
तुलसी घिमिरेको गजलकृति ‘घामका फूलहरू’ विमोचित
साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनालको गजलबाट सुरू भएको पहिलो सत्र अन्तर्गतको गजल वाचन सत्रमा राम कार्की, मिथिला अधिकारी, डीबी बर्तौला र मुस्कान तिमल्सिनाले गजलहरू वाचन गर्नुभयो ।

मकवानपुर, २०८१ श्रावण ५ । साहित्य सर्जक तुलसी घिमिरेको गजल सङ्ग्रह ‘घामका फूलहरू’ एक कार्यक्रमबिच विमोचन गरिएको छ । गजल मञ्च मकवानपुरको २१५ औँ नियमित गजल यात्राका क्रममा घिमिरेको गजल सङ्ग्रह विमोचन गरिएको हो ।
साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनालको गजलबाट सुरू भएको पहिलो सत्र अन्तर्गतको गजल वाचन सत्रमा राम कार्की, मिथिला अधिकारी, साहित्य सङ्गमा अध्यक्ष डीबी बर्तौला र गजल मञ्च मकवानुरका पूर्व अध्यक्ष मुस्कान तिमल्सिनाले आ-आफ्ना गजलहरू वाचन गर्नुभयो ।
दोस्रो सत्रमा पुस्तक विमोचनका क्रममा सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि, समीक्षकलगायत उपस्थित रहनुभयो । शुभकामना मन्तव्यका क्रममा शिक्षाविद् ऋषिराम पोखरेलले स्रष्टा परिचय दिँदै विगतमा साहित्य सर्जकहरू तुल्सी घिमिरे, खेम बानियाँ, साम्ब ढकाल, गोविन्द खड्काहरूको साथसाथ कविता लेख्ने गरेको स्मरण गर्दै व्यङ्ग्यसर्जक अर्जुन पराजुलीको रचनाजस्तो लेखकको कलमले समाजकै विषयलाई टिप्नुपर्ने बताउनुभयो ।
पुस्तकमाथि आफ्नो धारणा तथा शुभकामना मन्तव्यका क्रममा गजल मञ्चका निवर्तमान अध्यक्ष देवराज तिवारीले गजल मञ्च मकवानपुरले प्रकाशन गरेको यस पुस्तकमा राष्ट्रप्रेमको चिन्तन र जीवनका आशावादी दृष्टीकोणले युक्त भएको बताउनुभयो ।
सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले गजल मञ्च मकवानपुरको स्थापनापछि मकवानपुरमा गजल लेखनमा अझै बढी सक्रियता बढेको, नवपुस्तालाई प्रशिक्षण, प्रतियोगिता गराउँदै आएको र भविष्यमा समेत नवसर्जकमाथि यस्ता नतिजाउन्मुख कार्यमा सक्रिय रहिरहनका लागि शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा सञ्जित श्रेष्ठ, स्वस्तिका दाहाल र हरि पौड्यालले विमोचित पुस्तकभित्रका एक एक गजल वाचन/गायन गर्नुभयो भने समीक्षक घनश्याम घिमिरेले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभयो ।
यस पुस्तकका सम्बन्धमा समीक्षक घिमिरेले भन्नुभयो- “पाठकको हिसाबले पढ्नुभन्दा गजलको शक्ति गेयात्मकसँग हुनाले अन्तरसाङ्गीतिक चिन्तन र चेतनाले मजबूत भयो भने त्यो गजल सशक्त हुनसक्छ । यस पुस्तकका गजलमा सर्जकले जीवनमा अनुभूत गरेको समाज, जीवन र सङ्घर्षको सरल शब्दमा लेखन रहेको छ । सरल अभिव्यक्तिमा माटोलाई माया गर्ने, गाउँठाउँ र आफ्नोपनलाई निरन्तरता दिन सबैसँग राजनीति, प्रेम, व्यङ्ग्य, प्रकृतिको लालित्यको रूपमा उहाँका गजलहरू सिर्जना भएका छन् । हामीले जानेर नजानेर आफ्नो देश, समाज र मानव सभ्यताप्रति अपमान गरिरहेका छौँ भने त्यसप्रति खबरदारी गर्नेगरी उहाँका गजलका शेरहरू बनेर आएका छन् । यही नै उहाँका गजलका भावगत र विचारगत प्रष्टोक्ति हो ।”
