साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निरौलाद्वारा लिखित ‘क्रान्तिदूत’ महाकाव्यको लोकार्पण तथा परिचर्चा

सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभाका सम्माननीय सभामुख श्री देवराज घिमिरे उपस्थित हुनुहुन्थ्यो भने विशिष्ट अतिथिका रूपमा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती र विशिष्ट विद्वान प्रा.डा.वासुदेव त्रिपाठी उपस्थित हुनुहुन्थ्यो ।

Nepal Telecom ad

काठमाडौं, ०८० असोज ११ । विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे विशेष शृङ्खलाअन्तर्गत असोज ११ गते बिहीबार अपराह्न ठिक १ बजे पद्मकन्या क्याम्पस, बागबजारको डेनिस हलमा महाकाव्यकार खेमराज निरौलाद्वारा लिखित ‘क्रान्तिदूत’ महाकाव्यको लोकार्पण तथा परिचर्चा कार्यक्रम सम्पन्न गरियो ।

सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभाका सम्माननीय सभामुख श्री देवराज घिमिरे उपस्थित हुनुहुन्थ्यो भने विशिष्ट अतिथिका रूपमा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती र विशिष्ट विद्वान प्रा.डा.वासुदेव त्रिपाठी उपस्थित हुनुहुन्थ्यो ।

अतिथिहरूमा पूर्वमन्त्री एवम् साहित्यकार शान्ता मानवी, माननीय मेनका पोखरेल, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारी, साहित्य सन्ध्याका सल्लाहकारहरू प्रा.डा.जीवेन्द्र देव गिरी, प्रा जगत्प्रसाद उपाध्याय र वासुदेव अधिकारी, प्रा.डा.हेमनाथ पौडेल, प्रा.डा.हेमचन्द्र नेपाल, प्रा.डा.रामप्रसाद ज्ञवाली, महाकाव्यकार खेमराज निरौला, महाकाव्यकारकी जीवनसङ्गिनी मातृकादेवी निरौला, हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराकी अध्यक्ष रीता न्यौपाने पहारी, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि, प्रा.डा.पशुपतिनाथ तिमिल्सिना, प्रा.डा.लेखप्रसाद निरौला, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने, डा.विन्दु शर्मा, अनिल पौडेल, डम्बर पहाडी, कलाधर काफ्ले, रमेश गौतम ‘पाल्पाली’, उमेश उपाध्याय, महेश खरेल, बैरागी जेठा, काभ्रे बहुमुखी क्यामपसका क्याम्पस प्रमुख तथा सहायक प्रमुखलगायत उपस्थित हुनुहुन्थ्यो ।

समारोहमा उपस्थित सम्पूणर् आदरणीय व्यक्तित्वमा साहित्य सन्ध्याकी सचिव जयन्ती स्पन्दनले स्वागत गर्नुभएको थियो । समारोहका प्रमुख अतिथिले बिजुली बत्ती प्रज्ज्वलन गरी समारोहको समुद्घाटन गर्नुभएको थियो भने मञ्चासिन प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिलाई लक्ष्मी भट्टराईको सहयोगमा सभाध्यक्षले खादा लगाएर सममान गर्नुभएको थियो ।

महाकाव्यकार खेमराज निरौलाको व्यक्तिवृत्तका बारेमा चर्चा गर्नुहुँदै प्रा.डा.हेमनाथ पौडेलले वि.सं.२०२२ फागुन १९ मा ताप्लेजुङ जिल्लाको फूलबारी २ रमितेमा जन्मिएका खेमराजका बुबा पं.हरिप्रसाद निरौलाबाट आफू र खेमराजका दुईजना दाजुहरूले प्रारम्भिक शिक्षा ग्रहण गरेको, उहााके सहयोगमा हामहिरू अध्ययनका लागि बनारस गएका, खेमराज सानैदेखि तीक्षण दिगमाका भएका र उनले नेपाली साहित्यमा कविता, निबन्ध, समीक्षसमालोचनाका क्षेत्रमा अनवरत कलम चलाएका, २०४९ देखि कृतिगतरूपमा उनका सिर्जना प्रकाशित भएका र यो महाकाव्य चाहिँ बृहत् आकारमा समसामयिक समाजिक अवस्थाको चित्रण गरी लेखिएकोसमेतको जानकारी गराउनुभयो ।

प्रमुख अतथि, विशिष्ट अतिथि, अतिथिहरू, महाकाव्यकार र उहाँकी जीवनसङ्गिनीले संयुक्तरूपमा ‘क्रान्तिदूत’ महाकाव्यको लोकार्पण गर्नुभएपछि प्रमुख अतिथिले साहित्य सन्ध्या गतिशील संस्था हो, नेपाली समाजको रूपान्तरणका निम्ति साहित्यका माध्यमबाट र वैचारिक बहसका माध्यमबाट यो संस्थाले योगदान गरेको छ र यो पक्षको पनि चर्चा एवम् बहस गरिनु आवश्यक छ । शास्त्रीय वणर्मात्रिक २४ ओटा छन्दको प्रयोग गरी २९ सर्गमा लेखिएको यो महाकाव्यले नेपाली समाजको यथार्थको चित्रण गरेको छ र भविष्यको बाटो देखाउने काम पनि गरेको छ । आपूm पनि ताप्लेजुङकै भएको र पारिवारिक परिचयसमेत रहेका नाताले आजको यो विशेष समारोहमा प्रमुख अतिथि हुने मौका मैले पाएको हुनसक्छु । त्यसमा पनि मेरो आफ्नो विचार र जीवनदर्शन यो कृतिले अङ्गीकार गरेको विषयवस्तुसँग मिलेको छ, यस कृतिले आशावादी जीवनदृष्टि सम्प्रेषण गरेको छ र अध्ययनका लागि प्रेरणा प्रदान पनि गरेको छ । यो विद्वानजनको गरिमामय एवम् भव्य उपस्थितिमा यस महाकाव्यको सार्थकता प्रमाणित गर्ने बहस पनि हुने नै छ । म महाकाव्यकार र आयोजक संस्था साहित्य सन्ध्यालाई हार्दिक धन्यवाद दिन्छु भन्नुभयो ।

लोकार्पित महाकाव्यमाथि समीक्षा गर्नुहुँदै प्रा.डा.हेमचन्द्र नेपालले यो महाकाव्यलाई अध्ययन गर्दा महाकाव्यकारको सिर्जनाशक्ति बृहत् रहेको देखिन्छ । यसमा तमोर नदीको जस्तो तीव्र प्रवाह छ । छोटा छन्दमा निकै परिकृष्कृत रहेको यो काव्यमा पाश्चात्य साहित्यकार शेलीसँग मिल्दोजुल्दो लेखनशैली देखिएको छ । महाकाव्य पढ्दा संस्कृत शिक्षाका ज्ञाता खेमराज धुरन्धर अध्येता पनि देखिन्छन् । यसमा महाकाव्यकार लेखनाथ पौड्यालको काव्यधाराबाट अत्यधिक प्रभावित भएका देखिन्छन् । त्यो प्रभाव पनि सोझै होइन पचाएर ग्रहण गरेको देखिन्छ । महासमालोचक वासुदेव त्रिपाठीको आशीर्वचन यसमा रहेको छ । महाकाव्यमा प्रगतिशीलता भन्दा अरूको प्रभाव बढी देखिएको छ । २०४६ को परिवर्तनपछि लेखिएको हुँदा यो काव्यमा अब छद्म नाम किन उल्लेख गर्नुपरेको होला भन्ने चाहिँ लाग्छ । कविले हिंसामा विश्वास गरेका छैनन्, प्रकृति चित्रण अत्यन्त सशक्त रहेको छ, सूक्तिमयता पाइन्छ र २८ औँ सर्ग निकै सशक्त रहेको छ भन्ने धारणा राख्नुभयो ।

लोकार्पित महाकाव्यमाथि टिप्पणी गर्नुहुँदै प्रा.डा.रामप्रसाद ज्ञवालीले महाकाव्यकार खेमराज निरौला हिम्मत नहार्ने स्रष्टा हुन् । मृगौला बिग्रिएर जीवनलीला नै समाप्त हुनलाग्दा जीवनसङ्गिनीले आफ्नो अङ्गदान गरेर पुनर्जीवन प्राप्त गरेका स्रष्टाको उच्च साधनाको परिणति हो यो महाकाव्य । नेपाली साहित्यको इतिहासमा फुटकर कविताभन्दा पहिले महाकाव्य लेखिएको छ । यो कृति चाहिँ जनताको चेतना र प्रगतिशील चेतनाले भरिपूणर् रहेको छ । नेपाली साहित्यमा महानता बोकेका २०-२५ ओटा महाकाव्य रहेका पाइन्छन् । छन्दमा भावलाई समाविष्ट गरेर सरल शैलीमा लेखिएको यो महाकाव्य २० सर्गभन्दा माथि गएपछि शीर्षककेन्द्रित बनेको छ । आपूmले पढेका सबै सबै कृतिको र विचारको प्रभाव यसले ग्रहण गरेको छ । महाकाव्यकार निरङ्कुश शासनकालका प्रत्यक्ष भोक्ता भएका हुँदा त्यसको जीवन्त उदात्तीकराण यसमा गरिएको छ । सिद्धान्तबमोजिम नै खराब पात्रको नामै खराब राखिएको छ । थोरै भूमिकामा रहेको हर्के भन्ने पात्र अनुकरणीय रहेको छ । हामी सबैले जीवनकालमै समयको सदुपयोग गर्नुपर्छ भन्ने मान्यतामा लेखक देखिन्छन् । पुनरावृत्ति फरक फरकढङ्गले आएका छन् । ऋतृगत प्रकृति वणर्न पनि सुन्दरढङ्गले गरिएको छ ।

नेपालको परिवर्तनमा महिलाको पनि सशक्त भूमिका रहेको छ भन्ने यसमा देखाइएको छ र नारी-पुरुषको सहयात्राको अपेक्षा गरिएको छ । महाकाव्यमा द्वन्द्व धेरै छ तर पाक्न बाँकी छ । विचार मर्दैन भन्ने सूक्तिमयता यहाँ रहेको छ । बुझिने शब्दप्रयोगका माध्यमबाट भाग्यवादको विरोध गरिएको छ र रूपान्तरणका प्रक्षमा वकालत गरिएको छ । लेखक सुरुमा अनुप्रभावी हुन्छ त्यसपछि निजत्वतर्फ जान्छ र आविष्कारको चरणमा पुग्नुपर्छ । यो महाकाव्यमा समय, जीवन, समाज र सौन्दर्य चेतनाको समन्वय रहेको छ । मानवको दिमाग र मनलाई सफा गर्ने काम कला र साहित्यले गर्छ, गर्नुपर्छ, उज्यालोतर्फको यात्रा आवश्यक छ । यो महाकाव्यले त्यसको सङ्केत गरेको छ भन्नुभयो ।

