फित्काैली डटकममहाकाव्यसहित दुई पुस्तक विमोचन र चार स्रष्टा सम्मान
चारजना स्रष्टाको संयुक्त प्रकाशन स्रष्टा सङ्गमको बिमोचन कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ खेम नेपाली लगायतका अतिथि तथा स्रष्टाहरूले गर्नु भएको छ ।

उदयपुर, २०८१ साउन ५ । उदयपुरको गाईघाटमा शनिबार उदयपुर साहित्य कला प्रतिष्ठानले दुई पुस्तक विमोचन गर्नुका साथै चार जना स्रष्टालाई सम्मान गरेको छ ।
उदयपुर साहित्य कला प्रतिष्ठानको दोश्रो वार्षिक साधारणसभाका अवसरमा उद्धव घिमिरेद्वारा लेखिएको महाकाव्य इतिहास भित्रको बर्तमान र चारजना स्रष्टाको संयुक्त प्रकाशन स्रष्टा सङ्गमको बिमोचन कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ खेम नेपाली लगायतका अतिथि तथा स्रष्टाहरूले गर्नु भएको छ ।
प्रमुख अतिथि प्राज्ञ खेम नेपालीेले सो अवसरमा उदयपुर साहित्य कला प्रतिष्ठानले गरेको यो कार्यक्रमबाट आफूले शिक्षा पाएको र यो शिक्षालाई बिराटनगरमा पनि प्रयोग गर्न प्रयास गर्ने बताउनु भयो ।
साहित्य लेख्दा जनतालाई, पिछडिएका वर्ग, समाजले हेलोहोचो गर्ने वर्गका बारेमा लेख्नु पर्ने र बिग्रेको राजनीतिलाई सपारेर नयाँ बाटोमा लैजान मार्ग निर्देश गरेर लेख्नु पर्ने बताउनु भयो ।
सो कार्यक्रममा झट्केलो छोरो उपन्यासका लेखक भिमबहादुर खत्री घाँसेलाई २०८० सालको शिवलोक स्मृति साहित्य पुरस्कारबाट सम्मानित गरिएको छ । घाँसेलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित नगद रु दस हजार रासीको शिवलोक स्मृति साहित्य पुरस्कार सो अवसरमा प्रमुख अतिथि नेपाली र पुरस्कारदाता परिवारका तर्फमा शिवकुमारी पोखरेलले प्रदान गर्नुभएको थियो ।
यसैगरी राष्ट्रिय कविता महोत्सव २०८० मा उत्कृष्ट दसौ स्थानभित्र पर्न सफल कवि जीवन आरोही, द पोयट आइडलको दसौँ स्थानसम्म पुग्न सफल भएका ऋषिबहादुर राई, र विश्वव्यापी खुला गजल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल सुमी पोखरेललाई उदयपुर साहित्य कला प्रतिष्ठानले दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरेको छ ।
सो अवसरका बिराटनगरका युवा कवि प्रिन्स प्रमोद ढकाल, इनरुवाका गजलकार किशोर कोइराला, सम्मानित स्रष्टाहरू सुमी पोखरेल, जीवन आरोही लगायतका कवि गजलकारहरूले रचना वाचन गरेका थिए । उक्त कार्यक्रममा राममणी पोखरेल, उद्धव घिमिरे, पुण्य कार्की, हरिशरण खतिवडा लगायतका वक्ताहरूले शुभकामना मन्तव्यका साथै विमोचित महाकाव्यको र स्रष्टा सङ्गमको समीक्षा प्रस्तुत गरेका थिए ।
उदयपुर साहित्य कला प्रतिष्ठानका अध्यक्ष डा.कैलाशकुमार राईको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष बासुदेव पोखरेलले स्वागत मन्तव्य दिनु भएको थियो भने महासचिव माधव पोखरेल गोज्याङ्ग्रेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष महेन्द्रकुमार राईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम सञ्चालन प्रतिष्ठानकी सचिव सरिता पौडेल गुरागाईले गर्नु भएको थियो ।
साधारणसभामा उदयपुर साहित्य कला प्रतिष्ठानको विधान संशोधन गर्ने प्रस्ताव सर्वसम्मत रुपले पास भएको छ ।
०००
– माधव पोखरेल गोज्याङ्ग्रेद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest





