साथै उहाँले साहित्यका विभिन्न विधाहरूमध्ये संक्षिप्त विधामा लेख्नमा उत्तिकै लगाव आवश्यक पर्ने, भावनाको असीमित स्वरूपलाई कलात्मक बनाएर साहित्यमा प्रस्तुत गर्नु चानचुने कुरा नभएको र गजल लेखनमा प्राविधिक पक्ष तथा साहित्यक वजन राख्नेगरी विचार/भाव पक्षको संयोजनबारे सर्जक सचेत रहनुपर्ने आफू पाठक भएको हिसाबले बुझेको बताउनुभयो ।
समीक्षक घिमिरेले फरक विचारका सन्दर्भमा उहाँले बहस चिर्नका लागि अनुरोध गर्दै भन्नुभयो “हेटौँडामा महिनैपिच्छेजस्तो पुस्तकहरू बजारमा आइराख्दा सम्पादनमा ध्यान नदिँदा यसले राष्ट्रियस्तरमा ठाउँ टेक्न सकेको छैन । सम्पादकीय कमजोरी पुस्तकमा देखियो भने पुस्तक आउँछन्, जान्छन् जसमा प्रकाशक, सम्पादकको कमजोरी देखिन्छ तथापि लेखकमा त्यसको दोष थोपर्न भने पाइँदैन । नेपाली साहित्य ठाउँविशेषको नभइ नेपालभरीकै हुने हुनाले सम्पादनमा निर्मम हुनुका साथै विषयवस्तु राम्रो हुँदाहुँदै आजकाल पुस्तक डिजाइनमा समेत फरकपन ल्याउन जरूरी भइसकेको छ । लेखनमा खासै ध्यान नदिँदा भएको शब्दचयनमा पदयोग र पदवियोगको दृष्टिकोणले कमजोरीलाई सुधार्न सम्पादक समूहको दायित्व सबैभन्दा महत्वपूर्ण रहेको छ । पुस्तक लेखेरै जीवनयापन गर्ने कुरामा निजी प्रकाशन गृहहरूको महत्वपूर्ण भूमिका रहेको यस समयमा त्यस परिवर्तनलाई हेटौँडाले समेत पछ्याउन आवश्यक भइसकेको छ ।”
लेखक तुलसी घिमिरेले आफ्नो ७० वर्षे उमेरमा ७० वटा गजलको सङ्ग्रह प्रकाशन गराई मनमा रातदिन खेलिरहेका कुराहरू सार्वजनिक गरिदिएर मन हलुको बनाइदिएको बताउनुभयो । कार्यक्रममा लेखकले पुस्तककै १/१ गजल वाचन र गायन गर्नुभयो ।
मञ्चका अध्यक्ष केशव समर्पणले मञ्च स्थापनादेखि लेखनका सँगसँगै कार्यशालामार्फत् साहित्यमा नयाँ पुस्ता उत्पादनमा समेत गजल मञ्च सक्रिय रहीरहेको र अग्रज स्रष्टा घिमिरेको गजल सङ्ग्रह प्रकाशन गर्दा गजल मञ्च मकवानपुरको स्तरमा वृद्धि भएको बताउँदै घिमिरेलाई कृतिगत सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
मञ्चका उपाध्यक्ष सञ्जीत श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा शिक्षाविद् देव श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो भने सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, शिक्षाविद् ऋषिराम पोखरेल तथा साहित्य सर्जक देवराज खरेल विशिष्ट अतिथि रहनु भएको कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौला, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, स्रष्टाहरू उमा मैनाली, सबिता तिमल्सिना, स्वस्तिका दाहाल, जनार्दन खनाल, डा. जगदीशचन्द्र बराललगायतको उपस्थिति रहेको थियो ।
७० वर्षको उमेरमा ७० गजल सङ्ग्रहित पुस्तकका लेखक घिमिरे होम्लिन बर्मामा जन्मिनु भएको हो भने यसअघि उहाँका “फूलका कुरा जूनका कुरा” गीत सङ्ग्रह (२०७१) र “माटोको मोह” कविता सङ्ग्रह (२०८०) प्रकाशनमा रहेका छन् । उहाँ साहित्य सङ्गम मकवानपुरको संस्थापकमध्ये एक हुनुहुन्छ भने हाल सोही संस्थाका सल्लाहकार समेत हुनुहुन्छ ।
साहित्य सङ्गम तथा सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा सञ्चालित पुस्तक विमोचन कार्यक्रमलाई मञ्चका सचिव हरि पौड्यालले सहजीकरण गर्नुभएको हो ।
०००
– संप्रस पाैडेलद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest