फित्काैली डटकमजीवन जीवन्तको उपन्यास कृतिमाथि ‘चरैवेति’ संवाद
डा. अशोक थापाद्वारा उपन्यास र उपन्यासकारका बारेमा सङ्क्षिप्त धारणा राखिएपछि शुरु भएकाे संवादमा स्रष्टा जीवन्तले ‘समाज, राष्ट्र र राष्ट्रियताको चिन्ताले आफूलाई उपन्यास लेखनतिर डोर्याएको बताउनु भयो ।

तनहुँ, ०८१ जेठ २५ । आँबुखैरेनी स्रष्टा समाजको आयोजनामा आँबुखैरेनीमा जीवन जीवन्तको उपन्यासकृति ‘चरैवेति‘ माथि अन्तरक्रियामूलक कार्यक्रम सम्पन्न भयो ।
‘चरैवेति संवाद’ उल्लेखित व्यानरमा आयोजित कार्यक्रमको आरम्भमा स्रष्टा अनिल श्रेष्ठले सहभागीहरूलाई स्वागत गर्दै उपन्यास कृतिमाथि यसरी संवाद आयोजना गर्न पाउँदा गौरव लागेको बताउनु भयो ।
सहजकर्ताको भूमिका निर्वाह गर्दै डा. अशोक थापाद्वारा उपन्यास र उपन्यासकारका बारेमा सङ्क्षिप्त धारणा राखिएपछि संवाद शुरु गरियो । उपन्यास कृतिका स्रष्टा जीवन्तसँग राखिएको सवालमा जीवन्तले ‘समाज, राष्ट्र र राष्ट्रियताको चिन्ताले आफूलाई उपन्यास लेखनतिर डोर्याएको बताउनु भयो ।
उपन्यास कृतिमा आधारित भएर समीक्षक अर्जुनकुमार ढकालले पात्र चरित्र र उपन्यासले टेकेको भूगोल यथार्थको धरातल नै हो, जुन अत्यन्त जीवन्त रहेको छ भन्नु भयो ।
त्यसै गरी, कृतिमा केन्द्रित रहेर गरिएको अर्को एक सवालमा डा. शान्तिमाया गिरीले उपन्यासको केन्द्रीय सन्देश धर्म परिवर्तनको वर्तमान अवस्थाले हाम्रो समाज विखण्डित हुँदैछ, हामी र हाम्रो मौलिक संस्कार-संस्कृति समाप्त हुँदैछ भन्नु भयो ।
संवादको अन्तिम चरणतिर कृतिका स्रष्टा जीवन्त जीवनले विशिष्ट आख्यानकार रमेश विकलका पात्र चरित्र, कथानक एवम् जीवनको प्रस्तुतिबाट आफू एकदमै प्रभावित र प्रेरित रहेको बताउनु भयो ।
संवादको अन्त्यमा उपन्यास कृतिका बारेमा सहभागीहरू मध्येबाट रमेश प्रभात लगायतले कृतिका स्रष्टा एवम प्रस्तोतासमक्ष जिज्ञासा राखेका थिए ।
छिम्केश्वरी पार्टी प्यालेसको सभाकक्षमा आयोजित ‘चरैवेति संवाद’ कार्यक्रममा तनहुँ, चितवन, गोरखा, काठमाडौं, काभ्रे, कास्की लगायतका स्रष्टाहरूको उपस्थिति तथा सहभागिता रहेको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest






































