फित्काैली डटकमनिमेष निखिललाई गणेशलाल स्मृति सम्मान, कविता प्रतियोगिता सम्पन्न
सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल 'गणेशलाल स्मृति साहित्य पुरस्कार २०८१' बाट सम्मानित हुनु भएको छ । पुरस्कार संस्थापक केशवलाल श्रेष्ठद्वारा स्थापित सो पुरस्कार यसअघि स्व. तुल्सी थापालाई प्रदान गरिएको थियो ।

मकवानपुर, २०८१ श्रावण ५ । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल ‘गणेशलाल स्मृति साहित्य पुरस्कार २०८१’ बाट सम्मानित हुनु भएको छ । लोककवि गणेशलाल श्रेष्ठको ११३औँ जन्मजयन्तीको अवसरमा नेपाल भाषा खलः मकवानपुरमार्फत् उहाँलाई सो सम्मान गरिएको हो । पुरस्कार संस्थापक केशवलाल श्रेष्ठद्वारा स्थापित सो पुरस्कार यसअघि स्व. तुल्सी थापालाई प्रदान गरिएको थियो ।
कविता प्रतियोगितामा ४ कविहरू पुरस्कृत
नेपाल भाषा खलः मकवानपुरले आयोजना गरेको खुला कविता प्रतियोगिता २०८१ मा म्याग्दीकी आरती आचार्य प्रथम हुनु भएको छ । सिन्धुलीका बाबुराम श्रेष्ठ यात्री द्वितीय र अर्घाखाँचीकी पूर्णिमा गिरी तृतीय हुनु भएको हो । यस्तै प्रतियोगितामा मकवानपुरकी अनुशुया खनाललाई सान्त्वना स्थान प्राप्त भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कार राशि क्रमशः १५ हजार, १० हजार र ५ हजार रहेको थियो भने सान्त्वना पुरस्कार राशि ३ हजार रहेको थियो ।
कूल प्राप्त भएको ५५ कवितामध्ये उत्कृष्ट २० कविताहरू यसअघि नै प्रकाशन गराइ वाचनका लागि सर्जकहरूलाई निम्ता गरिएको थियो भने वाचनमा समेत अङ्क प्रदान गरिएको थियो ।
प्रमुख निर्णायक अनिता न्यौपाने तथा निर्णायकद्वय यश लामा र पुरूषोत्तम आचार्य रहेको निर्णायक मण्डलले कूल १ सय ५० अङ्कमा गरेको मूल्याङ्कनमा न्यौपानेले प्रतियोगीहरूको मूल्याङ्कनका क्रममा भाव, कला, वाचनलगायतका विधामार्फत् अङ्कन गरिएको बताउनुभयो । वाचनका लागि १६ स्रष्टाहरूको उपस्थिति रहेको थियो ।
यसअघि मूल्याङ्कन समितिले छनोट गरेका २० कविताका सर्जकहरूमध्ये मकवानपुरका ९, सिन्धुली र चितवनका २, म्याग्दी, बैतडी, कास्की, अर्घाखाँची, काभ्रेपलाञ्चोक र धादिङका १/१ (ठेगाना उल्लेख नभएका १) रहेका थिए ।
बालसाहित्यकार अनुषा सम्मानित
नवोदय शिशु सदनकी बाल साहित्यकार अनुषा उप्रेतीलाई जिल्लाको बाल साहित्य क्षेत्रमा पुर्याउनु भएको कदरस्वरूप सम्मानपत्रसहित सम्मानित गरिएको छ ।
हेटौँडा उपमहानगरपालिका २ नम्बर वडा कार्यालयका अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यता तथा महेश्वर श्रेष्ठको सभाध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षाविद् देव श्रेष्ठले गणेशलाल मकवानपुरकै पहिलो स्रष्टा भएको, गाईजात्रामा हास्यव्यङ्ग्य कार्यक्रम गर्ने, नेपाली, तामाङ र नेपाल भाषा गरी तीनै भाषामा रचनाहरू लेख्ने स्रष्टाका रूपमा उहाँलाई चिनिएको बताउनुभयो ।
हेटौँडामा नेवारी भाषा बोल्ने नेवारहरूकै सङ्ख्या घट्दोक्रम रहेको अवस्थामा नेपाल भाषामा कविता प्रतियोगिता आयोजना गर्न नसकिएको र आगामी वर्ष यस्ता कार्यक्रमलाई मकवानपुरका अन्य साहित्यिक संस्थासँग समन्वय गरी अझ बृहत गर्नमा लागिपर्ने प्रमुख अतिथि विष्णुगोपाल महर्जनले बताउनुभयो ।
विजयीहरूका साथै सबै प्रतियोगीहरूलाई प्रमाणपत्र तथा जिल्लाबाहिरका सर्जकहरूलाई यातायात खर्च उपलब्ध गराइएको आयोजकले जानकारी गराएको छ ।
होटल लियो इनमा सञ्चालित कार्यक्रमलाई साहित्य सर्जक पुण्यशिला श्रेष्ठले सहजीकरण गर्नुभएको हो ।
०००
– संप्रस पाैडेलद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































