकायौ कति ?
छोड्यौ जो व्यवसाय उद्यम थिए, मोल्यौ चुनौती भल
हामी ‘शीर्ष’ सुतीर्थ सम्झ पछुवा हौ बाग्मतीकै जल ||२||
बोली बुझ्न सकिन्न दर्शन नयाँ, व्याख्या र विश्लेषण
क्यै छैनन् नव-योजना समयमा गर्दैन सम्बोधन
मात्रै छन् प्रतिवाद वा प्रतिक्रिया, खै वादका लालिमा ? भन्ने प्रश्न नगर्नु सेवक कतै, कम्जोर वा कालिमा ||३||
हामी व्याज र स्याज टन्न भकुरी, जूरे सधै बन्दछौ
साँढे हौ दलमा बुझ्यौ नव–युवा ! पाले अरु ठान्दछौ
हामी यै पद-मान-शान बटुली, प्रश्वास चल्दातक
ढाडे बन्न सकौ न बोल पछुवा, हामी लुला-चिन्तक ॥४॥
नाताका जनता कमीसन दिने, ठेक्दार वा तस्कर
हाम्रा स्नेह-सुपात्र हुन्, अनुज हो । धेरै न खोक्नू अब
नेतातन्त्र ‘सुमन्त्र’ यन्त्र -युगको मानेर हिड्ने गर
धेरै लेख्न र बोल्न हुन्न दलमा मात्रै प्रशंसा भर ||५||
टेढा लोचनले न हेर पछुवा, आलोचना छोड है
धैर्ये धैर्य लिएर बस्नु पछुवा ! जिब्रो छिटो मोड है
छाडा यी थुतुनु लगाम दरिलो लाएर ठण्डा गर
‘नेता’ सक्षम धर्मराज दलको भन्दै प्रशंसा भर ॥६॥
सेतै केस भए मुजा मुख. परी, आँखा नदेख्ने हुँदा
लौरो साथ लिएर ढल्पल भई, बूढोपयोले छुँदा
पार्टी भन्दछ यो तरुण दलको खम्बा र अम्बा भयो
‘तन्नेरी’ पद नै निचोरिन गई, व्याख्या अनौठो भयो ॥७॥
अग्ला ‘वाद’ विवाद घात हुन गै आवाद भो स्वार्थको
दामै दाम कमाउने र सुखमा, बाँच्ने अनर्थ भयो
राम्रा योग्य हटाउने अनि सबै, हाम्रा अयोग्यै भरी
चाम्रा यी अगुवा उडूस–उपियाँ, किर्ना र जुम्रा सरी ॥८॥
बीपी–सिंह–सुवर्ण–सन्त कतिका, तर्बार ढालै बने
नेपाली जनता स्वदेश–ममता, ढासा र ढर्रा भए
दाताका अनुदान शीर्ष गणका, खाना र नाना हुँदै
डुब्दैछौँ जनता विदेश ऋणमा, आकाशलाई छुँदै ॥९॥
०००
फित्कौली पूर्णाङ्क ३६ बाट