विशिष्ट अतिथि प्रा.डा.वासुदेव त्रिपाठीले ऐतिहासिक परिप्रेक्षलाई लिएर गहिराइमा पुगी यो महाकाव्यमा समालोचनापरक भूमिका प्रा.डा.हेमनाथ पौडेलले लेख्नुभएको छ । कवितामा नयाँ पुस्ताको प्रवेश बढेको त छ तर स्तरीयताको अपेक्षा भने अझै छ । यो महाकाव्यमा लगभग साढे तीन हजार श्लोक रहेका छन् । यसका कुँदिएका कविता छन् । सुरुदेखि अन्त्यसम्म समान उचाइका पङ्क्ति रहेका छन् । प्राचीन वणर्मात्रिक छन्दको प्रयोग, श्रुतिमधुरता यसमा पाइन्छ । काव्यमा सिद्धि छ । छन्द, व्याकरण र भाषाशुद्धि मिलाएर महाकाव्यको सिर्जना कठिन कुरा हो, ठुलो साधना आवश्यक हुन्छ तर यो महाकाव्यमा त्यसको हरसम्भव पालना गरिएको छ । माक्र्सवादी समालोचनाले मूल्य निर्धारण गर्दछ र त्यस हिसाबले हेर्दा यो महाकाव्य उत्तमउन्मुख महाकाव्य हो भन्नसकिन्छ भन्नुभयो ।

विशिष्ट अतिथि गङ्गाप्रसाद उप्रेतीले चार दशकको यात्रा गरिसकेको साहित्य सन्ध्याका समयबद्धता, गरिमामय यस्तै विशेष कार्यक्रमको आयोजना, कृतिप्रकाशन, पुरस्कार व्यवस्थापनजस्ता विशेषता बनेका छन् । आज परिचर्चा गरिएको महाकाव्य विषय र शिल्पले गहन रहेको छ । कुम्भकणर् हिमाल र तमोर नदीको सुन्दर प्राकृतिक भव्यताको प्रभाव महाकाव्यकारमा परेको छ । कविको पुनर्जीवन प्राप्तिपछिको यो ऊर्जाले नेपाली साहित्यमा अझै धेरै दिनसक्ने सम्भावना देखिएको छ । राजनीतिले सिर्जना गरेको गडबडीलाई नजिकबाट नियालेर समसामयिक समाजको जीवन्त चित्रण गरिएको र स्पष्ट रूपान्तरणको अपैक्षा गरेर लेखिएको यति ठुलो महाकाव्य निकै उत्कृष्ट रहेको कुरा यहाँ भएका चर्चाले पुष्टि गरिसकेका हुँदा स्रष्टा र आयोजक साहित्य सन्ध्यालाई हार्दिक बधाई दिन्छु भन्नुभयो ।

महाकाव्यबाट निष्ठा निरौला र रूपक अलङ्कारले केही श्लोक मुक्त कण्ठले वाचन गर्नुभएको थियो भने महाकाव्यकारले महाकाव्य रचनाको अन्तर्गर्भ बताउँदै प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरू, उपस्थित आदरणीय मान्यजन, आयोजक संस्थालगायत सबैप्रति आभार व्यक्त गर्नुभएको थियो भने डा.फणीन्द्रराज निरौलाले सबै सबै पक्षप्रति हार्दिक धन्यवाद दिनुभएको थियो ।

समारोहका अध्यक्ष राम विनयले यो विशेष समारोमा निमन्त्रणा स्वीकार गरिदिएर उपस्थित भइदिने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरू, सहभागीज्यूहरू सबै सबै धन्यवादका पात्र हुनुहुन्छ । पुनर्जीवन प्राप्त गरेका स्रष्टाको यति ठुलो महाकाव्य प्रकाशित गर्ने र यो भव्य समारोहको आयोजना गर्ने अवसरका प्रति स्रष्टालाई धन्यवाद दिन चाहन्छु । साहित्य सन्ध्याको अविश्रान्त यात्रामा हामीले सबै सबैबाट पाएको सद्भाव सराहनीय छ, हामी आभार व्यक्त गर्दछौँ । आज लोकार्पित महाकाव्यका बारेमा नेपाली साहित्यका विशिष्ट चारजना विद्वानबाट चर्चा भइसकेको हुँदा फेरि पनि सबैमा आभार व्यक्त गर्दछु भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

०००
– रमेश पोखरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x