
सार्वजनिक बस
यो बस चढ्नु ठुलाबडाको अपमान हो हामी गँवार गाउँलेको सान हो । ठ्याक्कै मेरो देशजस्तै गरीब छ यो बस मेरो नेता जस्तै छ त्यसैले यो हाम्रो आफ्नु हो ।

खगेन्द्र नेउपाने :
यो सार्वजनिक बस हो
यहाँ नेता चढ्नुहुन्न
मन्त्री, हाकिम, ठेकेदार, इन्जिनियर
कोही पनि चढ्नु हुन्न
मेयर उपमेयर
ठुल्ठुला फूलीवाला
कोही पनि चढ्नुहुन्न
तर पनि यो नेता जस्तै छ
हाकिम कर्मचारी जस्तै छ
मेरो देशको राज्यप्रणाली जस्तै छ
यो सार्वजनिक बस हो
यो बिल्कुल हामी जस्तै छ ।
घ्यार् घ्यार् घ्यार्र घ्यार्र
बिस्तारै पाइला चाल्छ
उबडखाबड छ जताततै
कहिले डिलमा चढाउँछ
कहिले खाल्डामा हाल्छ ।
हिँड्न चैँ हिँड्छ तर रोकिन्छ धेरै
चल्न चैँ चल्छ तर ठोकिन्छ धेरै
थर्थर थर्थर काम्दै हिँड्छ
तर धुवाँ धेरै फाल्छ
क्षमता छैन आँतभरि
तर भारी धेरै हाल्छ ।
हामीजस्ताहरुको लागि
हामीले रोजेको
हामीले खोजेको
तेल धेरै खाने
मेल धेरै नखाने
हाम्रो आफ्नु जेथा जस्तै
हाम्रो आफ्नु नेता जस्तै ।
यो बस चढ्नु ठुलाबडाको अपमान हो
हामी गँवार गाउँलेको सान हो ।
ठ्याक्कै मेरो देशजस्तै गरीब छ यो बस
मेरो नेता जस्तै छ
त्यसैले यो हाम्रो आफ्नु हो ।
०००
झापा ।